बालबालिका आत्महत्याको मनोविज्ञान 

 बालबालिका आत्महत्याको मनोविज्ञान 

हिजोआज स्कुले बालबालिकाले आत्महत्या गरेका खबर बाहिर आउने क्रम बढ्दो छ । केटाकेटीको भावनात्मक कमजोरी बढ्दै जाँदा अथवा अहिलेका केटाकेटीले जीवनमा चुनौतीसँग लड्न नसकेर हो अथवा चुनौतीको प्रकृति नै गम्भीर बनेर हो यस्ता दुःखद् एवं अकल्पनीय घटना हुने गरेका हुन् । यसबारे अभिभावक, शिक्षक एवं समुदाय र देशका प्रबुद्ध वर्ग सचेत हुनुपर्ने देखिन्छ ।

हुन त किशोरावस्थामा प्रवेश गरेका बालबालिका अस्थिर मनका तुरुन्तै आवेगमा आइहाल्ने, मनोवैज्ञानिक एवं भावनात्मक रूपले कमजोर र सानो भावनात्मक आघातबाट विचलित हुने गर्छन् । यो संक्रमणकालीन अवस्थालाई बुझेर वयस्कहरूले उनीहरूसामु आफूलाई प्रस्तुत गर्नुपर्ने हुन्छ । तर समाजमा यस्तो अभ्यास हुँने गरेको छैन । उल्टै बढी तनाव र निरुत्साहित बनाउने किसिमको वातावरण सिर्जना गरिन्छ । जसले गर्दा हाम्रा केटाकेटी दमित, आक्रोशित एवं समाज विरोधी कार्यप्रति छिट्टै हाम्फाली हाल्छन् ।

केही महिनाअगाडि मात्र काठमाडौंको नाम कहलिएका विद्यालयका किशोरकिशोरीले झुन्डेर आत्महत्या गरेको पीडा सेलाउन नपाउँदै फेरि विद्यालयको तीन तलामाथिबाट कुदेर आत्महत्या गरेको खबरले आम अभिभावकलाई विशेषगरी बालप्रेमी सबैलाई चिन्तित बनाएको छ । अझै यी तीनवटा घटना प्रेमप्रसंगसँग जोडिएको खबरले सबैलाई चकित पारेको छ । किशोरकिशोरीबीचको प्रेमप्रसंगलाई लक्षित गरी घटनाको दोष ती संवेदनशील एवं भावनात्मक रूपले विचलन भएका बालबालिका माथि लगाउनु कति उपयुक्त होला सबैले सोच्नुपर्ने हुन्छ ।

हामी अभिभावक, शिक्षक र एवं जिम्मेवार विद्यालय प्रशासनले आफ्नो तर्फबाट कहाँ कसबाट कस्तो गल्ती गरियो र आवश्यक जिम्मेवारी वहन गर्न सकियो, सकिएन त्यसको मूल्यांकन गर्नुपर्छ कि पर्दैन ? कुरो अड्केको छ ‘प्रेमप्रसंग’ मा के प्रेम गरेकै कारण ती अबोध बालबालिकाले आफ्नो जीवन त्यागेका हुन् त ? अथवा प्रेमको परिणामले जीवनदान गर्नुपर्ने बाध्यात्मक परिस्थिति निम्त्याउने को हुन त ? यस्तो लाग्छ हाम्रो घरपरिवार, विद्यालय र समाजले प्रेमलाई गलत तरिकाबाट परिभाषित गरिरहेको छ ।

किशोरावस्थामा सक्रिय हुने जैविक हार्मोनले विपरीत लिंगप्रतिको आकर्षणलाई बढाउँछ भन्ने तथ्यलाई हामीले बुझ्न सकेनौं । त्यस्ता हार्मोनलाई व्यवस्थित एवं स्वस्थ्य बनाउने सीप हामीले सिकाउन सकेनौं भन्ने पक्षलाई पनि सोच्नुपर्छ कि त ? एकोहोरो प्रेम गर्नुहुन्न, प्रेममा फस्नुहुन्न, पढाइ बिग्रन्छ भविश्य बिग्रन्छ, यो खराब हो, गलत मानिस प्रेममा फँस्छ भन्ने नकारात्मक सन्देश बढी दिइएको पनि हुन सक्छ । हाम्रो समाज एकोहोरो रूपमा आफ्नो सोच, इच्छा र तर्कलाई मात्र प्राथमिकताका साथ केटाकेटीमा लाद्ने तर केटाकेटीको वस्तुस्थितिलाई आकलन गर्ने, बुझ्ने अथवा बालमनोविज्ञान बुझ्ने गरेको त्यति पाइँदैन ।

