घुसखोरीको अखडा बन्दै नापी कार्यालय
जनकपुरधाम : सेवाग्राहीसंग अतिरिक्त रकम नलिई सजिलै काम गर्न नै नमान्ने कर्मचारीको प्रवृत्तिले नापी कार्यालय धनुषा घुसखोरीको अखाडा बन्दै गएको छ।
दुई दिन पूर्व मात्रै एक अमिन ३० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ पर्दा पनि कर्मचारीहरु सचेत भएनन्। पुनः मंगलबार अख्तियारको टोलीले एक कर्मचारीलाई घुस लिँदै गर्दा पक्राउ गरेको छ। नापी कार्यालयमा छापाहानी अख्तियारको टोलीले एक कर्मचारीलाई २२ हजार नगद घुस रकमसहित पक्राउ गरेपछि नापी कार्यालयमा घुसखोरीको सञ्जाल बन्दै गएको सार्वजनिक भएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले नापी कार्यालय धनुषाका नापी सर्वेक्षक रामलोचन ठाकुरलाई २२ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो। आयोगका बर्दिबास कार्यालयका एसपी राजकुमार लम्सालको नेतृत्वमा गएको टोलीले सेवाग्राहीबाट लिएको घुससहित ठाकुरलाई पक्राउ गरेको हो।
आइतबार अमिन कृष्ण जोशीलाई घुस रकमसहित अख्तियारको टोलीले पक्राउ गरेको थियो। जग्गा नामसारी गरिदिने भन्दै सेवाग्राहीसँग ३० हजार घुस रकम लिई रहेको अवस्थामा बर्दिबास कार्यालयका प्रमुख एसपी राजकुमार लम्साल नेतृत्वकै टोलीले जोशीलाई कार्यालबाट पक्राउ गरेको थियो।
आफ्नो जग्गा नापी कार्यालयले काकाको नाममा पास गरेको र उक्त जग्गा फेरी आफ्नै नाममा नामसारी गरी दिन अमिन जोशीले घुस मागेपछि सेवाग्राहीले अख्तियारको बर्दिबासस्थित कार्यालयमा उजुरी दिएका थिए।
सेवाग्राहीको उजुरीको आधारमा अख्तियारले पीडडीया माइस्थान स्थित दुई नम्बर टोलीको कार्यालयमा छापा हानेको थियो। एसपी लम्सालले अख्तियारको कार्यालयले सेवाग्राहीलाई दिएको ३० हजार नगदसहित अमिन जोशीलाई पक्राउ गरिएको जनाए।
पीडित सेवाग्राही जग्गा नामसारी गरिदिन पटक पटक अनुरोध गरेपनि सुनवाइ नभएपछि आफ्नो कार्यालयमा उजुरी दिएको लम्सालले जानकारी दिए। यस सम्बन्धमा पीडित सेवाग्राहीले कार्यालय प्रमुख सुरेश जोशी समक्ष गुनासो गर्दा उनले पनि अमिनलाई खुशी पार्न भनेको बर्दिबास कार्यालयका प्रमुख लम्सालले बताए।
बझांग जिल्लाको थली मौलानी घर भएका अमिन जोशी विगत दुई वर्षदेखि यहाँ करारमा कार्यरत छन्। जोशी उपर भ्रष्टाचार निवारण ऐन अनुसार कारवाही अगाडी बढाइने अख्तियारले जनाएको छ।
बिना घुस नापी कार्यालयमा सेवाग्राहीको काम हुनै नसक्ने समस्या रहेको पटक पटक आरोप लाग्ने गरेको छ। विगत केहिदिन पूर्व मात्र आफ्नो कामको सिलसिलामा कार्यालय पुगेका एक सेवाग्राहीलाई नापी कार्यालयको कर्मचारीको एक समूहले निर्घात कुटपिट गरेको थियो।