कुपोषित खेलाडीहरू
विगत केही वर्षयता नेपालले अन्तर्राष्ट्रिय खेलजगत्मा आफ्नो सम्मानित उपस्थिति स्थापित गर्न सफल भएको छ । त्यस्ता प्रतिस्पर्धामा विजय हासिल गरेर अथवा उत्कृष्ट खेल प्रदर्शन गरी मुलुकको सम्मान वृद्धि गरेका छन् खेलाडीहरूले । ती नतिजापछि मुलुकले दिएको अनेकौं स्वागतले उनीहरूलाई ‘हिरो’ को रूपमा प्रस्तुत गरेको छ । नेपालले खेलजगत्मा यो सम्मानजनक फड्को मार्नमा पञ्चायतकालमा भएका प्रयासहरू र खासगरी यो क्षेत्रमा शरदचन्द्र शाहको ‘भिजन' निकै हदसम्म जिम्मेवार मानिन्छ । तर त्यो ‘भिजन’ ले निरन्तरता पाए पनि खेलजगत्को सम्भाव्यतामाथि दलीय स्वार्थ र भ्रष्टाचारको ग्रहण लागेको छ ।
खेल र खेलाडीहरूमाथि हुनुपर्ने लगानी अन्य मुलुकको दाँजोमा एकदमै न्यून छ । यता आएर जकार्तामा हुने एसियाली खेलकुद र सन् २०१९ मा नेपालले नै आयोजना गर्न लागेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि प्रशिक्षण लिँदै गरेका प्रशिक्षार्थीहरू पर्याप्त सुविधा र पोषणयुक्त खाद्य वस्तुको अभावमा हतोत्साहित छन् ।
राजधानी बाहिरबाट आएका प्रशिक्षार्थीहरूले दिनहुँ छ सय रुपैयाँ र भित्रकाले तीन सय रुपैयाँ पाउने व्यवस्थाले गर्दा त्यो रकम खेलाडीको आवश्यकताअनुरूप ‘पोषणयुक्त आहार’ का लागि पर्याप्त छैन भन्ने सबैको बुझाइ छ । चालू आर्थिक वर्षमा राष्ट्रिय टिम तयारीका लागि तीन करोड ९१ लाख विनियोजन गरिए पनि त्यसको योजनावद्ध वितरण हुन सकेको छैन । राजधानीमा मात्र यस्ता प्रशिक्षणको सुविधा भएकोले सम्भावित भावी खेलाडीहरू काठमाडौं नै आउँछन् । काठमाडौंमा घर भाडा, यातायात र अन्य महंगीले गर्दा छ सय रुपैयाँ पर्याप्त हुँदैन ।
आवश्यक रकम र सुविधा प्रदान नगरिँदा र प्रशिक्षार्थीलाई पोषणयुक्त आहारबाट समेत वञ्चित गरिँदा खेलमा उनीहरू कति प्रेरित होलान् र मुलुकका लागि अपेक्षित सम्मान ल्याउन उनीहरू सफल होलान् र ? अहिले प्रशिक्षार्थीप्रतिको उदासीनताले भोलिको नतिजा र नेपालले हासिल गर्ने सफलतालाई प्रतिकूल रूपमा प्रभावित गर्ने तथ्यलाई अहिलेबाटै गम्भीरताका साथ लिनु आवश्यक छ ।
त्यति मात्र हैन, प्रशिक्षार्थीहरूप्रति राज्य तथा राष्ट्रिय खेलकुद परिषद्ले देखाएको उपेक्षाले भविष्यका सम्भावित खेलाडीलाई पनि निरुत्साहित गर्नेछ र दीर्घकालसम्मका लागि खेलजगतके सम्भाव्यतामा ह्रास आउने छ । खेलजगत् र प्रशिक्षणलाई राज्यले सम्मानका साथ हेरेन भने खेलजगत्बाट राष्ट्रले सम्मान पाउने छैन । कुपोषित खेलाडीबाट चमत्कारको त कुरै छोडौं सामान्य ‘उपलब्धि' समेत अपेक्षा गर्नु जायज हुने छैन ।