‘राजनीतिक स्वार्थ त्यागेर विकास निर्माणमा लागौं'
गाईघाटः राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक स्वार्थभन्दा माथि उठ्न सके विकास निर्माणले चाँडै गति लिने बताएकी छिन् । उदयपुरको त्रियुगा नदी कटान क्षेत्रको अवलोकनका क्रममा बुधबार पूर्वीक्षेत्र चौदण्डीगढी नगरपालिका ५ शिवाई आइपुगेकी राष्ट्रपति भण्डारीले विकास निर्माणमा दलगत स्वार्थ त्यागेर अगाडि बढ्न आग्रह गरिन् ।
विकास निर्माणका लागि सधैं अन्य मुलुकमा निर्भर रहनुभन्दा पनि स्वदेशकै स्रोतसाधनको अधिकतम उपयोग गर्न सके मुलुक समृद्ध हुने उनको भनाइ छ । स्वदेशी स्रोतसाधन अपुग भए मात्र अन्य मुलुकसँग सहयोगको हात फैलाउनुपर्ने उनले बताइन् । अल्पकालीन एवं दीर्घकालीन योजना बनाई विकास निर्माणका काम गर्न सके मुलुक समृद्धिको बाटोमा अघि बढ्ने र युवालाई पनि स्वरोजगार बनाउन सकिने उनको भनाइ छ । उदयपुरको त्रियुगा नदीले कटान गरेको क्षेत्रको अवलोकनपछि आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले नदी नियन्त्रणका लागि आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिन् ।
जलउत्पन्न प्रकोप तथा नदी नियन्त्रण डिभिजन कार्यालयले पेस गरेको ७ अर्ब रुपैयाँको डीपीआर अध्ययन गरी सहयोग गर्ने उनले बताइन् । कार्यक्रममा नदीले स्थानीयबासीमा पारेको समस्याबारे सांसद डा. नारायण खड्का, मन्जु चौधरी, प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली, जलउत्पन्नका डिभिजन प्रमुख रामनरेश मण्डल र स्थानीय पेमुका चौधरीले जानकारी दिएका थिए ।
अल्पकालीन एवं दीर्घकालीन योजना बनाई विकास निर्माणका काममा लाग्न सके मुलुक समृद्धिको बाटोमा अघि बढ्छ । युवालाई पनि स्वरोजगार बनाउन सकिन्छ ।राष्ट्रपति, विद्यादेवी भण्डारी
जिल्लाको समस्याका रूपमा रहेको त्रियुगा नदी नियन्त्रणलाई आवश्यक सहयोग गरिदिन उनीहरूको आग्रह छ । उनीहरूले चुरे दोहन र वन विनाश नै नदी कटान र डुबानको प्रमुख समस्या रहेकाले चुरे संरक्षणमा जोड दिए । कार्यक्रमममा डिभिजन प्रमुख मण्डलले ५ मिटर चौडाइसहितको ४२ किलोमिटर लम्बाइको दुईतर्फी तटबन्धन बनाउन सात अर्ब रुपैयाँको डीपीआर बनाई पेस गरिएको बताए ।
क्षतिपूर्ति नपाएकोमा ध्यानकर्षण
धरानः राष्ट्रपति विद्यादेवी भण्डारीले सप्तकोसी नदीबाट घरवारविहीन भएका पीडित परिवारले हालसम्म कुनै राहत एवं क्षतिपूर्ति नपाएको गुनासोप्रति आफ्नो ध्यानाकर्षण भएको बताएकी छिन् । सप्तकोसी नदीमा आउने बाढीको विनाशलाई नेपाल-भारत दुई देशको समझदारीमा समाधान गर्न पनि उनको आग्रह छ ।
रामनवमी पर्वको अवसरमा बुधबार सुनसरीको वराहक्षेत्र मन्दिरको दर्शन गर्न आएकी राष्ट्रपति भण्डारीले चतरामा योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना गर्नेबारे आयोजित छलफल कार्यक्रममा यस्तो बताएकी हुन् । उनले बाढीपीडितको समस्या समाधान गरी सप्तकोसी नदीबाट बर्सेनि हुने विनाश नियन्त्रण गर्न सरकारको ध्यानाकर्षणसमेत गराएकी छन् । कोसीपीडितको समस्याबारे नेपाल-भारत दुवै देशका प्रतिनिधिसँग छलफल गरी पीडितको समस्या समाधान गर्न सकारात्मक पहल गर्ने उनको भनाइ छ । वराहक्षेत्रको दर्शन गरेपछि राष्ट्रपति भण्डारीले हेलिकोप्टरबाट सप्तकोसी नदीले विनाश गरेको सुनसरी, उदयपुर र सप्तरीका बाढी प्रभावित क्षेत्रको अवलोकनसमेत गरेकी छन् ।