अहिलेका नायिका हक्की
चलचित्र छायाङ्कनका लागि तिलिचो तालसम्मको दुईदिने पैदल यात्रामा झरना थापालाई शिव रेग्मी र श्रीकृष्ण श्रेष्ठको सम्झनाले पछ्याइरह्यो । एक दशकअघि ५१ दिन मनाएको प्रेमकथामा आधारित सफल चलचित्र 'ए मेरो हजुर'की नायिका झरना यस चलचित्रको सिक्वेलमा निर्देशक बनेकी छन् । आफूले एक्सन कट भनिरहँदा शिव रेग्मीको निर्देशनमा श्रीकृष्ण श्रेष्ठसँग छमछमी नाचेको उनलाई हिजोअस्ति जस्तो लाग्छ ।
एक दशकको अन्तरालमा न निर्देशक रेग्मी रहे, न त अभिनेता श्रेष्ठ नै । चलचित्र छायांकन भइरहँदा उनलाई कताकता एक्लो महसुस नभएको होइन । 'शिव र श्रीकृष्ण दाईसँग काम गर्दाका क्षणहरू यादगार छन् । चलचित्र छायांकनका क्रममा मैले निकै मिस गरेँ', झरनाले भनिन्, 'उहाँहरूले सिकाएका कुरालाई मैले यो चलचित्रमा प्रयोग गरेकी छु । चलचित्रमा पहिलेको कथा लिंक अप भए पनि त्यसैको निरन्तरता चाहिँ होइन ।'
नायिकाबाट निर्देशकको जिम्मेवारी समाल्दा उनलाई गाह्रो त लागेन तर भिन्न अनुभव चाहिँ सँगालिन् । 'यसअघि नाच्दै गाउँदै एउटामात्र भूमिका निर्वाह गरिरहेको बानी । सट रेडी भएपछि गए पुग्थ्यो', निर्देशकीय भूमिकामाथि प्रकाश पार्दै उनले थपिन, 'तर निर्देशकलाई हरेक सटको अघि र पछि पनि उत्तिकै जिम्मेवारी हुन्छ । सबै टिमलाई समाल्नु पर्दा जिम्मेवारी बढी हुन्छ ।'
लगभग दुई दशक चलचित्र क्षेत्रमा निरन्तर क्रियाशील झरनाले ए मेरो हजुरमा अभिनय गर्दा र यसको सिक्वेललाई निर्देशन गर्दाको समयमा धेरै अन्तर पाइन् । 'अभिनय त उस्तै हो । तर त्यसबेलाका नायिकालाई प्रायः सीधासाधा, गाउँले, केटासँग बोल्न डराउने देखाइन्थ्यो । अहिले आत्मविश्वासी, कोहीसँग बोल्न नडराउने हक्की देखाइन्छ', झरनाले भनिन्, 'पहिले स्कर्ट, हाफपेन्ट लगाएका केटी पर्दामा देखिन्थे अहिले सडक, बजार, परिवार जताततै देखिन्छ ।' चलचित्रका पात्र र प्रस्तुति समय र समाजले पनि तय गर्ने उनको भनाइ छ ।
झरनाका अनुसार ए मेरो हजुर निर्माण हुँदाताका चलेका नायिकाले डेढ लाख रुपैयाँको हाराहारीमा पारि श्रमिक लिन्थे । अहिले चल्तीमा रहेका नायिकाको पारि श्रमिक धेरै बढेको छ । ए मेरो हजुर २ का लागि साम्राज्ञी राज्यलक्ष्मी शाहलाई पाँच लाख रुपैयाँको हाराहारीमा पारि श्रमिक दिएको झरनाको भनाइ छ । होम प्रोडक्सन भएकाले उनलाई आयव्ययको ख्याल पनि त्यत्तिकै छ । अहिले स्वरांकनमा रहेको यस चलचित्रमा साम्राज्ञीका साथै सलिममान बानियाँ, सलोन बस्नेत, बुद्धि तामाङ, विल्सनविक्रम रेग्मी, अनुभव रेग्मी, असीम क्रिस्टल राणालगायतको अभिनय रहेको छ ।
