कांग्रेसभित्र गुट उपगुटका कुरा गर्नेलाई थप्पड हान्नुस्
नेपालगन्जः नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीमा गुट उपगुट र समूहको कुरा गर्नेलाई ‘थप्पड’ हान्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। गुट उपगुट बनाएर पार्टीलाई कमजोर बनाउने खेल भइरहेको भन्दै यस्तो कुरा गर्नेलाई थप्पड हानेर पार्टीबाट निकाल्न उनले ठाडै निर्देशन दिएका हुन्।
नेपाली कांग्रेस बाँकेको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै बिहीबार कोइरालाले भने,‘त्यस्ता गुट उपगुट अनि समूहका कुरा निकाल्नेलाई सक्नुहुन्छ भने थप्पडै हान्नुस्, नभए तुरन्तै पार्टीबाट निकाल्नुस्।’ आगामी बैशाख ३१ गतेको निर्वाचनमा कांग्रेसलाई जसरी पनि जित्नै पर्ने भएको भन्दै उनले त्यसका लागि एक ढिक्का भएर अघि बढ्न कार्यकर्ताहरुलाई आग्रह गरे। उम्मेदवार छान्ने अधिकार तल्लो तहलाई नै प्रत्यायोजन गरिएको भन्दै उनले पार्टीमा आफूभन्दा माथि उठेर एकतावद्ध हुन उनले कार्यकर्तालाई आह्वान गरे।
‘हामी एक ढिक्का भएर अघि बढ्नुपर्छ, कसलाई उम्मेदवार बनाउने भन्ने पार्टीको केन्द्रलाई नभन्नुस् जित्ने उमेदवार छान्नुस्,’ उनले भने,‘हाम्रा र आफ्ना भन्दा राम्रा र जित्नेलाई अघि ल्याउनुस् अनि केही त्यागको भावना पनि देखाउनुस्।’ सबै पदमा आफू नै हुनुपर्ने र पार्टीलाई पछाडि पारेर आफू अगाडि बढ्न खोज्ने प्रवृत्तिले नै कांग्रेस पछाडि परेको भन्दै कोइरालाले आफूभन्दा माथि उठेर निर्वाचनमा सहभागी हुन पनि आग्रह गरे।
‘यसमा केन्द्रले कुनै पनि प्रकारको हस्तक्षेप गर्ने छैन, स्थानीय तहमा कसलाई उठाउँदा हामी जित्छौँ त्यो हेर्नुस्,’ उनले भने,‘आफूलाई मात्रै होइन पार्टीभित्रका सबैलाई हेर्नुस्, सम्भावना सबैसँग हुन्छ।’ बैशाख ३१ मा कुनै पनि हालतमा निर्वाचन हुने कुरामा विश्वस्त पार्दै कोइरालाले त्यो निर्वाचनले स्थानीय तहमा कांग्रेस बलियो भएर अगाडि आउनुपर्नेमा जोड दिए।
‘कांग्रेसभित्र एकआपसमा सद्भाव हुनुपर्छ, हामी एकअर्कामा लडेर होइन, एक भएर हामीले जित्नुपर्छ,’ उनले भने,‘निर्वाचनका बेला बागी उठेर, कसैले निर्वाचनको माहोल बिगार्न खोज्छ भने उसलाई तुरन्तै पार्टीबाट निकालिदिनुस् ।’ सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेस केन्द्री सदस्य धनराज गुरुङले कांग्रेसलाई हराउने शक्ति अहिलेसम्म देशमा कोही नभएको दाबी गरे।
‘तर, हामी आफैंले आफैंलाई हराउन लाग्छौँ अनि हामी सबै हार्छाैँ,’ गुरुङले भने,‘कांग्रेसलाई हराउने शक्ति कोही छैन, हामी निसन्देह जित्छौँ। तर, हामी आपसमा नलडौँ, हाी मिलेर अगाडि बढौँ, त्यागको भावना देखाऔँ।’ उनले पार्टीलाई गुट उपगुट र समूहमा बिभाजन गर्न खोज्नेलाई तत्काल कारबाही हुनुपर्ने पनि बताए। ‘त्यस्तालाई कारबाही गर्दा पार्टीलाई कुनै असर हुँदैन, बरु हामी नै बलियो हुन्छौं,’ गुरुङले भने,‘कार्यकर्ता अनुशासनमा बस्दा, पार्टीको अनुशासन मान्दा पार्टी सानो हुँदैन बरु, बलियो हुन्छ।’