अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्चले माग्यो देउवासँग लिखित जवाफ
काठमाडौं: अदालतको अवहेलनासम्बन्धी एक मुद्दामा सर्वोच्च अदालतले कांग्रेसका सभापति शेरबहादुर देउवालाई दश दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले बिहीबार उक्त आदेश दिएको हो। काँग्रेस र उक्त पार्टीका सभापति देउवाले आइजिपी नियुक्ति विवादमा सर्वोच्च अदालतको आदेशविरुद्ध पार्टी केन्द्रीय कार्यसमितिबाट निर्णय गराएको दाबीसहित अधिवक्ता हरि मैनालीले आइतबार अवहेलना निवेदन दायर गरेका थिए।
प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्ति विवादमा सर्वोच्चको बृहत पूर्ण इजलासले अघिल्लो साता गरेको फैसला उल्लङ्घन हुने गरी काँग्रेसले प्रस्ताव पारित गरेको दाबी उनको थियो । सर्वोच्चमा भएको बहपछि उक्त प्रकरणमा दश दिनभित्र कारणसहितको लिखित जवाफ पेश गर्न आदेश भएको जानकारी सहायक प्रवक्ता विश्वराज पौडेलले दिए। आदेश अनुसार देउवाले वारेसमार्फत जवाफ पेश गर्नसक्ने सुविधा पाएका छन् ।