महासंघ निर्वाचनः सहमति प्रयास विफल

महासंघ निर्वाचनः सहमति प्रयास विफल

काठमाडौः नेपाल उद्योग वाणिज्य महासंघमा सर्वसम्मत नेतृत्व चयनका लागि गरिएको प्रयास विफल भएको छ । महासंघ अध्यक्ष पशुपति मुरारकाले बुधबार सर्वसम्मत नेतृत्वका लागि प्रयास गरेका थिए । वरिष्ठ उपाध्यक्षका प्रत्यासी शेखर गोल्छा र किशोर प्रधान प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । उनले दुवै समूहलाई बोलाएर सहमति प्रयास गरेका थिए ।

महासंघ सचिवालयमा भएको छलफलमा गोल्छा र प्रधानसहित उपाध्यक्ष र केन्द्रीय सदस्यका उम्मेदवार सहभागी थिए । करिब १५ मिनेटसम्म चलेको छलफल सहमतिमा नपुगी टुंगिएको हो । प्रधानले सहमतिका लागि समय गुज्रिसकेको प्रतिक्रिया दिएका थिए । अन्तिम समयमा सहमति खोज्नु औचित्यहीन भएको उनको भनाइ छ ।

महासंघमा स्वतः अध्यक्ष बन्ने भवानी राणा एउटा पक्षको प्रचारमा हिँडेको भन्दै प्रधान समूह रुष्ट बनेको छ । छलफलमा प्रधानले अध्यक्ष मुरारकालाई एउटा पक्ष समाएर प्रचार गरिदिँदै हिँडेको आरोप लगाएका थिए । मुरारका र राणा बुटवल र काठमाडौंमा आयोजित गोल्छा प्यानलको चुनावी घोषणा सभामा सहभागी थिए । राणाले मंगलबार काठमाडौंमा गोल्छा नेतृत्वको प्यानल घोषणा गरेकी थिइन् ।

प्रधानले सहमतिका लागि धेरै ढिलो भएको बताएका छन् । एउटा पक्षलाई खुलेर भोट मागिरहेका अध्यक्ष मुरारकाले हामीलाई चुनावी मैदान छोड भन्न छलफलमा बोलाएको उनको आरोप छ । अध्यक्ष मुरारकाले मंगलबार प्रधानलाई फोन गरेर सहमतिको प्रयासका लागि छलफलमा आउन आग्रह गरेका थिए । महासंघको हितका लागि सहमत खोजेको मुरारकाको भनाइ छ ।

आचासंहिता मिचेको दाबी

महासंघका अध्यक्ष मुरारका र वरिष्ठ उपाध्यक्ष राणाले एउटा पक्षको प्रचार गरेकामा प्रधान समूहले आपत्ति जनाएको छ । राजधानीमा बुधबार पत्रकार सम्मेलन गरी वर्तमान अध्यक्ष र भावी अध्यक्षले निर्वाचन आचारसंहिता विपरीत आचरण देखाएको भन्दै प्रधान समूहले आपत्ति जनाएको हो ।

महासंघका जिम्मेवार पदाधिकारीले एउटा पक्षलाई ‘मेरो टिम' भन्दै भोट मागेर हिँड्नु संस्थाको विधान र आचारसंहिता विपरीत कार्य भएको प्रधान समूहले आरोप लगाएको छ । यस्तो कार्यले महासंघको गरिमा र मर्यादाउपर गम्भीर आँच पुर्‍याएको प्रधान समूहले बतायो ।

प्रधान समूहले मुरारका र राणाले गोल्छा समूहको पक्षमा भोट मागेर मतदातालाई प्रभावित पार्ने प्रयास गर्दै हिँडेको आरोप लगाएको छ । गोल्छा समूहको हकहित हुने गरी विभिन्न संस्थागत निर्णय एक पक्षीय ढंगबाट गरिएका, आचारसंहिता र संस्थाको विधान विपरित भएका कामप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रधान समूहले आपत्ति जनाएको छ ।

 शेखर गोल्छा र किशोर प्रधान प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । महासंघका अध्यक्ष पशुपति मुरारकाले दुवै समूहलाई बोलाएर सहमति प्रयास गरेका थिए ।

‘महासंघको निर्वाचनलाई स्वच्छ र सरल बनाउने उद्देश्य राखी गरिएको विधान संशोधनका प्रावधानलाई महासंघको नेतृत्वमा आफ्नो कब्जा जमाउने र आफ्नो नियन्त्रणमा चल्ने व्यक्तिलाई पुर्‍याउने वदनियतपूर्ण प्रयास गरिँदा महासंघको गरिमामा आँच पुग्ने र संस्था कमजोर हुनेछ', प्रधान समूहले जारी गरेको विज्ञप्तिमा भनिएको छ । डर, धाक, धम्की, लोभ लालचका जोडवलमा महासंघका सदस्यको मत आफूतिर तान्न प्रयत्न भइरहेको प्रधान समूहले दाबी गरेको छ ।

प्रधान समूहले महासंघको निर्वाचनमा वर्तमान अध्यक्ष र विधानत स्वतः बन्न लागेकी अध्यक्षले निर्वाचनमा एउटाको पक्षमा लाग्नु अमर्यादित, अशोभनिय र महासंघको आचारसंहिता विरुद्ध भएको दाबी गरेको छ ।‘वर्तमान तथा आगामी नेतृत्व सबैको साझा हुनुपर्ने हो कि होइन ? ' प्रधान समूहको प्रश्न छ, ‘एउटा पक्षलाई ‘मेरो गुट' भन्ने समूहको पराजयको अवस्थामा उहाँ (आगामी अध्यक्ष राणा) नेतृत्वको भविष्य कस्तो हुनेछ ? ' प्रधान समूहले महासंघको नेतृत्व उद्योगी÷व्यवसायीले निर्वाचन प्रक्रियाबाट चयन गर्ने कि वर्तमान नेतृत्वले मनोनयन गर्ने भन्ने प्रश्न उठाएको छ । महासंघको नेतृत्वले व्यवसायीको भावना, विद्यान, आचारसंहिताको पालना गर्ने कि नगर्ने ? भन्दै प्रधान समूहले मुरारका र राणाप्रति आधा दर्जन प्रश्न उठाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.