घुनबाट जोगाउन घरबाहिर भण्डारण
लिबाङः थबाङ ठूलो गाउँ रोेल्पाकी सुनपुरा झाँक्रीमगरको घर बाहिर मकै लहरै मिलाएर झुन्ड्याइएको छ । बारीबाट मकैबाली उठाएपछि उनले घुन लाग्न नदिन यसरी मकै राखेकी हुन् । काठको खम्बामाथि काठ तेर्सो राखेर मकै भण्डारण गरेको छ महिना बित्न थालिसक्यो तर कसैले चोरेको छैन । ‘बर्सेनि मकै यसरी नै बाहिर भण्डारण गरिन्छ ।
घुनकीरा लाग्नबाट जोगाउन यसरी राखिन्छ', झाँक्रीमगर भन्छिन्, ‘पुस्तौदेखि यसरी नै मकै भण्डारण गरिँदै आएको हो ।' तर, अचम्म वर्षदिनसम्म खुला ठाउँमा गरिएको मकै कसैले चोर्दैनन् । थबाङ ठूलो गाउँमा मात्र तीन सयभन्दा बढी घर एकै ठाउँमा छन् । प्रायः सबैका घर बाहिर मकै भण्डारण खुला नै देखिन्छ । मकै भण्डारणको यो परम्परागत तरिका नै हो ।
वर्षदिन जति यसरी नै मकै बाहिर राखिन्छ । उपभोगको आवश्यकता अनुसार निकालेर प्रयोग गरिन्छ । थबाङ मात्र होइन, रोल्पाका उत्तरी उवा, सेरम, गाम, सिउरी, कुरेली, मिरुल, जेलबाङ, फगाम जस्ता संघन मगर वस्तीमा मकै भण्डारण गर्ने यो परम्परागत तरिका भएको स्थानीय बताउँछन । मिलेर बसेको समाजमा अन्न चोरी भएको सुनिदैन । सबैका घर बाहिर मकै खुला भण्डारण आकर्षकसमेत देखिन्छ ।
मकै बाली भित्र्याएपछि भण्डारणको आधुनिक साधन नहुँदा घुनकीरा लागेर मकै सखाप हुने भएपछि किसानले जुक्ति निकालेका हुन् । घुनले मकैको भित्री भाग खाइदिनाले हैरान हुने किसान खुला भण्डारणबाट भने सन्तुष्ट छन् । ‘बाहिर खुला राखेको मकैमा कीरा नलाग्ने भएपछि ढिडो खान पनि राम्रो हुन्छ ।' कोर्चाबाङकी किसान सौंरा बुढामगर भन्छिन्, ‘गाउँमा भण्डारणको नयाँ प्रविधि छैन । यसरी भए पनि घुनबाट जोगाउनै पर्छ ।'
रोल्पाका उत्तरी उवा, सेरम, गाम, सिउरी, कुरेली, मिरुल, जेलबाङ, फगामलगायत संघन मगर वस्तीमा यसरी नै भण्डारण गरिन्छ ।
मकैको मूल बिऊ पनि किसानले यसरी नै जोगाउँदै आएका छन् । पहाडी जिल्ला यहाँ धानखेती कमै हुन्छ । यहाँ मकै, गहुँ, कोडो, जौं र आलु मुख्यबाली हुन् । मकैको ढिडो यहाँको प्रमुख खाना मानिन्छ । सिँचाइ सुविधा कमै मात्र रहेको यहाँका किसानले आकाशे पानीको भरमा खेती गर्छन् ।
तर, मकैलाई घुन लाग्नबाट जोगाउन भने किसानलाई गाह्रो हुन्छ । कतिपयले घरभित्र चोयाले बनाएको भकारीमा मकै भण्डारण पनि गर्छन् । चोरी हुने डरले यहाँका धेरैजसो ठाउँतिर अचेल मकै भण्डारण घर भित्रै गरिन थालिएको छ । विभिन्न विषादी प्रयोग गरेर किरा लाग्नबाट जोगाउन सकिने ज्ञान किसानमा कमै छ । विषादी प्रयोग गरिएको अन्न उपभोग गर्दा गन्ध आउने भन्दै किसानले परम्परागत भण्डारण विधि नै प्रयोग गर्दै आएका छन् । जिल्ला कृषि विकास कार्यालयका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठका अनुसार मकै वर्ष दिन खुला आकाशमा राख्दा घाम पानीबाट प्रभावित हुने या नहुनेबारे प्राविधिक अनुसन्धान भने भएको छैन ।
खुला राख्दा भने केही तत्व नष्ट हुन सक्ने अनुमान गर्न सकिन्छ । तसर्थ, व्यवस्थित भण्डारण आवश्यक छ । यहाँ १२ हजार ६ सय ६० हेक्टर बारीमा मकै उत्पादन हुन्छ । वार्षिक २९ हजार एक सय ५० मेट्रिक टन मकै उत्पादन हुँदै आएको छ ।