बालिकालाई यौन शोषण गरेको आरोपमा शिक्षक पक्राउ
महोत्तरीः स्कूल पढ्ने बालिकालाई लपाईफकाई यौन शोषण गर्ने गरेको आरोपमा प्रहरीले महोत्तरीको गौशालाबाट एक शिक्षकलाई मंगलबार पक्राउ गरेको छ । गौशाला नगरपालिका-५ स्थित जनता माध्यमिक विद्यालयका अंग्रेजी बिषयका ३८ बर्षीय शिक्षक रामदुलार साह सोनारलाई बालिकालाई यौन शोषण गरेको आरोपमा इलाका प्रहरी कार्यालय गौशालाले पक्राउ गरेको हो ।
बर्दिबास नगरपालिका- ३ घर भएका शिक्षक साह विद्यालय नजिकै डेरा गरेर बस्दै आएका छन् । मंगलबार बेलुका सवा ४ बजेको समयमा कोठाको चुकुल लगाएको अवस्थामा १६ बर्षीय बालिकासंगै शिक्षकलाई प्रहरी टोलीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरिक्षक शम्भू पोखरेलले बताए।
एसइई परीक्षा दिई बसेकी छात्रा शिक्षक साह पढाउने स्कूलको विद्यार्थी हुन् । अगाडीको पढाईको तयारीको लागि शिक्षक साहको कोठामा बालिका गएकी थिइन्।
बालिकालाई यौन शोषण गर्ने गरेको प्रहरीमा उजुरी परेको प्रहरीले जनाएको छ । उजुरीको आधारमा प्रहरी निरीक्षक पोखरेलको कमाण्डमा गएको प्रहरी टोलीले शिक्षकलाई पक्राउ गरेको हो । मेडिकल जाँचको लागि शिक्षक र बालिकालाई प्रहरी जिल्ला अस्पताल जलेश्वर पठाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।