युवाकै चर्चा बढी
सन्धिखर्कः स्थानीय निर्वाचनका विभिन्न पदमा उम्मेदवार बन्न सबै पार्टीबाट युवाले आकांक्षा देखाएका छन् । जनसंख्याको हिसाबले सन्धिखर्क ठूलो नगरपालिका हो । यो नगरपालिकामा कांग्रेसका तर्फबाट कमलप्रसाद भुसाल, हरिबहादुर खडका, विनोद आचार्य, हुमप्रसाद बन्जाडे र राधा आचार्य मेयर तथा उपमेयरका उम्मेदवार हुनसक्ने नाम चर्चामा छन् । मेयरमा कमलप्रसाद भुसाल नै उठ्ने चर्चा चलेको छ । कांग्रेस जिल्ला कार्य समितिको सभापति भइसकेका भुसाल जनतामा भिजेका लोकप्रिय नेता भएकाले उनैले टिकट पाउने र निर्वाचन पनि जित्न सजिलो हुने कांग्रेस नेताहरू बताउँछन् ।
एमालेबाट कृष्णप्रसाद श्रेष्ठ, खुबिराम आचार्य, सिद्धिप्रसाद भुसाल , भरत पौडेलको नाम चर्चामा छ । नेकपा माओवादीबाट ठाकुर बिक , रामबहादुर रायमाझी र केबी भुसाल उम्मेदवार हुने चर्चा छ । २०७० सालको परिणाम अनुसार सन्धिखर्कमा एमाले बलियो भए पनि सात गाविस मिलेर बनेको सन्धिखर्क नगरपालिकामा कांग्रेसका मतदाता बढी छन् । कांग्रेस, एमाले र माओवादी छुट्टाछुट्टै लडेमा कांग्रेसको मत बढी आउन सक्छ । तर यी तीनबीचमा कांग्रेस र माओवादी वा एमाले र माओवादीको तालमेल हुनसक्ने चर्चा चलेको छ ।
जिल्लाको अर्को नगरपालिका सितगंगा हो । यहाँ कांग्रेसको तर्फबाट सूर्य अधिकारी, छविलाल पौडेल, माधव पौडेल र नारायण सिंह बेल्बासे मुख्य दाबेदारका रूपमा देखा परेका छन् । त्यस्तै वसन्त श्रेष्ठ र पीताम्बर सारु एमालेको तर्फबाट उम्मेदवारको रूपमा देखापरेका छन् । माओवादीबाट दिनेश गैरे, भीम केसी र टिका रेस्मीको नाम चर्चामा छ । यो नगरपालिकामा कांग्रेस–एमालेकै प्रतिस्पर्धा हुने छ । समग्रमा चाहिँ कांग्रेस तुलनात्मक रूपमा राम्रो भएको अनुमान गरिएको छ । यो नगरपालिका पनि सातवटा साबिकका गाविस मिलेर बनेको हो ।
अर्को नगरपालिका भूमिकास्थन हो । यहाँ कांग्रेसबाट खडानन्द बेल्वासे, प्रेम बेल्वासे र गोपाल घिमिरे र धनीश्वर खनालको नाम चर्चामा छ । एमालेबाट पीताम्बर भुसाल, प्रेम गैरे र पवित्रा पौडेलको नाम चर्चामा छ । प्रेमनारायण गैरे लोकप्रिय युवा नेता हुन् । माओवादीबाट छमकुमारी खनाल र बालकृष्ण बन्जाडे र रेशम थापाको चर्चा गरिन्छ । छमकुमारी र रेशम युवा हुन् । त्यस्तै जनमोर्चाबाट सागर केसी, झविलाल थापा र कविराम खनालको नाम चर्चामा छ । कविराम मसालनिकट युवाको अध्यक्ष हुन् । यो नगरपालिकामा एमालेलाई बलियो शक्ति मानिन्छ । तर कांग्रेस, माओवादी र जनमोर्चाको प्रतिस्पर्धा हुनेछ ।
पाणिनी गाउँपालिकामा नेपाली कांग्रेसबाट युवा नेताहरु इन्द्रमणि पौडेल, र अच्युत गौतम दुइ जना युवा आकांक्षी छन् । एमालेबाट रामजी घिमिरे र जीवनारायण कोइरालाको नाम चर्चामा छ । छत्रदेव गाउँपालिकामा कांग्रेसका तर्फबाट दाबेदार सबै युवा छन् । लेखनाथ पोख्रेल, विष्णु भुसाल, केशव श्रेष्ठ, मिरा पाण्डे र अनिता ज्ञवालीको नाम चर्चामा छ । एमालेबाट ऋषिराम अधिकारी, ध्रुव पाण्डेलगायतका नेताको नाम चर्चामा छ ।
दुई नगरपालिकामा कांग्रेसलाई बलियो मानिएको भए पनि २०७० सालको निर्वाचनमा माओवादी र एमालेका उम्मेदवार विजयी भएका थिए । माओवादीका टोपबहादुर रायमाझी र एमालेका दुमनसिंह थापा विजयी भएका हुन् । कांग्रेस नेतृ पुष्पा भुसालचाहिँ झिनो मत अन्तरले पराजित भएकी थिइन् ।