पहिले नायिकालाई प्रायः सीधासाधा, गाउँले, केटासँग बोल्न डराउने देखाइन्थ्यो । अहिले आत्मविश्वासी, कोहीसँग बोल्न नडराउने हक्की देखाइन्छ । चलचित्रका पात्र र प्रस्तुति समय र समाजले पनि तय गर्छ ।
आफ्नो समयमा ग्ल्यामर छवि बनाएकी झरनाको अनुभवमा ग्ल्यामरको आकर्षण भने पहिले र अहिलेमा खासै अन्तर छैन । ग्ल्यामरस देखिनु र एक्स्पोज हुनु फरक भएको उनको भनाइ छ । एक्स्पोज अर्थात् अंग प्रदर्शनले मात्र ग्ल्यामरस भइन्छ भन्ने कुरा उनलाई गलत लाग्छ । 'त्यतिबेला पनि ग्ल्यामरको आकर्षण उत्तिकै थियो । ग्ल्यामरस देखिन म कमी भइनँ तर एक्सपोज चाहिँ भइनँ', झरनाले सम्झिन्, '१७, १८ वर्ष पहिले चलचित्र धर्मसंकटको मलाई नेपाली माया चाहिन्छ बोलको गीतमा मैले स्कर्ट, हार्फपेन्ट लगाएर नाचेकी थिएँ ।'
सानो हुँदा नायिका बन्ने उनले कल्पनै गरेकी थिइनन् । तर बच्चैदेखि गीत सुन्ने, ढोका थुनेर नाच्ने उनको बानी थियो । अरू बालबालिकाले जस्तै उनी डाक्टर बन्छु भन्ने गर्थिन् । कलेज पढ्न थालेपछि बैंकर बन्ने रहर जाग्यो । कलेजमा नृत्य विषय लिएर पढिन् । साथीहरू अनि गुरुले 'तिमी राम्रो नाच्छ्यौ, राम्री पनि छ्यौ हिरोइन बन' भनेपछि उनको सपना मोडिएको हो । 'मनले चाहेको क्षेत्रमा काम गर्न पाउँदा खुसी र सन्तुष्ट छु । यदि म डाक्टर वा बैंकर भएको भए यो स्तरको नाम र पहिचान सम्भव थिएन', उनले भनिन् ।
आफन्तमार्फत दयाराम दाहालले निर्देशन गरेको चलचित्र दाइजोमा सहभूमिकामा अभिनय गर्ने मौका पाएकी उनले रेसराज आचार्य निर्देशित चलचित्र धर्मसंकटबाट नायिकाका रूपमा डेब्यु गरेकी हुन् । नेपाली चलचित्रमा सफल नायिका मानिएकी झरनाले भनिन्, 'मैले एक सय १७, १८ वटा चलचित्रमा अभिनय गरिसकेकी छु । अबको प्राथमिकता निर्देशन भए पनि अभिनयबाट सन्यास लिएकी छैन । मेरो अभिनय रहेको चलचित्र झिल्के, साथी तिमी नै हो प्रदर्शनको तयारीमा छ ।'
झरनाका लागि चलचित्र क्षेत्र अन्तिम सपना हो । 'भूमिका फरक होला तर यो क्षेत्रबाट अलग हुने सोच्न पनि सक्दिनँ । मेरो अन्तिम लक्ष्य प्रोडक्सन हाउस चलाउने र निर्देशन गर्ने हो', झरनाले भनिन्, 'यो मेरो मनको निर्णय हो । ए मेरो हजुर दुई पछि अर्को चलचित्र निर्देशन गर्ने तयारीमा छु । सायद दसैं फ्लोरमा जान्छ ।' १७ वर्षको उमेरमा चलचित्र निर्माता सुनिल थापासँग प्रेमविवाहसँगै अभिनय यात्रा आरम्भ गरेकी झरनाकी छोरी सोहाना १८ वर्षकी भइन् । बीबीए अध्ययनरत छोरीलाई चलचित्रमा ल्याउने उनको चाहना छ । तर सोहाना यसमा राजी छैनन् ।