डिप्रेसनबारे खुलेर कुरा गरौं

 डिप्रेसनबारे खुलेर कुरा गरौं

.... तिमी आइनौ, तिमी आइनौ,
क्या बोर भयो ...।
हो, राजेन्द्र थापाका यी शब्दलाई योगेश्वर अमात्यले लेग्रो तानीतानी गजबसँग गाएका छन् । बोलीचालीकै भाषामा बोर लाग्नु, अल्छी लाग्नु, दिक्दारी लाग्नु पनि डिप्रेसनका सुरुवाती लक्षण हुन् । यी लक्षणहरू अत्यन्त सामान्य प्रकारको डिप्रेसनका हुन् । जसका लागि खासै उपचारको जरुरत पर्दैन । समयले आफैं निको पार्दछ । त्यसो भएर सबैजसो मानिस सामान्यदेखि कडा खालको डिप्रेसनबाट अछुतो छैनभन्दा हुन्छ । यो समस्याले दैनिक कामकाजमा असर गर्नेदेखि कतिपय अवस्थामा परिवारजन तथा साथीभाइसँगको सम्बन्धमा अकल्पनीय परिस्थिति आउन सक्छ ।

डिप्रेसनको समस्याबाट तुलनात्मक रूपमा महिला दोब्बर प्रताडित हुने भए पनि संसारका जुनसुकै देशका तथा सबै उमेरसमूहका मानिसलाई डिप्रेसन हुन सक्छ । विगतमा पनि डिप्रेसनको समस्याले कसैलाई छोडेको छैन । विश्वका एकसेएक राजनीतिज्ञ, लेखक, साहित्यकार (जस्तै अब्राहम लिंकन, भ्यान गग, भर्जिनिया उल्फ, अल्बर्ट कामु, अर्नेस्ट हेमिंग्वे आदि) का साथै नेपालमै पनि यस समस्याबाट पीडित भई अमूल्य जीवन गुमाउनेको कमी छैन।

त्यसो त विश्व स्वास्थ्य संगठनको परिभाषामै पनि मानसिक स्वस्थतालाई समेत निकै महत्वव दिएको छ । अहिले विश्वव्यापी ३० करोड मानिस बढ्ता लक्षणयुक्त डिप्रेसनबाट प्रभावित छन् । सन् २००४ कै तथ्यांकअनुसार रोग अथवा स्वास्थ्य समस्याको तगारोको हिसाबले डिप्रेसनलाई चौथो नम्बरमा राखिएको थियो । सन् २०३० सम्ममा यसले पहिलो स्थान ओगट्ने आकलन गरिएको छ । यसकारण पनि विश्व स्वास्थ्य संगठनले यसपटकको स्वास्थ्य दिवसमा ‘डिप्रेसनबारे खुलेर कुरा गरौं’ भन्ने नारा दिई डिप्रेसनको गाम्र्भीयता दर्शाउन खोजेको छ । यसै दिवसको अवसरमा यो समस्या रोकथाम गर्न सकिने एवं उपचार गर्न सम्भव छ भनेर बुझाउन खोजिएको छ । डिप्रेसनबाट प्रभावित व्यक्तिलाई यी दुई कुरामात्र बुझाउन सकिएमा स्वास्थ्य उपचार अनि स्वास्थ्य सेवा लिन आउनेको संख्यामा वृद्धि हुनेछ ।

डिप्रेसनको कारण

डिप्रेसन हुनुका आन्तरिक तथा बाह्य कारण हुन सक्छन् । आन्तरिक कारणमा व्यक्ति विशेषको मनको बनोट, विशिष्टता, उसको स्वभाव र कमजोरी नै हुन् । यी विशेषतालाई वंशाणुगत अनि पारिवारिक वातावारणले पनि मलजल गरिरहेको हुन्छ । शरीरभित्रै आन्तरिक कारणको खोजपड्तालका क्रममा प्रभावित व्यक्तिको मस्तिष्कमा निश्चित प्रकारको रासायानिक पदार्थ (हर्मोन) को घटबढ हुन जानाले डिप्रेसन हुन जान्छ भन्ने कुरा आधुनिक चिकित्सा विज्ञानले प्रमाणित गरेको छ ।

