चौरी विकासका लागि महोत्सव
फिदिमः चौंरी संस्कृतिको विकास, जैविक विविधताको संरक्षण र जिल्लाका उच्च पहाडी क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा चिनाउने उद्देश्यले पाँचथरको फालेलुङमा चौंरी महोत्सवको तयारी हुँदैछ । सुर्केथाम दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको आयोजनामा तीन हजार पाँच सय ६० मिटरको उचाइमा रहेको नेपाल, भारतको वेस्ट बंगाल र सिक्किमको सीमानामा रहेको चार राते भन्ने स्थानमा नयाँ वर्ष २०७४ को अवसर पारेर वैशाख १ गते महोत्सव गर्न लागिएको हो ।
चौंरी संस्कृति लोप हुँदै गएकाले त्यसलाई संरक्षण गर्न महोत्सवको आयोजना गरिएको सुर्केथाम दुग्ध सहकारी संस्थाका सचिव शिल्पकुमार राईले बताए । ‘महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ,' राईले भने, ‘महोत्सवमा पाँच सयभन्दा बढी चौंरी भेला पारिनेछ ।' यस क्षेत्रमा लगभग २० ओटा चौंरी गोठ छन् । चरण क्षेत्र व्यवस्थित नभएपछि पछिल्लो समय चौंरी गोठ घट्दै गएपछि विस्तारै चौरी संस्कृति हराएकाले संस्कृति संरक्षणका लागि महोत्सवको तयारी गरिएको हो । ‘चरण क्षेत्रलाई पनि व्यवस्थित गर्नुपर्ने आवश्यकता छ,' राइले भने, ‘यस क्षेत्रमा रहेको तीन हजार हेक्टर जमिनलाई चरण क्षेत्रका लागि वैज्ञानिक रूपमा व्यवस्थित गर्ने हो भने चौरी संस्कृतिलाई जोगाउन सकिन्छ ।'
महोत्सवबाट पर्यटनको सम्भावनालाई माथि उठाउने लक्ष्य राखिएको छ । एक वर्षमा १० हजार बोट लालीगुराँस रोप्ने लक्ष्यका साथ महोत्सव सुरु हुनेछ । महोत्सवकै दिनदेखि यस क्षेत्रमा लालिगुँरास रोप्न सुरु गरिनेछ । पाँचथरसहित पूर्वी नेपालका ताप्लेजुङ, इलाम, झापा हुँदै काठमाडौं र भारतको सिक्किम र दार्जिलिङका वासिन्दा, पर्यटन व्यवसायी र सर्वसाधारण गरी एक हजारले महोत्सवको अवलोकन गर्ने लक्ष्य राखिएको छ ।
महोत्सवमा चौंरीको दूधबाट बनाइएका परिकार, चौंरी र भेडाको ऊनबाट बनेका वस्तु र लेकाली क्षेत्रमा पाइने जडीबुटी तथा कृषिजन्य वस्तुको स्टल राख्ने तयारी छ । ‘महोत्सवको दिन याक राइडिङ मुख्य आकर्षण हुनेछ,' राईले भने ‘तिब्बती नृत्यमार्फत याक राइडिङ गराइनेछ, त्यसका लागि चारवटा याक तयारी गरिएको छ ।'
प्रत्येक वर्षको नयाँ वर्षमा चौंरी महोत्सव गर्ने तयारी स्वरूप यस पटकदेखि महोत्सव गर्न लागिएको हो । आठ लाखको लागतमा सम्पन्न गर्ने लक्ष्य राखिएको महोत्सवका लागि जिल्ला वन कार्यालय पाँचथर, जिल्ला समन्वय समिति पाँचथर, इसिमोड नेपाललगायतले आर्थिक सहयोग गरेको आयोजक संस्थाका डिल्ली केरुङले जानकारी दिए । ‘तयारीको काम अन्तिम चरणमा पुगेको छ,' केरुङले भने, ‘अर्थ संकलनका लागि सम्भावित सबै स्रोतको पहिचान गरिरहेका छौं ।'