उमेरअनुसारको शारीरिक, मानसिक, भावनात्मक एवं सामाजिक परिवर्तन आउँछन् र सो परिवर्तनसँग अभिभावकले आफूलाई प्रस्तुत गर्न सक्नुपर्छ अन्यथा अभिभावक र बालबालिकाबीचको सम्बन्धमा अस्वस्थकर रूपले दूरी बढ्दै जान सक्छ । यस्तो दूरीले केटाकेटीलार्ई अझ स्वकेन्द्रित एवं दमित बनाउँदै लैजान्छ । फलस्वरूप आफ्ना इच्छा र भावनालाई दबाउने, लुकाउने क्रममा विभिन्न घटना, दुर्घटना हुने सम्भावना बढी हुन्छ । तसर्थ अभिभावकले पनि आफ्ना केटाकेटीलाई पढाइ सीपमात्र होइन भावनात्मक अभिव्यक्त सीप पनि सिकाउनुपर्छ ।

विद्यालयहरूमा बालमनोविद् एवं काउन्सिलिङ राख्नुपर्छ भन्ने सोचको विकास हुन अझै सकेको छैन । एकोहोरो किताब रटाउने र यति प्रतिशत, उति प्रतिशतको होडबाजीको सिकार बालबालिका बनेका छन् । बालबालिकाको चौतर्फी विकासतर्फ न अभिभावक सचेत बन्ने गरेको पाइन्छ न त विद्यालय नै ।

विद्यालयले पनि केटाकेटीका व्यवहारलाई सुधार्ने वैज्ञानिक विधि अथवा मनोवैज्ञानिक परामर्श सेवा अवलम्बन गर्नुपर्दछ । तर दुःखको कुरा विद्यालयहरूमा बालमनोविद् एवं काउन्सिलिङ राख्नुपर्छ भन्ने सोचको विकास हुन अझै सकेको छैन । एकोहोरो किताब रटाउने र यति प्रतिशत, उति प्रतिशतको होडबाजीको सिकार बालबालिका बनेका छन् । बालबालिकाको चौतर्फी विकासतर्फ न अभिभावक सचेत बन्ने गरेको पाइन्छ न त विद्यालय नै । केही विद्यालयलाई छाडेर भन्ने हो भने अधिकतम विद्यालयले पठन पाठनलाई बढी मात्रामा जोड दिने क्रममा अन्य पक्ष ओझेलमा पारेका छन् । विद्यालय न त जेल हो, न त थुनेर राख्ने घर । विद्यालयको वातावरण स्वतन्त्र रूपले शिक्षकसँग बोल्ने, आफ्ना कुरा र कठिनाइलाई राख्ने अनि डर-त्रास बिना आफ्ना समस्याको समाधान खोज्न सहजीकरण गरिदिने हुनुपर्छ । यस्तो व्यवस्था मिलाउने विद्यालय आजको आवश्यकता हो ।

दण्ड, घृणा र डरले कसैलाई सकारात्मक बनाउन मद्दत गर्दैन । माया, सहानुभूति अझ हौसला र प्रेरणा दिने वातावरण विद्यालयमा बनाउनुपर्छ । राम्रो विद्यार्थी विद्यालय गएर रिसाहा, घमण्डी, आक्रामक स्वभावको र चुरोट, गाँजा खान सिकेर आउने विद्यालय पनि छन् । होस्टेल राखेर राम्रो होला भन्ने भ्रममा पर्ने अभिभावक नै होस्टेल राखेर जीवनमा ठूलो गल्ती गरे भन्ने पश्चातापको गुनासो सुनाउँछन् । आजका बालबालिका उमेरभन्दा छिट्टै परिपक्व हुँदैछन् साथै संकट र चुनौती पनि निकै गम्भीर बनेका छन् ।

