चाहेजस्तो मान्छे पाएको छैनः आस्था राउत
नेपाली सांगीतिक क्षेत्रमा छोटो समयमा लोभलाग्दो सफलता हासिल गरेकी आस्था राउत स्टेज कार्यक्रममा रुचाइएकी गायिका हुन् । ‘सालको पात टपरी गाँसेर'को रिमिक्स गाएपछि चर्चामा आएकी उनका ‘चौबन्दीमा पटुकी', ‘झुम्के बुलाकी'जस्ता गीत चर्चित छुन् । चलचित्र एवं कलेक्सन एल्बममा पनि उत्तिकै स्वर दिइरहेकी गायिका आस्थासँग विनीता मरहट्टाले गरेको कुराकानीः
तपाईंलाई अलि फरक शैलीको गायिका भन्छन् आफूलाई के कुरामा फरक लाग्छ ?
मेरो गायकी युनिक छ । मैले गाएका शब्दले, वाणीले मलाई परिभाषित गर्छ । स्टेज परफर्मेन्स देखेर फरक भनेका पनि हुन सक्छन् । म नेचुरल देखिन्छु । छोरी चेलीको आवाज बोकेर अगाडि बढेकी छु सायद त्यसैले फरक छु ।
केटीको स्वर सुरिलो हुन्छ भन्ने सोच्छन्, तपाईंको आवाज कसरी स्थापित भयो ?
हक्की स्वरले नै मलाई चिनारी दिएको हो । बालगीत प्रतियोगितामा जहिले पनि पहिलो हुन्थेँ । हाइस्कुल पढ्दा ‘सालको पात टपरी गाँसेर' गाउने मौका पाएँ । स्वरमात्र नभएर गीतमै नौलोपन पस्किएँ । श्रोताले मन पराए । त्यसपछि प्लेब्याकमा आएँ, एल्बम पनि निकालेँ ।
सुरुमा गीत सुनेर कस्तो प्रतिक्रिया आउँथ्यो ?
कसैले बच्चा केटाले गाएजस्तो भन्थे, कतिले बोल्ड आवाज भन्थे ।
योभन्दा भिन्न शैलीमा पनि गाउन सक्नुहुन्छ ?
गाउन मन छ । मलाई हिपहपमा र सेमी क्लासिकलमा रुचि छ । समय परिवर्तनशील छ । मैले फरक शैलीमा पनि गाउँदै आएकी छु । आस्था राउत भन्नेबित्तिकै नाच्ने गीत भन्ने बुझिन्थ्यो । तर ‘आधार' एल्बममै फरक शैलीका गीत छन् । सुन्ने, नाच्ने, गाउने सबै खालको गीत गाउँछु । आउँदो एल्बममा पनि फरक शैलीका गीत रहनेछ ।
नयाँ एल्बम कहिले ?
तयारी भइरहेको छ । यो साता कार्यक्रमको लागि अस्ट्रेलिया जाँदैछु । एक महिनापछि फर्किन्छु । त्यसपछि कामको गति अझ बढ्नेछ । २०७४ भित्र एल्बम निकाल्ने तयारीमा छु । भाव राम्रो भएको फरक शैलीको गीत लिएर आउनेछु ।
संगीतमा टिक्न कत्तिको गाह्रो छ ?
म खोलाजस्तै बगिरहेछु । शोहरूमा व्यस्त छु । तर आफ्नो स्वरलाई रेस्ट नहुने गरी काम गर्दिनँ । दिनदिनै शो गर्दिनँ । व्यस्ततालाई नियन्त्रण गरिरहेकी छु । टिक्न सक्छु वा सक्दिनँ त्यो त भन्न सक्दिनँ ।
गायनमा भविष्य सुरक्षित होला त ?
