नेपालमा टोयाटाको ५० वर्ष

नेपालमा टोयाटाको ५० वर्ष

सन् १९५७ मा कोलकाताबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेपछि विजय गजानन्द वैद्यले परराष्ट्र मन्त्रालयमा अफिसरको जागिर सुरु गरे । हिमाल आरोहण गर्न आउने विदेशीलाई सगरमाथा पुर्‍याउने र सहजीकरण गरिदिने ड्युटी थियो । जागिरमा चित्त नबुझेपछि अमेरिकी सहयोग नियोग (यूएसएआईडी) मा काम थाले । सात वर्ष काम गर्दा टन्नै ग्रामीण क्षेत्र भ्रमण गर्ने मौका मिल्यो । यसपछि अमेरिका पुगेर एसियन रिसर्च सोसाइटीमा दुई वर्ष (१९६५ सम्म) काम गरे । अमेरिकाबाट फर्किएपछि बिजनेसमा लागेका हुन् ।

जागिरको सिलसिलामा दौडिँदा एउटा साइकल भैदिए कति सजिलो हुन्थ्यो भन्ने वैद्यलाई लाग्थ्यो । साइकल चढ्नकै लागि धेरै काम गरे, प्राप्त पनि भयो । मुलुकमा बाइक भित्रियो, बाइक चढ्ने हुटहुटी चल्यो । त्योपनि खरिद गरे । मनको चाह बढ्दै गयो । मुलुकमा गाडी कुद्न थालिसकेका थिए । उनका आँखा गाडीतर्फ मोडिए । उनले सुरुमा पुरानो भक्सवागन गाडी किनेर चढे । उनी जहिले पनि नयाँ कुराको चाह राख्थे, प्राप्ति पनि गर्दै गए ।

बिजनेस गर्ने भएपछि उनी चिनियाँ व्यापारी भेट्न हङकङ पुगेका थिए । टोयोटा मोटर्स विश्वव्यापी बजार विस्तारमा लागिरहेको थियो । चिनियाँ व्यापारीले टोयोटाको डिलरसीप लिएर बिजनेश सुरु गर्न सुझाव दिए । वैद्य सात सय डलर बोकेर जापान पुगे । उनीसँग न बिजनेस कार्ड थियो, न त नेपालजस्तो सानो मुलुक टोयोटाको प्राथमिकतामा पथ्र्यो ।

केही त देखाउनुपर्छ भनेर जापानको सबैभन्दा महँगो होटेलमा बसे । त्यहीँबाट फोन गरेर आफ्नो योजना सुनाए । टोयोटाको मान्छे भेट्न आए, विभिन्न चरणमा छलफल पनि भयो । रेस्पोन्स केही आएन । महँगो होटेलमा बसेका छन्, खल्तीमा धेरै पैसा छैन । होटेलको बिल भर्न नसकिने चिन्ताले सताउन थाल्यो । लक्की भन्नुपर्छ, उनले डिलरसीप पनि पाए, होटेलको बिल भर्न पैसा पनि पुग्यो ।

वैद्यले एउटा समय सीमाभित्र ६ वटा टोयोटा गाडी बिक्री गर्ने गरी सम्झौता गरेका थिए । तर, लक्ष्यभन्दा १५ गुना बढी ९७ गाडी बिक्री भए । नेपालमा हुनेखाने मर्सिडिज, फोर्डजस्ता महँगा गाडी चढ्थे । टोयोटा सस्तो मूल्यमा भित्रियो, धेरैको पहुँचमा पनि पुग्यो ।

सन् १९७५ मा वीरेन्द्रको राज्यभिषेक थियो । विभिन्न मुलुकबाट पाहुना आएका थियो । परराष्ट्र मन्त्रालयलाई धेरै गाडी चाहिएको थियो । त्यतिबेला टोयोटा गाडी निकै बिक्री भएको थियो । जापनिज पनि मख्ख, वैद्य झनै मख्ख ।

