'रेमिटल्यान्डमा' वैदेशिक रोजगारको पीडा
दमक : आख्यानकार श्याम सिंघकको पहिलो औपचारिक कृति 'रेमिटल्यान्ड' माथि झापाको दमकमा चर्चा गरिएको छ । नेपालका युवा विदेश पलायन हुने क्रम बढेसँगै सुरक्षित वैदेशिक रोजगारका विषयमा सचेत गराउन लेखिएको उपन्यास 'रेमिटल्यान्ड' माथि पूर्वेली साहित्यकारले दमकमा चर्चा गरेका हुन् ।
राजन मुकारुङ, मिश्र वैजयन्ती, नरेश काङमाङ र प्रकाश थाम्सुहाङले 'रेमिटल्यान्ड' को विषयमा बुधबार चर्चा गरेका हुन् । स्थानीय लिटेररी ग्रुप दमकको आयोजना तथा कदम थिएटर र शब्द घर नेपालको सहकार्यमा भएको कार्यक्रममा समीक्षकहरूले वैदेशिक रोजगारले समाजमा ल्याएको विकृतिलाई सुन्दर ढंगबाट उपन्यासमा चित्रण गरिएको बताए ।
राजन मुकारुङले वैदेशिक रोजगार समाजको अनिवार्य आवश्यकता नै बनिसकेको कुरा कृतिले सशक्त रूपमा उठाएको बताए । 'पछिल्लो समय वैदेशिक रोजगारले देशको आधा अर्थतन्त्र धानेको छ, समाजलाई समुन्नत बनाउन सहयोग गरेको छ, तर वैदेशिक रोजगारीमा जाँदा सावधानी अपनाउन यो उपन्यासले सचेत गराउँछ', उनले भने ।
उपन्यासबारे टिप्पणी गर्दै टिप्पणीकार तथा कवि प्रकाश थाम्सुहाङले अर्थभन्दा पनि माया प्रेम ठूलो रहेको कुरालाई प्रस्तुत गर्न खोजिएको बताए । उपन्यासमा वैदेशिक रोजगारीमा गएका श्रीमान्का श्रीमतीहरूले मायाको अभाव महसुस गरेको देखाएको बताए । साहित्यकार मि श्र वैजयन्तीले श्रीमान् विदेश गएका महिलाले समाजमा भोग्नु परेका असहजतालाई उपन्यासमा अटाइएको बताइन् । वैदेशिक रोजगारीले ल्याएको विकृतिलाई मात्र नभएर यसमा मायाप्रेमका कुरा पनि कलात्मक ढंगले पस्किएको उनले टिप्पणी गरिन् ।
नरेश काङमाङले उपन्यासमा समाजभित्रको यथार्थ चित्रण भएको बताए । सिंघकले 'रेमिटल्यान्ड' चैत्र १४ गते काठमाडौंको मण्डला थिएटरमा विमोचन गरेका हुन् । वैदेशिक रोजगारीमा जानेलाई निरुत्साहित गर्न नखोजेको उनले बताए । कृतिको मूलभाव वैदेशिक रोजगारमा नजानु भन्ने होइन यसको भाव वैदेशिक रोजगारीमा सुरक्षित तरिकाबाट जानु भन्ने रहेको उनले बताए ।