दलाई लामाको अरुणाञ्चल भ्रमणलाई चीनले गर्यो बिरोध दर्ता
काठमाडौ: चीनले चीन र भारतबीचको विवादित भूभाग अरुणाञ्चल प्रदेशमा निर्वासित तिब्बती नेता दलाई लामालाई भ्रमण अनुमति दिएको भन्दै भारतसमक्ष औपचारिक रुपमा बिरोध जनाएको छ।
बेइजिङ्स्थित भारतीय राजदूत भी.के गोखले तथा दिल्लीस्थित भारतीय बिदेश मन्त्रालयका बरिष्ठ अधिकारीहरुसमक्ष दलाई लामाको जारी भ्रमणको बिरोध जनाइसकिएको चिनियाँ बिदेश मन्त्रालकी प्रवक्ता हुआ चुनयिङ्ले बिहीबार पुष्टि गरेकी हुन्। दलाई लामा साताब्यापी अरुणाञ्चल प्रदेश भ्रमणमा रहेका बेला चीनके यस्तो प्रतिक्रिया आएको हो।
यससंगै एसियाका दुई छिमेकी चीन र भारतबीचको राजनीतिक तथा कुटनीतिक संबन्धमा चिसोपना आएको छ। चीनले लामालाई पृथकतावादी भनेपनि भारतले उनलाई धर्म गुरु मानेर उनले तिब्बत छोडेदेखि नै राजनीतिक शरण दिंदै आएको छ।
'सीमासंग संबन्धित बिषय र तिब्बत मुद्दा चीनका मुख्य स्वार्थका बिषय हुन्। दलाई लामालाई विवादित सीमा क्षेत्रको भ्रमण निमन्त्रणा र अनुमति दिएर भारतले विगतमा तिब्बत मुद्दामा चीनसँग जनाएका प्रतिबद्दताको पालना गरेन' उनले चिनियाँ बिदेशमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भनिन्। दलाई लामालाई चिनियाँ स्वार्थ बिरुद्द भारतले उपयोग गरेको चीनको बुझाई रहेको उनले बताइन्।
चीनले दलाई लामालाई धर्मको आवरणमा तिब्बताई चीनबाट टुक्राउन चाहने निर्वासित राजनीतिक ब्यक्ति मान्छ। भारतले लामालाई तिब्बती धर्मगूरु मान्छ र उनले चीनको स्वशाषित क्षेत्र तिब्बत छोडेकै बेलादेखि भारतमा राजनीतिक शरण दिंदै आएको छ। 'कुने पनि बिदेशी मुलुकले चीन बिरोधी पृथकतावादी गतिबिधीका लागि दलाई लामालाई ठाउँ दिनु हुंदैन' उनले भनिन्।
एक अर्काका प्रमुख हित र साझा स्वार्थमा पारस्परिक सम्मान नै चीन र भारतबीचको संबन्धको एक महत्वपूर्ण आधार रहेको चिनियाँ बिदेशमन्त्रालयकी प्रवक्ताले बताइन्। भारतीय गृह राज्यमन्त्री किरण रिज्जु समेत लामाको भ्रमणमा सहभागी छन्।
चीनको तिव्र बिरोधबीच दलाई लामाले गत शनिबार देखी उत्तरपूर्वी भारतको बाह्रदिने यात्रा शुरु गरेका हुन्।लामालाई अरुणांचल लगायत भारतका उत्तरपूर्वी राज्यहरुको भ्रमण गराए भारत-चीन संबन्ध बिग्रने भनि चीनले दिएको चेतावनीबीच उनको भ्रमण शुरु भएको थियो । चीनले लामाको भ्रमण रोक्न भारतलाई पटक पटक भनेको थियो।
दलाई लामाले शनिबार भारतले उत्तरपूर्वी राज्य आसामको एक कार्यक्रमलाई संबोधन गरेका थिए । संबोधनमा उनले आफू सन् १९५९ मा तिब्बतबाट भागेर भारतको अरुणांचलस्थित कमेङ्मा आउँदा भारतीय अधिकारीहरुले स्वागत गरेको बखतको क्षण स्मरण गरेका थिए ।
‘शुरुमा म सन् १९५६ मा धार्मिक कार्यक्रममा भाग लिन आएँ । त्यसपछि सन् १९५९ मा शरण लिन आइपुगेँ । म लामो समय भारत सरकारको पाहुना बनेर बस्दै आएको छु’ उनले भने ।
अरुणांचललाई चीनले आफ्नो स्वशाषित क्षेत्र तिब्बतको दक्षिणी भाग मान्दै आएको छ। तर सन् १९६२ मा चीन र भारतबीच युद्द भएयता यो भूभाग भारतको कब्जामा छ।
दलाई लामा मंगलबार देखि ९ दिन अरुणांचलको भ्रमणमा त्यहाँ पुगेका छन्। भारतले उनको भ्रमण धार्मिक रहेको तर्क गरेको छ। जसमा चीन सहमत छैन। दलाई लामाको भ्रमण एक चीन नीति बिरुद्द रहेको चीनको भनाई छ। भारतले दलाई लामालाई भ्रमण अनुमति दिने नदिने आफ्नो आन्तरिक मामिला रहेको तर्क गरेको छ।