रेसुंगा आउने पर्यटकलाई 'धर्मशाला'

रेसुंगा आउने पर्यटकलाई 'धर्मशाला'

रेसुंगा (गुल्मी): गुल्मीको पर्यटकीय एवं धार्मिक स्थल रेसुंगा आउने पर्यटकका लागि 'धर्मशाला' निर्माण थालिएको छ । रेसुंगा घुम्न आउने पर्यटक एवं भक्तजनलाई लक्षित गरी धर्मशाला निर्माण गर्न लागिएको हो । सहुलियत रूपमा खानबस्न सहज होस् भन्ने उद्देश्यले धर्मशाला निर्माण थालिएको गुल्मीकी स्थानीय विकास अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन् । 'धेरै टाढाबाट पनि रेसुंगामा पर्यटक घुम्न आउँछन्', उनले भनिन्, 'अब खानेबस्ने सुविधा रेसुंगास्थलमै हुनेछ । तम्घास बजार झर्नुपर्दैन ।'

जिल्ला समन्वय समिति गुल्मीमार्फत सञ्चालित सिँचाइ नदी नियन्त्रण तथा अन्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत धर्मशाला निर्माण गर्न लागिएको हो । पछिल्लो समय बाहिरी जिल्लाका पर्यटकका लागि रेसुंगा प्रमुख पर्यटकीय गन्तव्य बन्दै गएको छ । 'रेसुंगामा आन्तरिकभन्दा बाह्य पर्यटकको संख्या बढ्दै गएको छ', श्रेष्ठले भनिन्, 'पर्यटकको बसाइ लम्ब्याउन पनि धर्मशाला बनाउनुपर्ने आवश्यकता देखियो ।'
पर्यटकको आगमन बढेसँगै रेसुंगामा भौतिक पूर्वाधार निर्माणका कार्यलाई तीव्रता दिँदै लैजाने योजना रहेको उनले जानकारी दिइन् । 'तम्घास बजारभन्दा माथि छ रेसुंगा', श्रेष्ठ भन्छिन्, 'पर्यटक र धार्मिक भक्तजन केही दिन रेसुंगामै बसेर अवलोकन गर्न मन पराउँछन् ।' रेसुंगा आउने पर्यटकको बसाइ लम्ब्याउन सके जिल्लाको आर्थिक गतिविधिमा समेत टेवा पुग्ने उनको विश्वास छ ।

तम्घास बजारभन्दा माथि छ रेसुंगा । पर्यटकले केही दिन रेसुंगामै बस्न मन पराउँछन् । रेसुंगा आउने पर्यटकको बसाइ लम्ब्याउन सके जिल्लाको आर्थिक समृद्धिमा समेत सहयोग पुग्छ ।

धर्मशालामा खाना र आवासको सुविधासहित सुविधासम्पन्न सभाहलसमेत निर्माण हुनेछ । जिल्लामा सञ्चालन हुने विभिन्न सेमिनार, गोष्ठी, सभालगायत कार्यक्रम र बाहिरी जिल्लाका संघसंस्थाले समेत कार्यक्रम सञ्चालन गर्न सभाहलको निर्माण पनि अघि बढाइएको इन्जिनियर पारस पन्थीले बताए । बहुवर्षीय योजनाअन्तर्गत धर्मशाला निर्माण हुने उनको भनाइ छ ।

२०७२ चैतदेखि सुरु भएको धर्मशाला निर्माणका लागि झन्डै सात करोड रुपैयाँ लागत एस्टिमेट गरिएको पन्थीले बताए । 'चालू आर्थिक वर्षसम्म दुई करोड ५६ लाख रुपैयाँ मात्र बजेट स्वीकृत भएको छ', उनले भने, 'दुई करोड रुपैयाँ प्राप्त भइसकेको र थप बजेट आगामी आर्थिक वर्षमा प्राप्त हुनेछ ।' प्रत्येक आर्थिक वर्षमा रकम विनियोजन भई काम अघि बढिरहेको उनले बताए ।

धर्मशाला निर्माणको करिब ३० प्रतिशत काम सम्पन्न भइसकेको छ । 'गजल कन्स्ट्रक्सन' कम्पनीले निर्माणको जिम्मा पाएको धर्मशालामा सभाकक्ष, बैठक कक्ष, स्टेज, स्टोर गरी २० वटा सुविधासम्पन्न कोठा निर्माण गरिने निर्माण कम्पनीले जनाएको छ । पर्यटकको संख्या बढेसँगै जिल्लाको समग्र आर्थिक विकासमा धर्मशालाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने जिल्लाका उद्योगी-व्यवसायीको भनाइ छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.