टिकटका लागि रस्साकस्सी तीव्र

टिकटका लागि रस्साकस्सी तीव्र

बागलुङः स्थानीय तहको निर्वाचन मिति नजिकिँदै जाँदा बागलुङका सहरदेखि गाउँगाउँसम्म टिकटका लागि आन्तरिक प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । आगामी वैशाख ३१ गतेका लागि घोषित चुनावमा नगरपालिकामा मेयरदेखि वडा अध्यक्ष बन्ने टिकटका लागि दौडधुप सुरु भएको छ । गाउँपालिकाको वडा अध्यक्ष र सदस्यका आकांक्षीहरू जिल्लाका नेतासँगको भेटघाट र लविङमा व्यस्त छन् भने नगरपालिकाका मेयर, उपमेयरका आकांक्षीहरू प्रदेश र राजधानी धाउन थालेका छन् । कतिपयले सामाजिक सञ्जालमार्फत उम्मेदवारीसमेत घोषणा गरिसकेका छन् ।

बागलुङमा चार नगरपालिका र ६ गाउँपालिका छन् जसमा ८४ वटा वडा छन् । एउटा वडामा ५ जना उम्मेदवार उठाउँदा ४ सय २० जना, प्रमुख र उपप्रमुख २० गर्दा ४ सय ४० जना एउटा दलबाट उम्मेदवार बन्दैछन् । अहिले जिल्लाभरमा एउटा पार्टीमा मात्रै १२ सयभन्दा बढी आकांक्षी देखिएको नेताहरूले बताएका छन् । ‘एउटा वडामा अध्यक्ष र सदस्यका लागि ३ जनाभन्दा बढी आकांक्षी देखिएका छन्', राजनीतिशास्त्रका प्राध्यापक डिल्लीराज गौतमले भने, ‘दलित र महिला सदस्यमा उम्मेदवारका लागि तुलनात्मक रूपमा कम प्रतिस्पर्धाको संकेत देखिएको छ, अन्यमा सबै मुख्य पार्टीमा तीव्र कसरत देखिएको छ ।'

चुनाव घोषणा भएपछि जिल्ला तहका अधिकांश नेताहरू चुनावी अभियान, भेलालगायतका कार्यक्रम तय गरेर गाउँ पसेका छन् । दलीय गतिविधि बढ्दै गएपछि गाउँघरमा पनि स्थानीय तहको चुनाव हुनेमा नागरिक विश्वस्त बन्न थालेका छन् । करिब दुई दशकसम्म जनप्रतिनिधिविहीन भएको स्थानीय तहको चुनावले नयाँ नेतृत्व विकास हुने, गाउँ नगरको विकासले गति लिने, सार्वजनिक सेवा प्रवाह सहज तथा प्रभावकारी बन्ने, संविधानको कार्यान्वयन सहज हुने र भागबन्डाको राजनीति अन्त्य हुने सर्वसाधारणको अपेक्षा छ ।

निर्वाचनका लागि विशेष गरी जिल्लामा क्रियाशील कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र राप्रपामा उम्मेदवारका लागि बढी रस्साकस्सी छ । स्थानीय तहको निर्वाचनले लोकतन्त्रलाई दिगो रूपमा संस्थागत, संविधानको कार्यान्वयन गर्न ठूलो महत्वव राख्ने भएकाले नेता, कार्यकर्तादेखि आमनागरिकको उत्साह र चासो देखिनु स्वभाविक भएको नागरिक समाजका संयोजक काजीगाउँले श्रेष्ठले बताए ।

बागलुङमा ७३ हजार ९ सय ६३ पुरुष र ८२ हजार ८ सय ३९ महिला गरी कुल १ लाख ५६ हजार ८ सय २ मतदाता निर्वाचनमा सहभागी हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनमा २०७३ फागुन ९ गतेसम्म विवरण दर्ता गराएका १८ वर्ष उमेर पूरा गरेका मतदाताले मात्र मतदान गर्न पाउने गरी अन्तिम मतदाता नामावली आएको जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र पौडेलले बताए । संविधानसभा सदस्य निर्वाचनमा बागलुङमा ९२ वटा मतदान स्थल र १ सय ८८ वटा मतदान केन्द्र राखिएकोमा ११ वटा मतदान स्थल थप गरेर १ सय ३ मतदान स्थल कायम गरिएको कार्यालयले जनाएको छ ।

जिल्लामा स्थानीय तहको चुनावका लागि जिल्ला निर्वाचन कार्यालयमा १४ दल दर्ता छन् । कार्यालयका अनुसार संघीय समाजवादी फोरम नेपाल, नेपाल कम्न्युनिस्ट पार्टी माले, नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा, नेपाल कम्न्युनिस्ट पार्टी एमाले, राष्ट्रिय शिवसेना, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल कम्न्युनिस्ट माओवादी केन्द्र, नेपाल पूर्वराष्ट्र सेवक लोकतान्त्रिक सेवा, नेपाल दलित पार्टी, युनाइटेड ग्रिन अर्गनाइजेसन र अखण्ड नेपाल पार्टी दर्ता छन् ।

यसैबीच निर्वाचन आयोगले बागलुङका १० वटा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । बागलुङ जिल्ला अदालतका जिल्ला न्यायाधीश हिमलाल बेल्बासेलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.