पूर्वकुमारीहरूद्वारा भत्ता बढाउन माग
भक्तपुरः तलेजु भवानीको प्रतीक मानिने जीवित देवी एकान्त कुमारी बनेका भक्तपुरका पूर्वकुमारीहरूले आफूहरूको निवृत्तिभरण भत्ता बढाउन माग गरेका छन् । उनीहरूले कौशीतोषाखाना कार्यालयअन्तर्गतको निवृत्तिभरण व्यवस्थापन कार्यालयले प्रस्ताव गरेअनुसारको निवृत्तिभरण उपलब्ध गराउन माग गरेका हुन् ।
कार्यालयले पूर्वकुमारीलाई प्रतिमहिना ६ हजार र बहालवाला कुमारीलाई प्रतिमहिना १० हजार रुपैयाँ दिन सरकारसमक्ष प्रस्ताव गरेको छ । पूर्वकुमारीहरूले हाल मासिक एक हजार रुपैयाँ निवृत्तिभरण भत्ता पाउँदै आएका छन् । बहालवालाले भने दुई हजार दुई सय रुपैयाँ पाएका छन् । उक्त रकम ०५८ सालमा बढेको हो । तर, त्यसपछि आफूहरूको भत्ता नबढेको भन्दै उनीहरूले निवृत्तिभरण भत्ता वृद्धि गर्न पटकपटक माग गर्दै आएका छन् ।
उक्त रकम आफूहरूको दैनिक आवश्यकता पूर्ति गर्न अपुग भएको भन्दै पूर्वकुमारीहरूले भक्तपुर तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीमार्फत सरकारसमक्ष उक्त माग गर्दै आएका छन् ।
मूल नाइके जोशीका अनुसार पूर्वकुमारीहरूले कौशीतोषाखाना कार्यालयले प्रस्ताव गरेअनुसार नपाए पनि ज्येष्ठ नागरिकलगायतलाई दिइने सामाजिक सुरक्षा भत्ताबराबर भए पनि निवृत्तिभरण भत्ता उपलब्ध गराउन माग गरेका छन्। उनले पूर्वकुमारीहरूको मागबारे कौशीतोषाखानाको पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको दुःखेसो पोखे । ‘करिब चार÷पाँच वर्षदेखि पूर्वकुमारीहरूको मागबारे कौशीतोषाखाना कार्यालयमा ध्यानाकर्षण गर्दै आएको छु', मूल नाइके जोशीले भने, ‘बल्ल चालु आवमा कार्यालयले भत्ता बढाउन प्रस्ताव गरेको छ । तर, वर्ष दिन बित्न लागिसक्यो प्रस्ताव पास हुन सकेको छैन ।'
भक्तपुरका ६ जना पूर्वकुमारी जीवित छन् । जसमध्ये ०४१ सालपछि कुमारी भएकाहरूले मात्रै निवृत्तिभरण भत्ता पाउँदै आएका छन् । मूल नाइके जोशीका अनुसार ०४१ सालपछि कुमारी बनेकाहरूको रेकर्ड उपलब्ध छ । जसमध्ये गीता बज्राचार्य, पद्म सुमना शाक्य, नीलम बज्राचार्य, सजनी शाक्य, श्रीया बज्राचार्य र जुनिषा बज्राचार्य छन् । हाल जीविका बज्राचार्य कुमारी छिन् । २ वर्षअघि कुमारी बनेकी जीविकाले ११ वर्ष भएपछि वा बेलविवाह भएपछि कुन पहिले हुन्छ त्यसका आधारमा कुमारीबाट अवकाश पाउनेछिन् ।
कुमारी बनेकी बालिकाले कुमारी बनेको अवधिभर कुखुराको मासु र अन्डा खान नहुने प्रचलन रहेको मूल नाइके जोशी बताउँछन् । त्यस्तै, अरूको जुठो खान नहुने प्रचलन पनि छ । ‘कुमारी घरमा भक्तजन आएका बेलाबाहेक अन्य बेला स्कुल जान पाउँछिन्', मूल नाइके जोशी थप्छन्, ‘दसैंमा भने करिब २० दिन कुमारी आगमछेंमै बस्नुपर्छ ।'
इतिहासविद्का अनुसार भक्तपुरमा नेपाल संवत् ६११ मा राय मल्लले कुमारी पुज्ने चलन चलाएका हुन् । भक्तपुरको बज्राचार्य तथा शाक्य वंशीय कन्या मात्र एकान्त कुमारी हुनुपर्ने प्रावधान छ । कुमारी हुने सुकन्या सबै गुणले युक्त, कुनै दाग, घाउ, चोटपटक नभएको, अपांगता नभएको हुनुपर्ने प्रचलन छ ।