पृथ्वीजयन्ती
मन्त्रिपरिषद्ले विसं. २०७४ का सार्वजनिक छुट्टीहरू घोषणा गरेको छ । त्यसमा कुन–कुन पर्वलाई मान्यता दिइएको छ, त्यो एउटा पक्ष हो । तर त्यसमा अनि नेपाल एकीकरणको ऐतिहासिक, भौगोलिक, सांस्कृतिक र प्रशासनिक तथ्यलाई विवादमा ल्याउने षडयन्त्रका साथ पृथ्वीजयन्तीलाई सार्वजनिक छुट्टिको मान्यता नदिने निर्णय सरकारले गरेको छ । कुनै एक मन्त्री या सरोकारवाला उपप्रधानमन्त्रीको अज्ञानता र षडयन्त्रलाई दोष दिनुभन्दा समग्र मन्त्रिपरिषद्लाई सामूहिक रूपमा जिम्मेवार बनाइनुपर्छ यसका लागि।
यो मुलुकको एकीकरण र इतिहासका साथ या त्यसको विरुद्धको गद्दारी हो ।०६३ वैशाखको राजनीतिक परिवर्तनपछिको गृहमन्त्रीस्तरीय निर्णयबाट पृथ्वीनारायणको एकीकरणको नेताको हैसियत खोसियो र उनको जन्मदिनलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाइने परम्परालाई त्यहाँ समाप्त गरियो । त्यससँगै षडयन्त्रकारी हिसाबले र बिना कुनै निगरानी नेपाली नागरिकता बाँड्ने र विदेशी दातृ निकायहरूको सहयोग प्राप्त जातीय सञ्जाल र संगठनहरूलाई मुलुक एकीकरणमा प्रश्न उठाउने समानान्तर छुट प्रदान गरियो । यो बृहत षडयन्त्र बुझेर विभिन्न राजनीतिक दलहरू, स्वतन्त्र बौद्धिक व्यक्तित्व, इतिहास र संस्कृतिविद्हरूले पृथ्वीजयन्तीको ऐतिहासिक महत्व र हैसियत राष्ट्रिय जीवनमा सुनिश्चित हुनुपर्ने माग राखे।
वर्तमान प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, कांग्रेस पार्टीका नेता शेरबहादुर देउवा, एमाले अध्यक्ष र केपी ओलीलगायतले उक्त मागको समर्थन नै गरे सार्वजनिक रूपमा । राप्रपा यो मामिलामा कतिको गम्भीर छ भन्ने प्रश्न अहिले विभिन्न कारणले उठेको होला, तर त्यसका अध्यक्ष कमल थापाले यो मामिला पटकपटक उठाउँदै आएका हुन् । तर अहिले मन्त्रिपरिषद्को उपल्लो पदमा पुग्दा दलहरूबीच सहमति बनेको विषयलाई केही मन्त्रीले लत्याउँदा त्यसमा प्रतिक्रियासमेत दिन नसक्दा खासगरी राप्रपाको नेपाली इतिहासप्रतिको सम्मान र निष्ठाको राजनीति बहस र प्रश्नको घेरामा नआउला भन्न सकिन्न ।
यसैबीच भारतीय संसद्का एक प्रखर सदस्य तथा पत्रकार तरुण विजय नेपालमा इष्टदेवका रूपमा पुजिँदै आएका गुरु गोरखनाथद्वारा दीक्षित पृथ्वीनारायणको सालिक दिल्लीमा स्थापना गर्ने सुखद् अभियानमा जुटेका छन् । धर्म र व्यापार विस्तारसँगै दक्षिण एसियाको अरू मुलुकको जस्तै सम्प्रभुता हडप्ने बेलायती साम्राज्यलाई पराजित गरेका थिए पृथ्वीनारायण शाहले, बृहत नेपाल राज्यको स्थापनासँगै ।
दुर्भाग्य नेपालकै राजनीतिक वृत्त र मन्त्रिपरिषद्मा बाह्यशक्तिको पृष्ठपोषण र पृथ्वीनारायणको अदानार राष्ट्रिय चरित्र बन्नु राष्ट्रिय लज्जाको विषय हो । सम्बन्धित मन्त्रीहरूले लज्जाबोध गर्लान् या नगर्लान्, तर यो हिमाल, पहाड र तराईका जनताका लागि राष्ट्रिय लज्जा र अपमानको विषय हो । सम्भवतः वर्तमान सत्ता र राजनीतिक वृत्तका लागि यो षडयन्त्रद्वारा प्रेरित भूल सच्याउने अन्तिम अवसर हो यो ।