बाह्य कारणको हकमा आफ्नो दैनिक जीवनयापनको क्रममा असोचनीय घटना हुनु, निकै जटिल खालको संकट आइलाग्नु, व्यवसाय डुब्नु, नजिकको नातेदारको मृत्यु हुनु, जागिरबाट निकालिनु, चरम ऋणमा डुब्नु, सुत्केरी लगत्तैको घरेलु वातावरण प्रतिकूल हुनु । डिप्रेसन हुनुमा देशको राजनीतिक तथा आर्थिक अवस्था, प्राकृतिक दैवी प्रकोप, युद्धले पनि प्रत्यक्ष भूमिका निभाइरहेको हुन्छ । डिप्रेसनको समस्या विवाहितभन्दा अविवाहित, अविवाहितभन्दा विधुर र विधवा, रोजगारीभन्दा बेरोजगारी अनि रैथानेभन्दा आप्रवासी एवं शरणार्थीहरूमा बढी हुन्छ । विश्वयुद्धलगत्तै, गृहयद्ध, आर्थिक मन्दी अनि ठूल्ठूला प्राकृतिक विपत्तिलगत्तै विश्वका धेरै राष्ट्रमा डिप्रेसनका बिरामी ह्वात्तै बढेको पाइन्छ । नेपालमै पनि २०७२ को महाभूकम्पपछि प्रभावित जिल्लाका मानिसमा डिप्रेसनको समस्या निकै बढेको मनोरोग विशेषज्ञहरूको ठम्याइँ छ ।

 डिप्रेसनको समस्या विवाहितभन्दा अविवाहित, अविवाहितभन्दा विधुर र विधवा, रोजगारीभन्दा बेरोजगारी अनि रैथानेभन्दा आप्रवासी एवं शरणार्थीहरूमा बढी हुन्छ ।

डिप्रेसन रोगमात्र नभई मानिसको मनोभावनाको बृहत्तर प्रतिक्रियाको स्वरूप पनि हो । कतिपय व्यक्ति जतिसुकै जटिल एवं अप्रिय अवस्थामा पनि कत्ति विचलित हुँदैनन् । आफूलाई नियन्त्रण गरी जीवनप्रति आशावादी, भविष्यप्रति सकारात्मक सोच राख्दछन् । तर कतिपय व्यक्ति भने सामान्य स्वाभाविक अवस्थामा पनि चरम निराशा, बेचैनी, सुस्ती र तनावका लक्षणहरू अनुभव गर्दै डिप्रेसनबाट पीडित हुन्छन् । सबै मानसिक समस्या डिप्रेसन होइन । डिप्रेसन पनि विभिन्न रूपमा देखा पर्दछ । अधिकांशमा सामान्य लक्षण देखा पर्छन्, जुन दुई–तीन हप्ताभित्रै हराउँछन् । धेरैजसोलाई थाहा पनि हुँदैन र शंका गर्न सकिने अवस्था पनि हुँदैन । यसर्थ उपचारको जरुरत पर्दैन । तर कतिपयमा भने डिप्रेसनको समस्या महिनौं, वर्षौंसम्म रहन्छ । र, कसैकसैमा दोहोरिन्छ ।

डिप्रेसनका लक्षण

डर, त्रास, रिस, चिडचिडाहटपन, आन्तरिक तनाव, अत्यधिक सोचाइ वा विचारको शून्यता, अरूमाथि शंका उपशंका, असुरक्षाको अनुभूतिलगायतका मनोभाव खराबीहरू डिप्रेसनका लक्षण हुन् । सबैमा यी सबै लक्षण हुनुपर्दछ भन्ने जरुरी छैन । एकै व्यक्तिमा पनि फरकफरक समयमा फरक लक्षण चिन्हहरू देखा पर्न सक्छन् । माथि उल्लेखित मनोगत समस्याबाहेक कतिपय बिरामी वा प्रभावित व्यक्तिमा शारीरिक समस्या बढी मात्रामा देखिन्छ । जस्तै निद्रा नपर्नु, भोक नलाग्नु, शरीर दुब्लाउँदै जानु, कब्जियत हुनु, शिथिलताको अनुभूति हुनु, यौनेच्छा कमी हुनु, महिनावारी गडबडी हुनु, सास फेर्न गाह्रो हुनु, मुटुको धड्कन बढेजस्तो हुनु, जीउ दुख्नु, शरीर कमजोर महसुस हुनु आदि ।

तर यी शारीरिक लक्षणहरू अन्य रोगमा पनि देखिन सक्ने हुनाले डिप्रेसन नै हो भनेर निदान गर्नुपूर्व कतै अन्य समस्या त होइन वा केही गरी पनि प्रभावित व्यक्तिमा सुधार आएन भने मात्रै डिप्रेसन त होइन भनेर सोच्ने बानी गर्नुपर्दछ । कडा खाले डिप्रेसनमा मनसम्बन्धी लक्षणको बाहुल्य हुन्छ भने ऊ आफैंले पनि आफूलाई मानसिक समस्या छ भनेर ठम्याउन सक्छन् । त्यसैले पनि समयमै उपचारतर्फ लाग्छन् । डिप्रेसन र पागलपन फरक कुरा हुन् तर अत्यधिक डिप्रेसनले धेरै नै विरक्तता, हीनताबोध र आत्मग्लानी भाव छ भने आफू बेकम्मा भएको, आफ्नो कारणले परिवारमा समस्या थपिएको र आफूलाई पृथ्वीको भार सम्झिन बेर लाग्दैन । यस्ताखाले बिरामीले उपचार गराउन पनि चासो देखाउँदैनन् ।

