बतासेको खुवाको माग धान्न धौधौ
गोटीखेल (ललितपुर) : पाँच वर्षअघि आफ्नै दुई माउ भैंसीको दूधबाट खुवा बनाउन सुरु गरेका महांकाल गाउँपालिका-४ बतासेका दीपक लामिछाने अहिले दैनिक ६५ धार्नी खुवा उत्पादन गर्छन् । दीपकको उद्योगमा तयारी खुवाको माग दिन दुई गुणा रात चार गुणाका दरले बढ्दै गयो । गाउँको साधारण घरमा पाँच वटा चुलोमा दाउराले पाएको खुवा हिजोआज उपत्यकाको मागलाई धान्न धौधौ परेको दीपकले बताए।
बतासेको एक झुप्रो घरमा लामिछाने खुवा पसल नाम दिएर उनले खुवा बनाउँदै आएका छन् । 'मिसावट हुँदैन, त्यसैले होला माग असाध्यै बढ्दो छ', खुवा बनाउँदै गरेका मजदुर रामकुमार तामाङले भने । पाँच वटा चुलोमा आगो दन्काएर असिनपसिन भई खुवा चलाउन व्यस्त तामाङले हतारिँदै भने, 'सात सय २० रुपैयाँको दूधले एक धार्नी खुवा बन्ने गर्छ त्यसका लागि ७० रुपैयाँको दाउरा लाग्छ ।' लामिछानेले एक धार्नी खुवा एक पाँच सय रुपैयाँमा घरमै बिक्री गर्छन् । एक धार्नी खुवामा दुई सय रुपैयाँ बच्छ, खर्च कटाएर एक सय रुपैयाँसम्म नाफा हुने उनले बताए । ललितपुरकै अतिविकट गाउँ मानिने बतासेमा व्यावसायिक बन्ने किसानमध्ये उनी एक भएको स्थानीयले प्रशंसा गरे ।
दीपक लामिछानेले आफ्नो भैंसीले दूध नपुगेपछि भैटोर, अलउ र बतासे गाउँका अन्य स्थानबाट दूध संकलन गरी उद्योगलाई विस्तार गर्दै आएको छ । काठमाडां, भक्तपुर, ललितपुर र काभ्रेमा बजारमा खुवा पुर्याउँदै आएको बताए । गाउँको भैंसीबाट दुहिएको पानी नमिसाइएको दूधमा बनेको खुवा भएकाले मीठो हुने र माग बढेको उनले बताए ।
बजारमा पाइने मिसावट खुवाभन्दा फरक स्वाद यहाँको खुवाको विषेशता भएको इलाका वन कार्यालय कोठीखेलका सहायक वन अधिकृत चूडामणि खतिवडाले बताए । खुवा उद्योगी लामिछानेले आफ्नो सीप र लगानीले खुवा उद्योग सञ्चालन गर्दै आएको समेत उनले बताए ।