प्रमुख दलहरु घरदैलो कार्यक्रममा व्यस्त, मधेसी मोर्चा सडकमा
कपिलवस्तुः कपिलबस्तुमा २६ राजनीतिक दलले जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता गराएका छन्। प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत मधेसी मोर्चामा आवद्ध दलहरु समेतदर्ता भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध संघीय समाजवादी फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी लगायतका दलहरु पनि समय सीमाभित्रै जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका छन्। यसका साथै नयाँ शक्ति पार्टी नेपाल, नेकपा माले, नेपाल जनता पार्टी लगायतका दलहरु पनि दर्ता भएको जिल्ला निर्वाचन अधिकारी ज्ञानहरि घिमिरेले बताए।
दल दर्ता भएपनि निर्वाचनको बहिष्कारको घोषणा गरेका मधेसी मोर्चाका नेता कार्यकर्ताहरु संविधान संशोधन नगरी निर्वाचनमा भाग नलिने बताएका छन्। आफुहरुले दल दर्ता गर्ने समयमा केन्द्रबाट निर्वाचन बहिष्कार गर्ने निर्देशन नआएका कारण दल दर्ता गरिएको नेपाल सद्भावना पार्टीका अध्यक्ष डा. केपी शर्मा जोनसनले बताए। तर, संविधान संशोधनमार्फत आफ्ना मागहरु पुरा नहुन्जेल कुनै हालतमा जिल्लामा निर्वाचन सम्पन्न हुन नदिने अध्यक्ष डा. शर्माले चेतावनी पनि दिए।
दल दर्तासंगै प्रमुख राजनीतिक दलहरुका नेताहरु भने चुनावी माहौल बनाउन व्यस्त छन्। निर्वाचनलाई केन्द्रीत गरेर नगरपालिका र गाउँ स्तरको बैठक सम्पन्न भईँ वडा स्तरको बैठकहरु बसिरहेको नेकपा एमालेका जिल्ला उपाध्यक्ष बाबुराम खनालले बताए। वडा समितिहरुबाट आएको सिफारिसका आधारमा लोकप्रिय पार्टी कार्यकर्तालाई नगरपालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्षलगायतको पदका लागि उम्मेदवार बनाउने तयारी भइरहेको उपाध्यक्ष खनालले बताए।
यसैगरी नेपाली कांग्रेसले पनि उम्मेदवार चयनका लागि गाउँ र नगर बुथ समितिहरुमा छलफल भइरहेको जिल्ला उपसभापति अब्दुल कलाम खांले बताए। केन्द्रीय नीतिअनुसार स्थानीय तहको निर्वाचनमा कुनै दलले वहिष्कार गरे पनि नेपाली कांग्रेस भने हरेक गाउँपालिका र नगरपालिकाका जनताको घर दैलोमा गएर निर्वाचनको मतलाई आफ्नो पक्षमा पार्न सक्रिय रहेको उपसभापित खांले बताए। यसैगरी नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलहरु पनि उम्मेदवार चयनका विषयमा छलफलमा व्यस्त देखिएका छन्।
मोर्चाका नेता कार्यकर्ताहरु भने निर्वाचन बहिष्कारको घोषणा गर्दै धर्ना तथा जुलुश प्रर्दशन गरिरहेका छन्। ईश्वर दयाल मिश्रा, मंगल प्रसाद गुप्ता, गंगेश तिवारी, रजत प्रताप शाह, अजित सिंह लगायतका मोर्चाका नेता तथा कार्यकर्ताहरुले कृष्णनगरमा निर्वाचनको विरोधमा प्रदर्शन गरेका छन्। तराई मधेशका समस्याहरु समाधान नगरी जवरजस्ती निर्वाचन गरिए निर्वाचनको प्रतिकारमा आफुहरु बाध्य भै उत्रनु पर्ने तराई मधेश लोकतान्त्रिक पार्टीका नेता ईश्वर दयाल मिश्राले बताए। मोर्चाका नेतासंगै रहेका मधेशी युवाहरुले कृष्णनगरस्थित कृष्णनगर नगरपालिकाको कार्यालयमा मधेश सरकार लेखेका छन्।