विजय गजानन्द वैद्यलाई टोयोटा नेपाल भित्र्ययाउन निकै पापड बेल्नुपरेको थियो । विश्वव्यापी बजार विस्तारमा लागेको टोयोटाको प्राथमिकतामा नेपालजस्तो सानो बजार पर्ने कुरै थिएन । टोयोटाको डिलरसीप फुत्काउन वैद्यले निकै जुक्ति लगाउनु परेको थियो । धेरै चरणको वार्ता र अनुनय/विनयपछि टोयोटा डिलरसीप दिन तयार भयो समयसीमा तोकेर निश्चित संख्यामा गाडी बिक्री गर्नुपर्ने शर्त राखेर ।

वैद्य मुलुकमा आएर बजार अध्ययन गरे, ग्राहक खोज्दै हिँडे । ‘निर्धारित समयमा लक्ष्यभन्दा निकै बढी गाडि बिक्री भयो', युनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटीएस) प्रालिका अध्यक्ष सुरज वैद्य बताउँछन् । सुरुमा सन् १९६९ मा टोयोटा कोरोना भित्रिएको थियो । अहिले दर्जनभन्दा बढी मोडल उपलब्ध छन् । नेपालमा टोयोटाको लोकप्रियता कायमै छ ।

साठीको दशकमा मर्सिडिज, भक्सवागन, फोर्डजस्ता प्रिमियम गाडी नेपालमा आउँथे । डिलरसीप थिएन, सम्पन्न परिवारले आफैं झिकाएर चढ्थे । यी गाडी निकै महँगा भएकाले सबैको पहुँच पुग्दैनथ्यो । टोयोटाले गाडी चढ्ने पहुँच बढाइदियो । ‘त्यतिबेला मर्सिडिज, फोर्ड, भक्सवागन कारको मूल्य ५०/६० हजार पथ्र्यो, टोयोटा २०/२५ हजारमै पाइन्थ्यो', उनी भन्छन्, ‘टोयोटा भित्रिएपछि कारमा धेरैको पहुँच पुगेको हो ।'

सतरीको दशकको सुरुवाततिर कोरोला ट्याक्सीका रूपमा भित्रियो । कम मूल्यको कोरोला निकै लोकप्रिय भयो । वैद्यका अनुसार कोरोला पिपुल्स कारका रुपमा परिचित थियो । अहिले पनि पोखरा, बेनी, जोमसोम लगायतका ठाउँमा कोरोला ट्याक्सी देखिन्छन् । ‘कोरोला किन्न ९० लाख रुपैया“ चाहिन्छ, त्यो बेला कर लगाइएको थिएन, २०/२५ हजारमै आउँथ्यो' उनी भन्छन्, ‘वास्तवमा टोयोटा महँगो कार होइन, २४० प्रतिशत कर/महसुलले गर्दा महँगो भयो ।'

तत्कालीन राजा वीरेन्द्रको राज्यभिषेकमा (सन् १९७५) टोयोटा गाडी धेरै बिक्री भयो । राणा साशनको अन्त्य भएसँगै मुलुकमा विदेशी दाता सक्रिय भइसकेका थिए । माओवादी द्वन्द्वको समाप्तिपछि सक्रियता झनै बढ्यो । आर्थिक गतिविधि पनि बढ्दै गए, धमाधम परियोजना निर्माण हुन थाले । विकासे परियोजना र दातालाई प्रशस्तै गाडी चाहियो । यसले टोयोटाको बिक्री बढाउँदै लगेको वैद्य बताउँछन् ।

विकास निर्माणले तीव्रता पाउँदा टोयोटा आइलक्स, पिकअप जिप, ल्यान्ड क्रुजर लगायतका गाडी आउन थालेका हुन् । टोयोटा क्राउन पनि नेपालमा उत्तिकै रुचाइएको थियो । कोरोला नेपालमा मात्र नभएर विश्वभर सर्वाधिक रुचाइएको कार हो । कोरोलाका एक दर्जन पुस्ता नेपालमा कुद्छन् । टोयोटाको हाइसले पनि उत्तिकै बजार पिटिरहेको छ । पछिल्लो समय टोयोटाले हाइब्रिड कार भित्र्ययाउन थालेको छ । नेपालको सडक सुधार भएमा हाइब्रिड कार उत्तम हुने वैद्य बताउँछन् ।

