रोहिंग्याको संहार गरिएको छैनः सू ची
यागुनः म्यान्मारकी प्रजातन्त्रवादी नेत्री आङ सान सू चीले त्यहाँका अल्पसंख्यक मुस्लिम समुदाय रोहिंग्याको जातीय संहार गर्ने प्रयास नगरिएको दाबी गरेकी छन् ।
बेलायती समाचारमाध्यम बीबीसीसँगको विशेष कुराकानीमा सूचीले अल्पसंख्यक रोहिंग्या समुदायको बसोबास रहेको रखाइन प्रान्तमा समस्या रहेको स्वीकार भने गरिन् । तर समस्या छ भन्दैमा जातीय संहार भन्नु उचित नहुने उनको भनाइ थियो ।
सू चीले म्यान्मार फर्कन चाहने रोहिंग्या मुसलमानहरूको देशमा स्वागत गर्ने बताइन् । बीबीसी संवाददाता फर्गल किनसँगको कुराकानीमा उनले भनिन्, ‘रखाइनका बासिन्दाबीच निकै वैमनस्यता छ । मुस्लिमले नै पनि मुस्लिमको हत्या गरिरहेका छन् । तपाईंले भनेजस्तो यो कुनै एउटा समुदाय वा जाति समाप्त पार्ने मामिला होइन । सबै विभाजित छन् र हामी विभाजन मेटाउने प्रयास गरिरहेका छौं ।'
धेरैजसो राजनीतिक विश्लेषक रोहिंग्या मामिलामा मौन बस्नाले सू चीको प्रखर प्रजातान्त्रिक व्यक्तित्वको छवि धमिलो भएको मान्छन् । दशकौं म्यान्मारका जुन्ता शासकसँग संघर्ष गर्नुका साथै वर्षौं नजरबन्दमा बसेपछि उनको छवि प्रखर प्रजातान्त्रिक व्यक्तित्वका रुपमा विश्वभर स्थापित भएकी थिइन् । प्रजातन्त्रका लागि गरेको अथक संघर्षका कारण नै उनलाई नोबेल शान्ति पुरस्कार दिइएको थियो ।
रखाइनमा जारी सरकारको अभियानपछि सू चीमाथि अन्तर्राष्ट्रिय दबाब बढ्दै गएको छ । सेनाले अल्पसंख्यक रोहिंग्या समुदायलाई निसाना बनाएको र उनीहरूलाई प्रताडित गर्नुका साथै बलात्कार गरेको आरोप लाग्दै आएको छ । एउटा आक्रमणमा नौ जना प्रहरी मारिएपछि रखाइनमा सेनाले चलाएको सैन्य अभियानबाट जोगिन करिब ७० हजार रोहिंग्या बंगलादेश पलायन भएका थिए । संयुक्त राष्ट्र संघले रखाइनमा मानवअधिकार हनन्सम्बन्धी मामिलाको छानबिन गर्ने गत महिना घोषणा गरेको थियो ।
सू चीले बीबीसीसँग कुराकानीमा भनिन्, ‘म मार्गरेट थ्याचर होइन, न त मदर टेरेसा नै हुँ । हो, महात्मा गान्धी भने अत्यन्त व्यावहारिक राजनेता थिए ।' के अल्पसंख्यकका पक्षमा उभिने गान्धीकै पथमा उनी पनि लाग्ने हो त भन्ने प्रश्नको जबाफ यसरी दिइन्, ‘सम्भवतः गान्धीजस्तै आफ्नो ज्यानै जोखिममा पार्न म सक्दिँन होला, तर यतिसम्म भन्न सक्छु कि हामी पनि गान्धीकैजस्तो उच्च मापदण्डसम्म पुग्ने प्रयास भने गर्नसक्छौं ।'
बर्माको नामबाट चिनिने म्यान्मारमा रोहिंग्या अल्पसंख्यक मुस्लिम समुदायलाई नागरिकता दिइएको छैन । रखाइन प्रान्तमा बसोबास गर्ने उनीहरूलाई म्यान्मार सरकार र स्थानीय बौद्धले बंगलादेशबाट आएका अवैध आप्रवासी मान्छन् । उनीहरूमाथि सरकारी कर्मचारी, सुरक्षाकर्मी र बर्मेलीहरूले निकै भेदभावपूर्ण व्यवहार गर्ने गरेका छन् । सन् २०१२ मा रखाइनमा जातिय हिंसा चर्केपछि हजारौं हजार रोहिंग्या प्रान्तभित्रै शरणार्थी शिविरमा र बंगलादेश पलायन हुन बाध्य भएका थिए ।
सू चीविरुद्ध नोबेल विजेताहरू
लामो समयदेखि रोहिंग्यामाथि भेदभाव, थिचोमिचो भइरहँदा पनि मौन बसेको भन्दै १३ जना नोबेल पुरस्कार विजेता सू चीविरुद्ध आक्रोशित भएका छन् । उनीहरूले तीन महिनाअघि राष्ट्र संघको सुरक्षा परिषद्मा पत्र पठाएर रोहिंग्याप्रति भइरहेको व्यवहारमा चिन्ता व्यक्त गरेका थिए ।
पत्रमा उनीहरूले रोहिंग्याप्रतिको भेदभावपूर्ण व्यवहारलाई मानवीय त्रासदीको उपमा दिँदै मानवताविरुद्धको अपराध भनेका छन् । दक्षिण अफ्रिकाका आर्कविसप डेस्मन्ड टुटू, बंगलादेशका अभियन्ता मोहम्मद युनुस, पाकिस्तानी किशोरी मलाला युसुफजई, इस्ट टिमोरका होसे रामोस होर्टा र कोस्टारिकाका पूर्वराष्ट्रपति अस्कर एरियासलगायत १३ जना नोबेल विजेताले परिषद्लाई लेखेको पत्रमा गत वर्षका अन्तिम दुई महिनायता सेनाले रोहिंग्या समुदायविरुद्ध गरेको कारबाहीमा सयौं रोहिंग्या मारिएको र ३० हजारभन्दा बढी घरबारविहीन भएको उल्लेख गरिएको थियो । पत्रमा लेखिएको थियो, ‘रोहिंग्याका घरमा आगजनी गरियो, महिलासँग बलात्कार गरियो र बालबालिकाको हत्या गरियो । साथै त्यहाँ मानवीय सहायता समेत लैजान दिइएको छैन ।'
सू चीको कडा आलोचना गरिएको पत्रमा उनीसँग रोहिंग्याप्रति राज्यको व्यवहार सुधार्न बारम्बार आग्रह गर्दा पनि अल्पसंख्यकको अधिकार सुनिश्चित गर्न कुनै कदम नचालेको आरोप पनि लगाइएको थियो । सू ची म्यान्मारकी चान्सलर तथा राज्यकी सल्लाहकार हुन् । उनी त्यहाँको राष्ट्रपति नभए पनि सबैभन्दा शक्तिशाली नेता मानिन्छिन् ।