सि-ट्रम्प भेटमा व्यापार र उत्तर कोरिया नै प्रमुख मुद्दा
वासिङटनः अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि चिनफिङबीच बिहीबार हुने भेटवार्तामा द्विपक्षीय व्यापार र उत्तर कोरिया नै मुख्य विषय हुने अनुमान गरिएको छ । ट्रम्प र सिबीच बिहीबार दिउँसो फ्लोरिडाको पामबीचस्थित ट्रम्पको अत्याधुनिक सुविधासम्पन्न रिसोर्टमा भेटवार्ता गर्दैछन् । पत्नीसहित उनीहरूले त्यहाँ डिनर गर्नेछन् । शुक्रबार हुने द्विपक्षीय बैठक दिउँसो लन्चसँगै सकिनेछ ।
राष्ट्रपति चुनाव अभियानताका आफूले गरेका वाचा पूरा गर्नुपर्ने दबाब ट्रम्पमाथि छ । त्यसबेला उनले मतदाता तान्न अमेरिकी कम्पनीले चीनमा गर्ने उत्पादन अब देशभित्रै गराउने र चीन पुगेका रोजगारीका अवसर अमेरिका भित्र्याउने घोषणा गरेका थिए । चीनसँगको अपारदर्शी व्यापारलाई व्यवस्थित र पारदर्शी बनाउने दाबी पनि उनले गरेका थिए । लगानी र व्यापार आदानप्रदानमा दुवै देशले जोड दिने छन् ।
उनले गए साता अब अमेरिकाले अत्यधिक बढेको व्यापार घाटाबारे आँखा चिम्लन नसक्ने, रोजगारीका अवसर गुमाउन नसक्ने भएकाले चिनियाँ राष्ट्रपतिसँगको भेटवार्ता धेरै कठिन हुने ट्विट गरेका थिए । ह्वाइट हाउसका अधिकारीहरूले ट्रम्प-सि पहिलो भेटवार्ताबाट धेरै उपलब्धिको अपेक्षा नराखेको जनाएका छन् । बरु उनीहरूले यो भेटवार्ता भविष्यमा हुने भेटवार्ताका लागि आधार बन्ने जनाएका छन् । अमेरिकाका श्रमिक नेताहरू भने चिनियाँ राष्ट्रपति सिसँग ट्रम्पले सोझो र प्रष्ट कुराकानी गर्नुपर्ने पक्षमा छन् ।
शिष्टाचार पालना र औपचारिकताप्रति अत्यन्त सचेत चिनियाँहरू ट्रम्पसँग नीतिगत मतभेदभन्दा पनि पूर्वानुमान गर्न नसकिने उनको स्वभावप्रति सशंकित छन् । अन्य विदेशी नेताहरूले ट्रम्पसँगको भेटमा अमार्यादित व्यवहारको सामना गर्नुपरेजस्तै सिले पनि त्यस्तै क्षण सामना गर्नुपर्ने हो कि भनेर उनको भ्रमण दलमा सामेल चिनियाँहरू चिन्तित भएको सञ्चारमाध्यमले उल्लेख गरेका छन् । सिको भ्रमण दलमा सामेल एकजना चिनियाँ अधिकारीले भने, ‘राष्ट्रपति सिले लज्जित हुनु नपरोस् भन्ने हाम्रो पहिलो प्राथमिकतामा छ ।'
ट्रम्प-सि भेटवार्ताको तयारी भइरहेका बेला गत बुधबार पनि उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाले यसरी नियमित क्षेप्यास्त्र परीक्षण गर्नु अमेरिका र चीन दुवैका लागि ठूलो सुरक्षा चुनौती बनेको छ । उत्तर कोरियाको रासायनिक हतियार दुवै देशले विश्वकै लागि टाउको दुःखाइको विषय भएको बताउँदै आएका छन् ।
राष्ट्रपति निर्वाचनका बेला ट्रम्पले चीन र अमेरिकाका लागि अर्को महत्वपूर्ण विषय ताइवान पनि हुनेछ । ट्रम्पले चीन-ताइवान सम्बन्धमा सिसँग छलफल गर्ने अनुमान गरिएको छ । चीन र ताइवानको सम्बन्ध बेलाबेला निकै खराब हुने गरेको छ ।
चीन र अमेरिकाबीच मतभेद रहेको अर्को मामिला हो दक्षिणी चीन समुद्रमा चीनको सैन्य उपस्थिति । दक्षिणी चीन समुद्रलाई चीनले आफ्नो दाबी गर्दै आएको छ भने अमेरिकाले कडा आलोचना गर्दै आएको छ ।