उपप्रधानमन्त्रीको वरियता विवाद नमिलेपछि मन्त्रिपरिषद् बैठक स्थगित
काठमाडौंः उपप्रधानमन्त्रीको वरियताक्रमको विवाद नमिलेपछि मन्त्रिपरिषदको बैठक स्थगित भएको छ। उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कमल थापाबीचको वरियताक्रमको विवाद नमिलेपछि बिहीबार दिउँसो साढे तीन बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक आइतबारका लागि सारिएको हो।
उच्चस्रोतका अनुसार उपप्रधानद्वय निधि र थापामध्ये को दोस्रो वरियतामा रहने भन्ने विवाद कायमै रहेकाले बिहीबार बोलाइएको मन्त्रिपरिषदको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको हो। उपप्रधानमन्त्री निधिले आफूलाई दोस्रो वरियतामा राखे राजीनामा दिने बताउँदै आएका छन् भने थापाले आफू दोस्रो नम्बरमा नपरे सरकार छोड्ने धम्की प्रधानमन्त्री प्रचण्डलाई दिएका छन्।
राप्रपाका अध्यक्षसमेत रहेका थापा उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री भएर सरकारमा सहभागी भएयता मन्त्रिपरिषदको बैठक बस्न सकेको छैन। उपप्रधानमन्त्री निधि र थापाको वरीयातक्रमको विवादका कारण चैत ३ गते यता मन्त्रिपरिषद बैठक पटक पटक स्थगित हुँदै आएको छ। उपप्रधान एवं गृहमन्त्री निधिले प्रमुख सत्तारुढ दल कांग्रेस भएको र पार्टीबाट आफूले नेतृत्व गरेर सरकारमा आएकाले आफू नै दोस्रो नम्बरमा हुनु पर्ने बताउँदै आएका छन्।
उपप्रधान एवं स्थानीय विकास मन्त्री थापाले भने आफू यसअघि नै उपप्रधानमन्त्री भइसकेकाले दोस्रो वरियतामा आफू नै रहनु पर्ने र सोही सर्तमै आफू सरकारमा आएको अडान राखिरहेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमण सकेर स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्रीद्वय निधि र थापाबीच रहेको वरियताक्रमको विवाद छताछुल्ल भएको थियो।
विमानस्थलमा प्रधानमन्त्रीलाई स्वागत गर्ने क्रममा सभामुख ओनसरी घर्तीपछि उपप्रधानमन्त्री थापा गएर उभिएपछि गृहमन्त्री निधिले अर्का उपप्रधानमन्त्री कृष्णबहादुर महरालाई अगाडि राखेर आफू पछि बसेर स्वागत गरेका थिए। प्रधानमन्त्री प्रचण्डलाई विमानस्थलमा स्वागत गरे लगत्तै उपप्रधानमन्त्रीद्वय निधि र महरा पत्रकार सम्मेलनमा नबसी फर्किएका थिए।
प्रधानमन्त्री प्रचण्ड दुई पटक भारत भ्रमणमा जाँदा दोस्रो वरियतामा रहेका गृहमन्त्री निधिले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। तर, थापा उपप्रधानमन्त्रीको हैसियतमा सरकारमा सहभागी भएपछि वरिष्ठता विवाद बढेको हो। विवादकै कारण प्रधानमन्त्री प्रचण्डले कसैलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी नदिईँ साता व्यापी लामो चीन भ्रमणमा गएका थिए।
यसअघि वरियताक्रमबारे गृहमन्त्री निधि दिल्ली भ्रमणमा रहेका बेला उपप्रधानमन्त्री थापा गृहमन्त्री निधिको कुर्सीमा बसेपछि कांग्रेसका तर्फबाट सरकारमा सहभागी वाणिज्य मन्त्री रोमी गौचन थकालीले क्याविनेट बैठकमै आपत्तिसमेत जनाएका छन्।