ठगी आशंकामा व्यवसायी पक्राउ
पोखराः अर्कैको बैंक खाताको पैसा नक्कली एटीएम कार्डबाट निकाल्ने समूहसँग मिलोमतोको आशंकामा पोखराका पर्यटन व्यवसायी टीका पौडेललाई प्रहरीले पक्राउ गरेको छ । बैंकको एटीएम कार्ड दुरुपयोग गरी पैसा गठी गर्नेलाई सहयोग गरेको आरोपमा टीका रिसोर्टका सञ्चालक पौडेललाई प्रहरीले पक्रेको हो । महानगरीय अपराध अनुसन्धान महाशाखा काठमाडौंको टोलीले पोखरा आएर पौडेललाई उनकै रिसोर्टबाट मंगलबार राति पक्राउ गरेको थियो।
एटीएम कार्ड घोटेर बिल भुक्तानी गर्न होटेल, रेस्टुरेन्ट र डिपार्टमेन्ट स्टोर्समा राखिने स्वाइप मेसिनको दुरुपयोग गरी बैंकको पैसा निकाल्ने गिरोहसँग मिलोमतोको आरोप पर्यटनकर्मी पौडेलमाथि छ । यसअघि बैंक डाटा ह्याक गरी नक्कली एटीएम कार्डबाट पैसा ठगी आरोपमा महाशाखाले आठजनालाई पक्राउ गरिसकेको छ । पक्राउ परेकोहरूकै बयानका आधारमा टीका रिसोर्ट र त्यसका सञ्चालक पौडेल पोलिएपछि प्रहरीले थप अनुसन्धान गरेको थियो । त्यसै आधारमा पौडेलसँग थप बयान र सोधपुछका लागि पक्राउ गरेको महाशाखाका एसपी दिनेश अमात्यले बताए । ‘प्रष्ट कुरा त थप अनुसन्धानपछि खुल्छ', उनले भने ।
स्वाइप र एटीएम मेसिनमा नक्कली कार्ड घोटेर पैसा ठगी गर्ने र सहयोग गर्नेमध्ये अहिलेसम्म नौजनालाई प्रहरीले समातिसकेको अमात्यले सुनाए । उनकै भनाइमा उक्त अभियोगमा समातिएका पौडेल नवौं हुन् । यसअघि समातिएकालाई महाशाखाले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिसकेको छ ।
होटेल, रेस्टुरेन्टमा बसेको, खाएको र पसलमा किनमेल गरेको बिल भुक्तानीका लागि एकखाले मेसिन प्रयोग हुन्छ । पीओएस भनिने उक्त मेसिनमा एटीएम कार्ड घोटेर भुक्तानी लिन सकिन्छ । ग्राहकको बैंकिङ कार्ड घोटेर रकम उल्लेख गरेपछि होटेल, रेस्टुरेन्ट वा पसलेको बैंक खातामा ग्राहकको बैंक खाताबाट पैसा सर्छ । त्यस्तो मेसिनमा एटीएम मेसिनमा जस्तो पिन नम्बर हान्नुपर्दैन । कार्ड घोटेर रकम उल्लेख गरे मात्रै पुग्छ ।
खरिदको भुक्तानीका लागि मात्रै प्रयोग गर्नुपर्ने मेसिनमा एटीएम कार्ड घोटेर नगद लेनदेन गर्न मिल्दैन । तर, टीका रिसोर्टबाट चाहिँ कार्ड घोट्ने र कार्ड बाहकलाई नगद उपलब्ध गराउने काम भएको प्रहरीको आशंका छ । प्रहरीका अनुसार रिसोर्टबाट दुई करोड रुपैयाँ अनियमितता भएको प्रारम्भिक अड्कल हो । विदेशी नागरिकको विदेशकै बैंक खाताको डाटा पत्ता लगाएर गिरोहले पैसा झिक्दै आएको यसअघि नै सार्वजनिक भएको थियो । पीओएस मेसिनमा नक्कली एटीएम कार्ड घोटेर पसले वा होटेल रेस्टुरेन्टवालाको बैंक खातामा पैसा सार्दिने र त्यसको भागबन्डा अनुसारको रकम नगदमै ठगहरूले लिँदै आएको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको थियो ।
यसअघि पोखरामा विभिन्न बैंकका एटीएम मेसिनमा नक्कली कार्ड घोटेर पैसा निकाल्न खोजेको आरोपमा कास्की प्रहरीले बुल्गेरियाली २ पर्यटकलाई चैत ५ गते पक्रेको थियो । एटीएम मेसिन ह्याक गरेर पैसा निकाल्न सक्ने थुप्रै सामान पनि उनीहरूबाट बरामद भएको थियो । इभानोभ मर्पिन हृतोभ र लुसियानोभ रामोन बिभोभ नामका दुई पर्यटक पक्राउ गरी कास्की प्रहरीले उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्युरोमा पठाएको थियो ।
मंगलबार राति टीका रिसोर्ट सञ्चालक पौडेललाई महानगरीय अपराध नियन्त्रण महाशाखाले पनि कास्की प्रहरीकै सहयोगमा पक्रेको थियो । पौडेललाई बुधबार नै काठमाडौं पठाइएको कास्की प्रहरी प्रमुख एसपी घनश्याम अर्यालले बताए ।