यस अवस्थामा अभिभावकलाई वैज्ञानिक एवं स्वस्थ अभिभावकत्वको तालिम र ज्ञान सीप नसिकी हुँदैन । अर्कोतिर विद्यालयले पनि पुराना परिपाटीलाई परिवर्तन गरी समायानुकूल शैक्षिक वातावरण सिर्जना गर्नैपर्छ । केटाकेटीको पढाइलेखाइ पक्षभन्दा महत्वपूर्ण पक्ष उनीहरूको सोच, भावना, आदत अथवा सम्पूर्ण मनोविज्ञान हुन्छ । त्यो मनोविज्ञानलाई पन्छाएर अथवा बेवास्ता गरेमा हाम्रा प्रयासहरू र अपेक्षा शून्यमा परिवर्तन हुनेछन् । किनभने हिजोआजका किशोरकिशोरी विज्ञान र प्रविधिले निकै स्मार्ट छन् तर हामी पुरानै परिपाटी लाद्न खोज्छौं ।

होस्टेल राखे राम्रो होला भन्ने भ्रम
आजका बालबालिका उमेरभन्दा छिट्टै परिपक्क हुनु
अस्वस्थ प्रतिष्पर्धा, अधिक शैक्षिक दबाब
सबैले दिने गाली, सुझाव अर्ती उपदेश

अस्वस्थ प्रतिस्पर्धा, अधिक शैक्षिक दबाब, आमाबुबाको सपनाका सारथि अनि सबैले आ-आफ्नो ठाउँबाट दिने गाली, सुझाव अर्ती उपदेश र पीडा । यस परिस्थितिमा आफ्नो लक्ष्य, इच्छा, रहर र जिम्मेवारी अनि आमाबुबा र शिक्षकसँगको अस्वस्थ सञ्चार, अनावश्यक नियन्त्रणले उनीहरूमा अन्र्तद्वन्द्वलाई निम्त्याउँछ । फलस्वरूप लागूपदार्थ दुव्र्यसनी बन्ने, झगडालु र क्रोधी हुने, डिप्रेसनमा गएर आत्महत्या गर्ने एवं मानसिक सन्तुलन गुमाउनेजस्ता समस्या देखिने गर्दछ । तसर्थ किशोरकिशोरीलाई आफ्नो भविष्यबारे सोच्ने, निर्णय लिने, लक्ष्य उन्मुख कार्य गर्ने, भावनालाई अभिव्यक्त गर्ने, सही र गलत छुट्याउन सक्ने, आफू कता जाँदैछु भन्ने आत्मबोध गराउन काउन्सिलिङ दिनुपर्दछ ।

काउन्सिलिङको सही र यथार्थ अर्थ नबुझी गाली गरे पनि, सुझाव-सल्लाह दिए पनि र आफ्नो संघर्षको कथा सुनाएर काउन्सिलिङ दिए भन्ने मानसिकतालाई त्याग्नुपर्छ । यस्तो किसिमको काउन्सिलिङ केटाकेटीको लागि घातक पनि हुने गरेको पाइन्छ । अहिले किशोरकिशोरीलाई आफ्नो संवेगात्मक अथवा भावनात्मक समस्याको स्वस्थ व्यवस्थापना सीप र सामाजिक समायोजन एवं सञ्चार सीपको तालिमको खाँचो छ । अर्कोतर्फ अभिभावकलाई प्रारम्भिक काउन्सिलिङ तालिमको खाँचो छ । समस्या जन्मनुभन्दा समस्या जन्मनै नदिँदा राम्रो हुन्छ । समस्या गम्भीर बन्नुभन्दा समस्याको सुरुवातमा नै कुशल तरिकाबाट सुल्झाउन यस्तो तालिमले मद्दत गर्दछ ।

यसर्थ काउन्सिलिङ र मनोवैज्ञानिक सहयोगलाई नकारात्मक होइन अत्यावश्यक सहयोगको रूपमा स्वीकार्न सके यसले सबैलाई अपेक्षित शान्ति दिन सक्छ । विद्यालय र अभिभावकले आजैबाट काउन्सिलिङको आवश्यकता र महत्ववलाई मनन् गरी आफ्ना केटाकेटीले निम्त्याउन सक्ने दुर्घटनाबाट बचाऔं । काउन्सिलिङ्ग मनोरोगीलाई मात्र दिनुपर्छ भन्ने धारणालाई परिवर्तन गरि काउन्सिलिङ्ग पाएपछि कोही मनोरोगी बन्ने छैनन् भन्ने सकारात्मक सोचको विकास गरौं ।
-लेख वरिष्ठ मनोविद हुन्


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.