'बास बसेर कहिलेसम्म भोट हाल्न जाने ?'
धादिङ : '२०४६ सालयता भएका विभिन्न चुनावमा भोट हाल्दै आएको छु । केही परिवर्तन होला, सुविधा पाइएला भनेर रात बसीबसी गएर भोट खसालेको छु तर परिवर्तन र सुविधा भोग्न पाइएन नै, संघीयता हुँदासमेत भोट हाल्न जाँदा पनि ४६ सालदेखिकै दुःख दोहोरिने भयो', यो दुखेसो हो उत्तरी धादिङको रुवी भ्याली गाउँपालिका ५ अन्तर्गत लापाको नेवेर गाउँका उर्गेन लामाको ।
२०४६ सालयताका राजनीतिक परिवर्तनसँगै भएका चुनावमा लापाको नेवेरवासीले ७ घन्टासम्म पैदल हिँडेर मतदान गरे । राजनीतिक परिवर्तनसँगै गाउँमा पनि परिवर्तन र सुखसुविधाको आस गर्दै रात बसीबसी भोट हाले पनि आफूहरूले कहिल्यै परिवर्तन र सुखको अनुभूति गर्न नपाएको नेवेरकै चुम्बा तामाङले बताए ।
'पहिलेको गाउँ विकास समितिलाई हटाएर गाउँपालिका बनाए । गाउँपालिका बनाउँदा धेरै सुविधा गाउँमा नै पाइन्छ भनेका छन्', तत्कालीन वडा अध्यक्षसमेत रहेका उर्गेनले गुनासो गरे, 'भोट हाल्न रात बस्ने गरी जानुपथ्र्यो । अब त अलिक सजिलो हुन्छ कि भनेको फेरि पनि त्यही ठाउँमा नै भोट हाल्न जानुपर्ने भएछ ।'
रेडियो र गाउँकै अन्य साथीबाट यसपटक पनि लापाको सदाचेत माध्यमिक विद्यालयमा नै मतदान केन्द्र कायम भएको सुनेका नेवेरकै गौ लामा तामाङले भने, 'युवा, ठिटाठिटी त रमाइलो हेर्न भने पनि जालान् तर बूढाबूढीले ७÷८ घन्टा हिँडेर कसरी भोट हाल्नु ? '६३ घरधुरी रहेको लापाको नेवेर गाउँमा भूकम्पपछि आगो फुकेर बसेका ४६ घरधुरी छन् । विनाशकारी भूकम्पका कारण २० भन्दा बढी घरधुरीका परिवार विस्थापित भएर कोही सदरमुकाममा त कोही सल्यानटार तथा ढोलाको शिविरमा बसिरहेका छन् ।
अहिले हुने भनिएको स्थानीय तहको चुनावमा नेवेरवासीले भोट हाल्न जाँदा गाउँबाट ७ घन्टा पैदल यात्रा तय गर्नुपर्छ । युवकयुवती हिँडेरै जान सक्ने भए पनि वृद्धवृद्धालाई भोट हाल्न जान सम्भव नभएको नेवेरवासी बताउँछन् ।उर्गेन भन्छन्, 'हामीले अघिल्ला चुनावदेखि नै लापाको कपुरगाउँसम्म भए पनि मतदान केन्द्र हुनुपर्छ भनेका थियौं । त्यहाँ मतदान केन्द्र राखिए ३ देखि ४ घन्टासम्ममा पुगिन्थ्यो । गाउँपालिका भएपछि त पक्कै हुन्छजस्तो लागेको थियो तर फेरि पुरानै ठाउँमा मतदान केन्द्र कायम भएछ।'
रुवी भ्याली गाउँपालिकाअन्तर्गत ८ वटा मतदान केन्द्र छन् । भौगोलिक रूपमा विकट उत्तरी धादिङका तीनवटा गाउँ विकास समिति गाभेर बनाइएको गाउँपालिकाको मतदान केन्द्र पुग्न केन्द्रनजिकैका गाउँबाहेक धेरैजसो गाउँबाट २ देखि ३ घन्टासम्म पैदल यात्रा तय गर्नुपर्छ । तत्कालीन लापा गाउँ विकास समितिको १ देखि ६ नम्बर वडामा एउटा मतदान केन्द्र (जसमा नेवेर गाउँसमेत पर्छ), ७ नम्बरमा एउटा र ८ र ९ का लागि एउटा मतदान केन्द्र कायम गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालयले भने सकेसम्म सबैलाई पायक पर्ने ठाउँमा मतदान केन्द्र बनाइएको जनाएको छ । जिल्ला निर्वाचन कार्यालय धादिङका प्रमुख निर्वाचन अधिकृत ईश्वर सिम्खडाले भने, 'जिल्ला मतदान केन्द्र सिफारिस समितिको बैठकले सिफारिस गरिएका ठाउँहरूमा मतदान केन्द्र निर्धारण गरिएको हो ।' २०७० सालमा भएको संविधानसभा निर्वाचनका लागि धादिङमा १ सय १० मतदान केन्द्र कायम गरिएको थियो । यसपटक एउटा घटाएर १ सय ९ वटा निर्धारण गरिएको छ ।
१ सय ९ मतदान केन्द्र, २ लाख ६ हजार मतदाता
नयाँ संरचनाअनुसार जिल्लाको नीलकण्ठ नगरपालिकामा १५ वटा, धुनीबेसी नगरपालिकामा ९ वटा, थांक्रे गाउँपालिकामा ११ वटा, गल्छी गाउँपालिकामा ८ वटा, गजुरी गाउँपालिकामा ८ वटा, बेनीघाट रोराङ गाउँपालिकामा १० वटा मतदान केन्द्र निर्धारण गरिएको छ । त्यस्तै सिद्धलेक गाउँपालिकामा ७ वटा, ज्वालामुखी गाउँपालिकामा ८ वटा, त्रिपुरासुन्दरी गाउँपालिकामा ८ वटा, नेत्रावती गाउँपालिकामा ५ वटा, गंगाजमुना गाउँपालिकामा ७ वटा, खनियाबास गाउँपालिकामा ५ वटा र रुवी भ्याली गाउँपालिकामा ८ वटा मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । धादिङमा १ लाख २ हजार ९ सय ६८ जना पुरुष, १ लाख ३ हजार ७६ महिला र १ जना तेस्रोलिंगी गरी २ लाख ६ हजार ४५ जना मतदाता छन् ।