भविष्य हेरेको छैन । म वर्तमानमा बाँच्छु । कर्तव्य पूरा गर्दैछु । संगीतमार्फत जनचेतना बढाउने काम पनि गर्दैछु । यही सोच बोकेर अघि बढेकी छु । राम्रो गर्दै जाने हो, भोलिका बारेमा कसैलाई थाहा छ र ।
राम्री हुनुहुन्छ, अभिनयको लागि प्रस्ताव आएको छैन ?
आफूलाई मोटी त भन्दिनँ, अलि हेल्दी छु । आफूलाई जति माया गर्नुपर्ने त्यति गर्न सकिरहेको छैन । शोहरूको भिडियो क्लिपमा आफूलाई हेर्छु । कहिलेकाहीँ धेरै मोटी देखिन्छु । स्क्रिनको लागि सुहाउँदो हो कि होइन भनेर थाहै पाउँदिन । ‘झुम्के बुलाकी' मा मोडलिङ गरेँ । चलचित्रबाट पनि अफर आएको थियो । तर म गायिकाकै रूपमा चिनिन चाहन्छु । पछि समय परिस्थिति त्यस्तै भयो भने गर्न पनि सक्छु ।
आफूले माया नगरे पनि अरूले माया गर्छन् होला नि ?
मन पराउने त होलान् । साथीहरूले ‘तँसँग त केटाहरू बोल्नै डराउँछन्' भन्छन् । धेरै साथीहरू केटा नै छन् । मलाई किन त्यस्तो भनेको होला जस्तो लाग्छ । कसैले आँटिहाले पनि कराइदिन्छु । साथीकै हिसाबले सोच भन्छु ।
तपाईंलाई कोही मन परेन ?
कहिल्यै मन नपरेको त भन्न मिल्दैन । माया गर्ने मान्छे हुँ, आफन्त सबैलाई माया गर्छु । छुच्ची पनि छु । छिटो रिसाउँछु । विशेष मान्छे चाहिँ भेटेको छैन । सोचेजस्तो पाएको छैन ।
आफ्नो लागि कस्तो व्यक्ति होस् भन्ने लाग्छ ?
विचार मिल्नुपर्छ । परिवारले त सम्झौता गर्नुपर्छ भन्नुहुन्छ । तर सम्झौता परिस्थितिमा भर पर्छ । पहिला माया गर्ने मान्छे त चाहियो । सकारात्मक सोच्ने, सम्मान गर्ने, जात, धर्म, समुदाय नछुट्याउने, मानवता भएको, सेन्स अफ ह्युमर, खुला सोच भएको, राम्रो पढेको, हँसिलो पनि हुनुपर्छ । सोचेजस्तो मान्छे आउन चाहिँ आउँछ, तर कहिले आउँछ ।
प्रेमप्रस्ताव राख्नेलाई कसरी सम्हाल्नुहुन्छ ?
कार्यक्रममा प्रस्ताव गरिहाले भने धन्यवाद भन्छु, फेसबुकबाट गर्नेलाई पनि धन्यवाद दिन्छु । संगीत र स्वरलाई माया गर्नेलाई सम्मान गर्छु । तर अहिलेसम्म दिवानापन भएको मान्छे नभेटेकाले सम्हाल्न गाह्रो भएको छैन ।
गायनमा नलागेको भए ?
संगीतमा नभएको भए भीजे, इभेन्ट होस्ट हुन्थेँ । रेस्टुरेन्ट, पब, कफी सप खोल्ने इच्छा छ । होटेल म्यानेजमेन्ट, हस्पिटालिटी एकदम मनपर्छ ।
संगीतमार्फत समाजको लागि के गर्न चाहना छ ?
महिला सशक्तीकरणका लागि सहयोग गर्न चाहन्छु । ‘झुम्के बुलाकी' मा छोरीलाई सक्षम हुने वातावरण मिलाइदेऊ भनेर चेलीको आवाज बोलेकी छु । मेरो गीतमा मानवतासँग जोडिएका कुनै न कुनै कुरा हुन्छ । यो प्रयास जारी छ ।