योगेश भट्टराईले भने,‘म काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार होइन’
ताप्लेजुङः नेकपा एमालेका सचिव योगेश भट्टराईले आफूलाई काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार भनेर गरिएको प्रचारमा सत्यता नरहेको बताएका छन्।
चुनावी प्रचारका लागि गृह जिल्ला ताप्लेजुङ आएका भट्टराईले काठमाडौंको मेयरको उम्मेदवारको रुपमा आफ्नो चर्चा भएपनि आफू पार्टीको उम्मेदवार नभएको र पार्टीले अरु कोही जित्ने साथीलाई उम्मेदवार बनाउने बताएका हुन्। उनले भने,‘जित्न सक्षम साथीहरु धेरै हुनुहुन्छ, उहाँहरु मध्येबाट कोही उम्मेदवार बन्नुहुन्छ।’
भटटराईले ताप्लेजुङबाट स्थानीय तहको चुनावमा आफूले कुनै व्यक्तिलाई समर्थन नगर्ने र कसैलाई टिकट दिन च्यापेर नहिड्ने पनि बताए। ‘स्थानीय तहमा लोकप्रिय, चुनाव जित्न सक्ने व्यक्तिको खोजी हुन्छ। यसमा मेरो कुनै भूमिका हुँदैन। सकेसम्म सर्वसम्मतको प्रयास हुन्छ,’उनले भने।
ताप्लेजुङस्थित फुङलिङ नगरपालिको मेयरमा अहिले योगेशका सहोदर दाइ मात्रिकाप्रसाद भट्टराई, जेठान तारानाथ घिमिरे, सन्तोष खतिवडा र छत्रपति प्याकुरेल, भरत गुरुङ, घनेन्द्र मादेन र हेमन्त उप्रेतीको नाम चर्चामा छ। उनीहरुले अहिले नगरपालिकाको मेयरमा उम्मेदवारको दावी गरिरहेका छन्।