बालबालिकाले गरे मदिरा नियन्त्रण
कालिकास्थान (डोटी) : 'गाउँमा मदिरा खाएर निकै होहल्ला हुने गरेको थियो, यी बालबालिकाले मदिरा बन्द गरेर धेरै राम्रो काम गरे', डोटी कालिकास्थान गाउँपालिकाका ७० वर्षीय गोरख साउद यसो भन्दै गर्दा खुसी देखिन्थे । बालबालिकाको सक्रियतामा गाउँमा मदिरा नियन्त्रण भएपछि उनी खुसी भएका हुन् । 'मदिरा खाएर रातभरि हल्ला हुन्थ्यो, अचेल आनन्दसँग सुत्न पाइन्छ', उनले भने ।
स्थानीय नवज्योति बाल क्लबले मदिरा बन्द गर्ने अभियान चलाएपछि गाउँमा अहिले शान्ति छाएको छ । 'हामीले बाल क्लबका तर्फबाट गत माघ १५ गते मदिरा बन्द गर्न गाउँमा भेला आयोजना गर्यौं', बाल क्लबका अध्यक्ष रिजन नेपालीले भने, 'गाउँका दिदीबहिनीले पनि साथ दिनुभयो । अहिले गाउँमा मदिरा बन्द भएको छ ।' मदिराका कारण गाउँमा दिनदिनै झगडा हुने गरेपछि आफूहरू अभियानै चलाएर त्यसको नियन्त्रणमा लागेको उनको भनाइ छ । अभियान सफल भएकोमा आफूहरूलाई खुसी लागेको उनले बताए ।
बाल क्लबले अब कालिकास्थान, बाहुनकाँडालगायत स्थानमा पनि मदिरा बन्द गर्ने तयारी गरिरहेको बाल क्लबकी सचिव निर्मला साउदको भनाइ छ । 'हामीले बाहुनकाँडामा पनि बाल क्लब गठन गरेका छौं', उनले भनिन्, 'अब त्यहाँ पनि भेला बोलाएर मदिरा बन्द गर्ने योजना छ ।' मदिरा बेचेको अथवा सेवन गरेको पाइए जरिवाना लिने गरेको उनले बताइन् ।
बाल क्लबले कालिकास्थान, बाहुनकाँडालगायत स्थानमा पनि मदिरा प्रयोग बन्द गर्ने तयारी गरेको छ ।
विभिन्न संस्थाले बालअधिकार एवं कर्तव्यबारे जानकारी दिएपछि आफूहरूलाई मदिरा नियन्त्रण गर्ने सोच पलाएको क्लबका अध्यक्ष रिजन नेपालीको भनाइ छ । 'बालअधिकारका साथै हामीले गर्नुपर्ने कामबारे पनि जानकारी पायौं', उनले भने, 'त्यसपछि गाउँको सबैभन्दा ठूलो समस्याका रूपमा रहेको 'मदिरा' बन्द गरिछाड्यौं ।'
मदिरा बन्द भएपछि स्थानीय महिला पनि खुसी भएका छन् । 'मदिरा सेवन गरेर दिनहुँ गाली–बेइज्जती सुन्नुपर्ने हुन्थ्यो', स्थानीय माता साउदले भनिन्, 'अचेल शान्त भएको छ ।' बालबालिकाले सुरु गरेको अभियानमा महिलाले पनि साथ दिएको उनले बताइन् ।नेतृत्व विकासका लागि विभिन्न संस्थाले गरेको सहयोगका कारण आफूहरूलाई काम गर्न थप हौसला मिलेको बालबालिकाहरूको भनाइ छ ।