पुस्तक आपूर्ति सुस्त
बुटवल : रूपन्देहीबाट नयाँ शैक्षिक सत्रमा माध्यमिक शिक्षा परीक्षामा सहभागी हुने विद्यार्थीको संख्या साढे १२ हजारभन्दा बढी छ । ती विद्यार्थीले पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम परिवर्तन गरेका कारण पुराना पुस्तक पढ्न पाउँदैनन् । तर शैक्षिक सत्र सुरु हुन एक साता मात्रै बाँकी रहँदा कक्षा १० को पाठ्यक्रम एक हजार दुई सय सेट मात्रै जिल्ला भित्रिएको छ ।
कक्षा १० को मात्रै होइन ६ देखि माथिल्लो कक्षाका पाठ्यपुस्तक निकै कम मात्रामा जिल्ला भित्रिएका छन् । यस क्षेत्रमा सामुदायिक विद्यालयतर्फको पाठ्यपुस्तक बिक्री गर्ने सुपर एजुकेसनका खिमनारायण पराजुलीले भने, 'अहिलेकै गतिमा पुस्तक आयो भने भदौमा पनि विद्यार्थीले पूरा पुस्तक पाउन गाह्रो छ ।'
जनशिक्षा सामग्री केन्द्रको क्षेत्रीय कार्यालय चितवनबाट लुम्बिनी र नारायणी अञ्चलमा पुस्तक वितरण हुन्छ । उक्त कार्यालयमा अहिलेसम्म दुई अञ्चलमा आवश्यक पुस्तकमध्ये २५ प्रतिशत मात्रै आएको छ । आएको पुस्तक मात्रै बिक्री गर्ने आदेश भएकाले कति आवश्यक हुन्छ भन्नेमा आफूहरूको चासो नहुने क्षेत्रीय कार्यालयका प्रमुख मोहनकृष्ण श्रेष्ठले बताए ।
गएको वर्ष सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकले कात्तिक महिनासम्म पनि पुस्तक खोज्दै पसलपसल चहार्नुपरेको थियो । सुगम मानिएका जिल्लामा समेत यो वर्ष निकै कम पुस्तक आएकाले अझै अभाव हुने पुस्तक बिक्रेताहरूले बताएका छन् । कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा पाएका निजीक्षेत्रले भने विद्यालयमा पुस्तक पठाइसकेका छन् । माथिल्लो तहको पुस्तक छाप्ने जिम्मा पाएको जनक शिक्षाबाट कक्षा ६ देखि ८ सम्मको पुस्तक जम्मा ५० प्रतिशत मात्रै छापिएको छ । कक्षा ९ र १० पुस्तकको छपाइ निकै कम छ ।
जनशिक्षा सामग्री केन्द्रको क्षेत्रीय कार्यालय चितवनबाट लुम्बिनी र नारायणी अञ्चलमा पुस्तक वितरण हुन्छ । उक्त कार्यालयमा अहिलेसम्म दुई अञ्चलमा आवश्यक पुस्तकमध्ये २५ प्रतिशत मात्रै आएको छ ।
केन्द्रीय स्तरको पुस्तक छपाइ तथा वितरण अनुगमन समितिका सदस्यसमेत रहेका नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका अध्यक्ष हरि अर्यालले अहिलेकै गतिमा पुस्तक छपाइ भए असोजसम्म मात्रै पूरा पुस्तक आउने बताए । 'अझै एक करोड पुस्तक छाप्न बाँकी छ, दैनिक २० हजार पुस्तक छापेर कहिले पूरा हुन्छ ? ', उनले प्रश्न गरे ।
पुस्तकको अभाव भइरहेका बेला वितरकले ढुवानी भाडाको माग गर्दै आन्दोलनको चेतावनीसमेत दिएका छन् । जनक शिक्षाले यसअघि दिँदै आएको २÷३ प्रतिशत ढुवानी भाडा नदिएको भन्दै पुस्तक ढुवानी नगर्ने उनीहरूको भनाइ छ ।बर्षैाँदेखिको पुस्तक अभाव हुने समस्याले अभिभावक भने आजित छन् । कलिलो मस्तिष्कका बालबालिकाले अध्ययन गर्ने पुस्तक छपाइ र वितरणमा लापरबाही नगर्न अभिभावक संघ रूपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीको आग्रह छ । 'लार्पबाही र अनियमितता गर्नुको पनि हद हुन्छ', उनले भने, 'हजारौं विद्यार्थी र अभिभावकलाई कष्ट दिएर के गर्न खोजिँदैछ ? '
जिल्लामा कक्षा ६ देखि ९ सम्मको पाठ्यपुस्तक तीन÷तीन हजारका दरले आएको छ । प्रतिकक्षामा न्यूनतमा १४ हजार पाठ्यपुस्तकको आवश्यकता छ । जिल्ला शिक्षा कार्यालयले विद्यालयलाई फागुन महिनामै पुस्तक खरिद गर्न रकम निकासा दिइसकेको थियो । 'पैसा आए पनि पुस्तक नआएपछि के गर्ने ? ', शिक्षक युनियनका रूपन्देही अध्यक्ष छवि पाण्डेले भने ।
जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले पुस्तक अभाव कम गर्न र समयमै कोर्स पूरा गर्न पुरानै पुस्तक पढ्ने वातावरण मिलाउन विद्यालयलाई निर्देशन दिएका छन् ।
निजीमा कमिसन खेल
निजी तथा संस्थागत विद्यालयको पाठ्यपुस्तक पनि उस्तै अवस्था छ । निजी विद्यालयले फागुन २० गतेभित्रै पाठ्पुस्तकको सूची सार्वजनिक गर्नुपर्ने भए पनि सूची अझै दिएका छैनन्, जसकारण पुस्तक जिल्ला झरेको छैन ।पुस्तक पब्लिकेसनले दिने कमसनमा बढीबढाउ गरेकाले सूची नआएको हो । जिल्ला प्याब्सनले भने पाठ्यपुस्तकको सूची विद्यार्थीलाई दिइसकिएको जनाएको छ । 'सूची दिइसकेका छौं, कुनै कमिसनको खेल भएको छैन', प्याब्सन रूपन्देही अध्यक्ष लेखनाथ पौडेलले भने ।
प्याब्सनले पाठ्यपुस्तक लगाएबापत विगतका वर्षमा लाखौं रकम पब्लिकेसनबाट लिने गरेको रहस्य सार्वजनिक भएको थियो । प्याब्सनको सचिवालय भवन निर्माणका लागि भन्दै पब्लिकेशनबाट १० लाखभन्दा बढी रकम असुलिएको थियो ।विद्यालयले समयमै पाठ्पुस्तकको सूची नदिएको अभिभावक दयासागर पन्थीले बताए । 'आठवटा पुस्तक किन्न महिनौं दिन बजार–बजार डुल्नुपर्छ', उनले भने, 'तर विद्यालयले अझै पुस्तक सूची दिएका छैनन् ।'