सहकारीबाट साढे चार लाख लुटपाट
धनगढी: कैलालीको टीकापुर नगरपालिका-९ स्थित सत्तीबजारमा रहेको सामुदायिक सहकारी संस्था लिमिटेडबाट आज दिउँसो रु चार लाख ४६ हजार लुटिएको छ ।
दिउँसो ३ बजेतिर तीन जनाको समूहमा नकाब लगाएर आएको लुटेरा समूहले सहकारीमा काम गरिरहेका कर्मचारीलाई तर्साउँदै लुटपाट गरेको बताइएको छ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक पुष्कर चन्दले सानो हतियार बोकेका भनिएको सो समूहले रकम लुटेको बताए। ग्राहकबाट उठाएको नगद गन्ती गर्ने क्रममा उक्त रकम लुटिएको बताइएको छ। प्रहरी घटनास्थल पुग्नासाथ लुटेरा समूह सीमावर्ती क्षेत्रतर्फ भागेको बताइएको छ।
लुटेराको खोजी गर्न सीमा नाकासहित चारैतर्फ प्रहरी परिचालन गरिएको छ। सत्तीबजारबाट करिब तीन किलोमिटरको दूरीमा नेपाल-भारत सीमा नाका पर्दछ । प्रहरीले सहकारीकै कर्मचारीको मिलेमतोमा रकम लुटिएको हुनसक्ने आशङ्का गरेको छ।
घटनाको सोधपुछका लागि उक्त सहकारीका लोखापाल मानबहादुर घर्ती र खजान्ची लक्ष्मण चौधरीलाई नियन्त्रणमा लिएको छ। रासस