टोयोटाको ल्यान्डक्रुजर महँगो कार हो । ल्यान्ड क्रुजर १९७५ देखि १९८० को बिचमा भित्रिएको थियो । यसपछि भित्रिएका हाइलक्स, हाइस, र्‍याभफोर पनि सर्वाधिक बिक्री भएको वैद्य बताउँछन् । एसयूभी कारका पारखीमाझ करोड मूल्य पर्ने र्‍याभफोर लोकप्रिय छ । लामो तथा छोटो दूरीको सार्वजनिक यातायातमा हाइस धेरै प्रयोग भइरहेको छ । पर्यटन क्षेत्रमा पनि हाइसको प्रयोग धेरै भइरहेको देखिन्छ ।

‘विदेशी परियोजनामा टोयोटा गाडी बढी गएका छन्, बुलेट प्रुफ ल्यान्ड क्रुजर एम्बेसीले बढी प्रयोग गर्छन्', वैद्यले भने । नेपालमा साढे तीन करोड रुपैयाँसम्मका टोयोटा कार उपलब्ध भएको उनले सुनाए । बुलेट प्रुफ ल्यान्ड क्रुजर सबैभन्दा महँगो कार हो ।

असीको दशकसम्म मुलुकमा टोयोटाको दबदबा थियो । जापानबाट आउने गाडीमा टोयोटा अब्बल मानिन्थ्यो । जब भारतमा कार उत्पादन सुरु भयो, नेपालमा सस्तो मूल्यमै कार भित्रिन थाल्यो । भारतमा बनेका सस्तो कारसँग प्रतिस्पर्धा गर्न कठिनाई भइरहेको वैद्य बताउँछन् । तर, पनि ब्रान्डप्रतिको विश्वास, बिक्रीपछिको सेवा, रिसेल भ्यालुलगायतका टोयोटाप्रतिको आकर्षण स्वाट्टै घटेको पनि छैन ।

अहिले नेपालमा भारतमा बनेका हुन्डाई, टाटा, महिन्द्रा, फोर्ड, डाटसनलगायत ब्रान्डको दबदबा छ । कोरियन सस्ता गाडी आएपछि प्यासेञ्जर कारमा प्रतिस्पर्धा गर्न झनै समस्या भएको बैद्य सुनाउँछन् । तुलनात्मक रूपमा महँगो मानिने टोयोटाको बिक्री आफ्नै रफ्तारमा छ । टोयोटाका आफ्नै ग्राहक छन्, ब्रान्ड कन्सेसयस ग्राहक टोयोटा खोज्दै आउँछन्।

विजय गजादन्दका जेठा छोरा सुरज अटो व्यवसायमा लागेको दुई दशक बित्यो । चेम्बर राजनीति आदिमा सक्रियता बढेपछि श्रीमती रितुसिंह वैद्यले यूटीएसको बिजनेस सम्हाल्दै आएकी छिन् । वैद्यले धुम्बाराहीमा भव्य कर्पोरेट अफिस ‘भोइथ कम्प्लेक्स' निर्माण गरेका छन् । तीनकुनेमा रहेको यूटीएसको अफिस धुम्बाराहीमा सरिसकेको छ ।

‘बुवाले ५० वर्षका लागि आधार तयार पारिदिनुभयो', वैद्य सुनाउँछन्, ‘आउने ५० वर्ष सोच्न नपर्ने गरी भोइथ कम्प्लेक्स निर्माण गरेको हुँ ।' पछिल्लो समय बिजनेस विविधिकरणको मुडमा पुगेका उनले सबै बिजनेस युनिटको कर्पोरेट अफिस भोइथ कम्प्लेक्समै रहने बताए । सुरुवाती समयमा तीन जनाबाट सुरु भएको यूटीएसमा अहिले साढे दुई सयको हाराहारीमा कर्मचारी छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.