रामको ससुरालीमा खल्लो रामनवमी
जनकपुरधामः मर्यादा पुरुषोत्तम भगवान् श्रीरामको ससुराली जनकपुरमा यस वर्ष रामनवमी खासै उल्लासमय भएको देखिएन । सीताको माइतीमा भगवान् रामको पनि बर्सौं पुरानो प्रसिद्ध राम मन्दिर छ । तर पाँच वर्षदेखि जीर्ण बनेको उक्त मन्दिरको जगमोहन निर्माण कार्य गत महिनादेखि मात्र सुरु भएकाले जन्मोत्सव मनाउन श्रद्धालुलाई समस्या भएको हो ।
धर्मग्रन्थहरूमा उल्लेख भएअनुसार चतुर्भुज महाराजले स्थापना गर्दा परालको छानो रहेको राम मन्दिरलाई मकवानपुरका तत्कालीन राजा मान सिंहले १११४ सालमा स्थापना गरेका थिए । जनकपुर आएको बेला अमरसिंह थापाले राम मन्दिमा स्वर्णमण्डपको निर्माण गरेको इतिहास छ । मन्दिरमा सुनको जलप चढाइएकाले यसलाई स्वर्णमण्डप नाम दिइएको हो । तर पछिल्लो समय राम मन्दिर सरकारी उपेक्षाका कारण जीर्ण अवस्थामा पुगेको हो ।
मन्दिर धेरै पुरानो भएपछि पाँच वर्षअघि मूल मन्दिरको मर्मतसम्भार गरिएको थियो । तर सोही बेला जगमोहनलाई तोडेर नयाँ निर्माण गर्ने भनिए पनि त्यो काम समयमै सुरु भएन । बजेट अभावका कारण मन्दिरको जीर्णोद्धारमा बढी समय लागेको गुठी संस्थानका कर्मचारीहरूको भनाइ छ । सयौं बिगाहा जग्गा रहेको राम मन्दिर गुठी संस्थानको स्वामित्वमा गइसकेपछि आर्थिक रूपमा संकटमा परेको छ । हाल मन्दिर पुनर्निर्माणमा ६९ लाख रुपैयाँको लागत गरिएको छ ।
पुरातत्वव विभागले दिएको डिजाइनअनुसार काठमा कोरिएको बुट्टाले अति आकर्षक रूपमा मन्दिर निर्माण अघि बढाइएको छ । मन्दिरमा निर्माण कार्य भइरहेकाले श्रद्धालुलाई पूजापाठ गर्नसमेत कठिनाइ भएको छ । मन्दिरमा लामो समयदेखि रङरोगन र जीर्णोद्धारको काम हुन नसक्दा मन्दिरप्रतिको आकर्षण घटेको हो । तर पुरातात्विवक विभागसँग समन्वय गरेर मन्दिर जीर्णोद्धारका लागि गुरुयोजना बनाउने काम भइरहेको गुठी संस्थानका कर्मचारीहरूले बताए ।
रामनवमीका दिन लाखौं श्रद्धालु जनकपुर आउँथे । तर मेलाको व्यवस्थापन राम्ररी हुन नसक्दा श्रद्धालुहरूको संख्या पातलिँदै गएको हो ।
विगतमा रामनवमीको अवसरमा लाखौं श्रद्धालु जनकपुर आउँथे । तर बिस्तारै मेलाको व्यवस्थापन राम्ररी हुन नसक्दा श्रद्धालुहरूको संख्या पातलिँदै गएको हो । रामनवमीमा भारतबाट आउने गरेको रामलीला मण्डली पनि मधेस आन्दोलनपछि आउन छाडेको स्थानीय बताउँछन् । स्थानीयस्तरमा श्रद्धालुलाई आकर्षित गर्ने मेलाको समेत राम्रो व्यवस्थापन हुन नसक्दा रामनवमी मेलाको उत्साह कम हुँदै गएको राम मन्दिरका महन्थ राम गिरीको भनाइ छ ।
रामनवमीको अवसरमा राम मन्दिरमा विशेष पूजापाठ हुने गर्छ । गुठी संस्थानले यस अवसरमा देशविदेशबाट आउने साधुसन्तलाई भोजन एवं आवासको व्यवस्था मिलाउने गिरीले बताए । मिथिला परम्पराअनुसार साधुसन्तलाई पद र मर्यादाअनुसार गुठीले वस्त्रसहित दक्षिणासमेत दिने गरिएको उनले जानकारी दिए ।