घर बनाउँदै, चुनावको छलफल गर्दै

घर बनाउँदै, चुनावको छलफल गर्दै

गोरखाः धार्चे गाउँपालिकाको लापु निवासी काले गुरुङलाई अहिले भूकम्पले भत्काएको घर पुनर्निमाणको चटारो छ । २५ जनाको टोली लिएर उनले खानीगाउँ, लापुगाउँ, खानीबेसी र भिरकुनामा घर बनाउँदैछन् । अहिलेसम्म ३६ वटा घर बनाइसकेको उनी बताउँछन् ।

सिकर्मी, डकर्मीको टिम मिलेर एउटा घर एक हप्ताभित्र उभ्याइसक्ने स्थानीय बताउँछन् । ‘मेरो टोलीमा २५ जनाभन्दा धेरै छन्', उनी भन्छन्, ‘घरधनीले काठ र ढुंगा जुटाइदिएपछि एउटा घर एकै हप्ताभित्र ठड्याइदिन्छौं । काम धेरै लिएको छु । वैशाखसम्म फुर्सद छैन ।'

यही बेला गाउँमा चुनावको लहर आएको छ । वैशाख ३१ गतेको चुनावका लागि भोट माग्न विभिन्न पार्टीका नेता घरदैलोमा आउन थालिसकेका छन् । धमाधम घर बनाउन थालेका उनका साथीलाई नेताका भाषण सुनेर दिन बिताउने फुर्सद छैन । ‘खेतालाहरू घर बनाउँदै चुनावको कुरा गर्न थालेका छन्', उनले भने, ‘चुनाव आयो भन्छन् । फेरि अहिले त गाउँपालिका भन्दा रहेछन् ।' कामदार सबै पार्टीका भए पनि चर्काचर्की र विवाद भने नहुने उनले बताए । ‘हाम्रो गाउँमा चारवटा मात्रै पार्टी छन्', उनी भन्छन्, ‘सबैका आआफ्ना पार्टी छन् । कोही केही भन्छन्, कोही केही जित्छ भन्छन् । रमाइलो हुन्छ । झगडा गरेर फाइदा छैन ।' कसैलाई राजनीतिको नशा नै लाग्ने, कसैलाई मतलब नै नहुने उनको भनाइ छ ।

कुराको तालमा गफ गर्दा जोश, जाँगर आउने उनको अनुभव छ । ‘आफ्ना आफ्ना पार्टीले जित्छ भनेर चर्काचर्की गर्दा काम पनि छिटो हुँदो रहेछ । थकाइ पनि नलाग्ने रहेछ', उनले भने, ‘नेताहरू काम गरिरहेको ठाउँमा पनि आउँछन् । विभिन्न कुरा गर्छन् तर अब हामी पहिलेजस्तो नेताको भ्रममा पर्दैनौं ।' गाउँपालिका हुँदा फाइदा बेफाइदाका कुरा पनि हुने उनले बताए । ‘कोही फाइदा हुन्छ भन्छन्, कोही बेफाइदा हुन्छ भन्छन् । सुरुसुरुमा छौं, कसैलाई केही थाहै छैन तै पनि छलफल चाहिँ धेरै हुन्छ । रमाइलो हुन्छ', उनले भने ।केन्द्रमा चुनावको माहोल नबने पनि गाउँगाउँमा भने यसबारे राम्रै चर्चा हुने गरेको छ ।

उम्मेदवार छान्न भेला

भर्खर बनेको गाउँपालिकामा गतिलो उम्मेदवार छनोट गर्न चुमनुब्री गाउँपालिकाले सर्वदलीय भेला गरेको छ । तिब्बतको सिमानामा रहेका सामागाउँ, ल्हो, प्रोक, बिही, सिर्दिबास, चुम्चेत र छेकम्पारका सामाजिक अगुवाको भेला हालै सम्पन्न भएको हो ।