डिप्रेसनको समस्या निकै गहिरिन थालेपछि सदैव उदास रहने, कुनै चिजप्रति इच्छा नदेखाउने अनि कुनै घटनाप्रति प्रतिक्रिया नजनाउने, कसैसित नबोल्ने, हिँडडुल नै नगर्ने, टोलाएर, झोक्राएर बस्ने गर्दछन् । पछि गएर मनभित्रै भावना, द्वन्द्वको उथलपुथल भई छटपटाउने, आत्तिने, कुद्ने, यताउति गरिरहने गर्दछन् । तर पछिल्ला दुई थरीका डिप्रेसनका बिरामीको संख्या भने निकै कम हुन्छन् । बहुसंख्यक डिप्रेसनका बिरामी सामान्य प्रकृतिकै हुन्छन् ।
डिप्रेसनको समस्याबाट छुटकारा पाउन मद्यपान, लागूपदार्थको सहारा लिनु गलत हो । सम्बन्धित विशेषज्ञ वा स्वास्थ्यकर्मीको सल्लाह परामर्शबमोजिम साइकोथेरापी र औषधिबाट नियन्त्रणमा ल्याउन तथा निको पार्न सकिन्छ । कडा खाले डिप्रेसनको बिरामीलाई औषधि उपचारको सुरुवातीतिर प्रत्यक्ष निगरानीमा राखी उपचार गर्नु पर्दछ । डिप्रेसनका बिरामीलाई निरन्तर परामर्शको जरुरत पर्दछ । समस्याबाट तगंरिँदै गएपछि कुनै आयमूलक व्यवसायमा संलग्न गराउन पाए उपचारको परिणाम दीर्घकालीन हुन्छ ।

प्रसवपछि डिप्रेसन

सुत्केरीपछि पनि डिप्रेसन हुन सक्छ । यस्तो समस्या सुत्केरी भएका महिलामध्ये करिब १० प्रतिशतलाई हुन्छ भन्ने अनुमान छ । प्रसवोत्तर डिप्रेसन भयो भने मन उदास हुन्छ, राम्रोसँग निद्रा लाग्दैन, बेलाबेलामा बिना कारण रुन मन लाग्छ, नवजात शिशुको स्वास्थ्य राम्रो छैन कि ? शिशुलाई केही हुन्छ कि ? भन्ने चिन्ता लाग्छ । बच्चाको राम्रो स्याहारसुसार गर्न सक्दिनँ कि ? वा बच्चालाई केही नराम्रो गर्छु कि ? भन्ने त्रास हुन्छ । डिप्रेसन भएपछि कुनै कुरामा पनि चाख लाग्दैन । हाँस्न, बोल्न, कुरा गर्न, बच्चाको स्याहार गर्न वा रमाइलो गर्न पनि मन लाग्दैन ।

डिप्रेसनमा हुने लक्षणहरू कमजोरीका कारण भएका होइनन् । मन उदास हुने, निद्रा नलाग्ने, खाना खान मन नलाग्ने, खुसी वा रमाइलो नलाग्ने र आफ्नो बच्चाको वा अरू कसैको माया नलाग्ने भएपछि बाँच्ने के का लागि ? भन्ने प्रश्न उठ्नु स्वाभाविकै हो । डिप्रेसन बढ्दै जाँदा बाँच्न मन लाग्दैन, मर्न पाए हुन्थ्यो भन्ने विचार बारम्बार आउँछ र हुँदाहुँदा आत्महत्या गरेर मर्ने विचार आउँछ ।

डिप्रेसन यस्तो रोग हो, जसले गर्दा मनमा नराम्रा विचार, नकारात्मक कुराहरूमात्र आउँछन् । राम्रा विचार मनमा ल्याउँछु भने पनि बिरामीले सक्दैन । अर्को समस्या के छ भने परिवारले यी लक्षणलाई सामान्य रूपले लिने गर्छन् । कमजोरी भएर होला, श्रीमानसँगै नभएर होला, छोरी पाएर होला, लागुभागु लागेर होला आदि भन्ने गरिन्छ । डिप्रेसनबारे सही चेतनाको अभावमा यस्तो भन्ने गरिएको हो ।

डिप्रेसन रोगको पहिचान भएन र रोग बढ्दै गयो भन्ने बिरामीले आत्महत्या गर्ने डर हुन्छ । कहिलेकाहीँ आत्महत्या गर्नुपूर्व बच्चालाई मारेर फालिदिने वा बच्चालाई काखमा लिएर नदी–तलाउमा हाम फाल्ने गरेका घटना हुन्छन् । नेपालमा महिलाले बढी आत्महत्या गर्ने कारणमध्ये सुत्केरीपछिको डिप्रेसन पनि हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.