‘मन्त्रीज्यू, आफ्नै गाउँको पानी पिउन पाऊँ'
दाङः भारतसँग सीमा जोडिएको दाङको कोइलावास नाकाका बासिन्दाले भारतीय भूमिको पानी पिएर बाँच्नुपरेको भन्दै स्वदेशकै पानी उपभोग गर्ने व्यवस्था गरिदिन सिँचाइमन्त्री दीपक गिरीसँग आग्रह गरेका छन् । पहिलोपटक सरकारका प्रतिनिधिका रूपमा सिँचाइमन्त्रीलाई गाउँमै पाएका कोइलावासीले आफूहरूको प्रमुख समस्या खानेपानी भएको भन्दै त्यसको उचित व्यवस्था गरिदिन आग्रह गरेका हुन् ।
गढवा गाउँपालिका ८ वडाको कोइलावास क्षेत्रमा पानीको समस्या रहेको र नेपाली भएर भारतीय भूमिको पानी पिउनुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ । ‘यहाँ पानी छैन, भारतीय एसएसबीको निगरानीमा पानी खोज्न भारत जानुपर्छ', स्थानीय प्रेम बुढाले भने, ‘त्यसैले मन्त्रीज्यू हामीलाई हाम्रै भूमिको पानी पिउने व्यवस्था मिलाइदिनुहोस् ।'
कोइलावासका बासिन्दाले ‘नेपाली सीमा सुरक्षा गरेर भारतीय भूमिबाट पानी खाइरहेको' भन्दै पानी लिन जाँदा भारतीय सुरक्षा निकायबाट पटकपटक अपहेलित हुनुपरेको गुनासोसमेत गरेका छन् । ‘मन्त्रीज्यू, खानेपानीको समस्या छ । भारतबाट ल्याएर पानी खाइरहेका छौं', स्थानीय दलपति बुढाले भनिन्, ‘यहाँ योजना ल्याई हामीलाई भारतीय भूमिको पानी मागेर खानबाट रोकिदिनुहोस् ।' खानेपानीको सहज आपूर्ति नहुँदा गृहिणीलाई प्रत्येक बिहान खानेपानीकै जोहो गर्दा समय बित्ने गरेको छ ।
कोइलावासमा खानेपानीको चरम समस्या भएको वडा सचिव प्रेम थापाले बताए । यहाँ कुवा भए पनि चार महिना मात्रै पानी आउने र बाँकी समय भारतीय भूमिबाट पानी ल्याउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।