भेलाले सबै पार्टीले अघि सार्ने उम्मेदवार सचेत, शिक्षित, विकासप्रेमी, भौगोलिक जटिलता, दुर्गमवासीको आवश्यकता बुझ्न सक्ने उम्मेदवारलाई मात्र अघि सार्नुपर्नेमा बैठकले जोड दिएको बैठकमा सहभागीमध्येका एक वीरबल घलेले जानकारी दिए । ‘हाम्रो दुर्गम क्षेत्र सयौं वर्षदेखि विकासमा पछाडि छ । त्यसैले अब भर्खर बनेको गाउँपालिकामा फेरि जस्तोपायो त्यस्तै मान्छेले चुनाव जिते भने फेरि सयौं वर्षपछि धकेलिन सक्छ', घलेले भने, ‘गाउँलेको आवश्यकता बुझेर माग्ने ठाउँमा माग्न जान्ने, सबै मेसोमेला भएको मान्छेलाई जनप्रतिनिधि बनाउनुपर्नेमा सबै पार्टीका नेतालाई सचेत गराइयो ।' राजधानी तथा सदरमुकाम बस्दै आएका गाउँका अगुवा अब गाउँ गएर चुनावी माहोल बनाउने पनि बैठकमा छलफल भएको थियो ।

धमाधम गाउँभेला

चुनाव नजिकिँदै गर्दा गोरखाका राजनीतिक दलका नेता गाउँ अभियानमा सक्रिय हुन थालेका छन् । जिल्लामा सक्रिय कांग्रेस, एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले गाउँ अभियानलाई सशक्त बनाइरहेको जनाएका छन् । कांग्रेसले पाँच गाउँपालिका र एक नगरपालिकाको भेला सम्पन्न गरिसकेको छ । सभापति हरिबहादुर घलेका अनुसार पालुंटार नगरपालिकाको भेला दुई चरणमा सम्पन्न भइसकेको छ । आरुघाट, सुलीकोट, गण्डकी, सहिदलखन र धार्चे गाउँपालिकाको भेला सम्पन्न गरिसकेको उनले बताए ।

‘गोरखा नगरपालिका र सिरानचोक गाउँपालिकाको बुधबारबाट र अजिरकोट गाउँपालिकाको २६ गतेबाट सुरु हुँदैछ', घलेले भने, ‘चुमनुब्रीको भेला पनि छिट्टै हुनेछ ।' जिल्लास्तरको निर्वाचन अधिकारी तथा सुरक्षा समिति, जिल्ला समन्वय समिति आदिसँग समन्वय गर्न जिल्ला सचिव नन्द न्यौपाने, पूर्वउपसभापति मोहन पोखरेल र महासमिति सदस्य राजन पन्त रहेको समिति बनाएको उनले बताए । त्यस्तै जिल्ला सदस्यको नेतृत्वको टिम बनाएर चुनावी प्रचार गर्न घरदैलो अभियान परिचालन गरिसकेको उनले बताए ।

त्यस्तै एमालेले चुनावी प्रचारको क्रममा गाउँपालिकास्तरको भेलामा सक्रिय रहेको जनाएको छ । सचिव कृष्ण नेपालीका अनुसार गोरखा नगरपालिका, भीमसेन गाउँपालिका, सुलीकोट र अजिरकोट गाउँपालिकाको भेला सम्पन्न भइसकेको छ । त्यस्तै आरुघाट, गण्डकी र सिरानचोक गाउँपालिकास्तरको भेला पनि सम्पन्न भइसकेको उनले बताए । धार्चे गाउँपालिको बिहीबार र चुमनुब्री गाउँपालिकाको चैत २५ का लागि निर्धारण भइसकेको छ ।

माओवादी केन्द्रले पनि चुनावलाई मध्यनजर गरी विभिन्न गाउँपालिकाको गठनलाई तीव्रता दिएको छ । चुनावी अभियान र पार्टी संगठन निर्माण अभियानलाई सँगसँगै अघि बढाइएको प्रचार विभागका अकुर तिमिल्सिनाले जानकारी दिए । हालसम्म भीमसेन गाउँपालिकाको भेला सम्पन्न भएको छ भने गण्डकी गाउँपालिकाको शुक्रबार र सहिद लखन गाउँपालिकाको शनिबारलाई तोकेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.