'र्याप आर्ट अफ स्टोरी टेलिङ'
अमेरिकामा र्याप गीतले मूलधारमा स्थान लिइरहेको बेला निर्णय श्रेष्ठ त्यतै थिए । सन् १९८८ मा बुवा पीएचडी गर्न अमेरिका गएको बेला परिवारसहित निर्णय पनि अमेरिकामै थिए । उनले पहिलो पटक र्याप त्यहीँ सुनेका हुन् । र्यापले उनको मन यसरी छोयो कि र्याप भनेको 'कथा भन्ने कला' हो भन्ने कुरामा उनलाई विश्वास लाग्यो ।
एउटा र्याप गीतमा यति धेरै कुरा भनिएको हुन्छ त्यसको अभ्यास उनले पनि गर्न थाले । र्यापमा उनको स्वर म्याच गर्यो । उनी उत्साहित भए । त्यसपछि सुरु भयो उनको र्याप यात्रा । लामो समयको अन्तरालपछि एल्बम 'एक नेपाल एनएसके स्टाइल' लिएर श्रोता दर्शकमाझ आउन लागेका उनी यही एल्बमको तयारीमा जुटेका छन् । अप्रिल २० का दिन सार्वजनिक हुन लागेको एल्बमका बारेमा निर्णयले भने, 'देश टुक्रिने अवस्थामा छ । देशलाई टुक्र्याउन होइन एक बनाउन पहल गरौं भन्ने सन्देशसहित एल्बम ल्याउन लागेको हुँ ।' एल्बममा र्याप शैलीमा देशभक्तिका गीत समेटिएका छन् ।
पाँच वर्ष अमेरिका बसाइका क्रममा र्याप सिकेका उनले नेपाल फर्केपछि यही शैलीको गीतलाई निरन्तरता दिएका हुन् । नौ कक्षादेखि नेपालमा अध्ययन सुरु गरेका उनले आफ्ना गीतमा प्रायः राष्ट्रिय भाव झल्काउने गर्छन् । 'दिन पनि बित्यो रात पनि बित्यो', 'हाम्रो गाउँले जीवन', 'म नेपाली'जस्ता गीत यसका उदाहरण हुन् । निर्णयको अनुभवमा सुरुमा र्यापको बारेमा मान्छेले नकारात्मक अर्थ लगाउँथे । त्यो भ्रम चिर्न आफूले निकै मेहनत गर्नु परेको उनको भनाइ छ । 'र्यापमा पनि धेरै विधा हुन्छन् । एउटै र्यापमा जन्मेदेखि मृत्युसम्मको कथा भन्न सकिन्छ', निर्णय भन्छन् 'मलाइ र्यापबाट कतिपय कुरा व्यक्त गर्न सजिलो लाग्छ । र्याप गाउँदा सहज अनुभव गर्छु ।'
र्यापमा लोकगीत मिसाएपछि नेपालमा सबैले बुझ्न थाले । त्यसपछि र्यापलाई छाडा गीत भन्ने सोचाइ विस्तारै हट्दै गयो । र्यापलाई राम्रो दृष्टिले हेरिन थाल्यो । -निर्णय श्रेष्ठ
पहिले र अहिलेको तुलनामा र्यापबारे बुझाइ फरक भइसकेको उनको अनुभव छ । निर्णयले सन् १९९९ मा पहिलो पटक 'ब्रिंग द हाउस डाउन' बोलको अंगेजी गीत र्याप गीत ल्याएका थिए । त्यसपछि इमेज एफएममा र्यापसम्बन्धी कार्यक्रम चलाउन थाले । 'पहिले मान्छेलाई र्यापबारे बुझाउन निकै गाह्रो भयो । र्याप गीत रेडियो टीभीमा बजाउन मान्दैनथे । आफूले कार्यक्रममा बजाए पनि मान्छेहरू एउटै गीत बजायौ भन्दै फोन गर्थे । त्यतिबेला र्यापलाई अंग्रेजी मिडियाले मात्रै स्थान दिन्थ्यो', निर्णयले भने ।
एकजना पत्रकारको प्रश्नले आफ्नो र्यापसम्बन्धी बुझाइ परिवर्तन गरिदिएको उनको भनाइ छ । ती पत्रकारले उनलाई सोधेका थिए, 'तपाईं ग्रामी अवार्ड कहिले जित्ने ? ' नेपाली कलाकारले ग्रामी जित्नुकहाँ हो कहाँ । अंग्रेजी गीत गाउँदैमा ग्रामी अवार्ड जित्नुपर्छ भन्ने ती पत्रकारको सोचाइले आफूलाई अचम्ममा पारे पनि पाठ सिकाएको उनको भनाइ छ । त्यसपछि उनलाई सजिलो र सबले बुझ्ने र्याप बनाउनुपर्छ भन्ने लाग्यो ।
निर्णयको गायन करियरमा त्यो क्षण एक प्रकारको टर्निङ प्वाइन्ट बन्यो । त्यसपछि उनले लोक र र्याप मिसाएर नयाँ शैलीमा गाउन थाले । 'र्यापमा लोकगीत मिसाएपछि नेपालमा सबैले बुझ्न थाले । त्यसपछि र्यापलाई छाडा गीत भन्ने सोचाइ विस्तारै हट्यो । र्यापलाई राम्रो दृष्टिले हेरिन थाल्यो । र्यापको इमेज क्निल भयो', उनले भने । लोक र र्यापको फ्युजनपछि उनको गायनयात्रा पनि सफलतातिर लाग्यो । उनले गाएको म नेपाली बोलको गीतले 'बेस्ट भोकल पर्फमेन्स विथ नेसनल फिलिंग' विधामा इमेज अवार्ड नै जित्न सफल भयो ।
निर्णयको पहिरन शैली पनि पृथक् छ । उनी प्रायः कालो र सेतो रङका पहिरनमात्रै लगाउँछन् । सन् १९९९ बाट रातो टोपी पनि लगाउन थालेको उनको भनाइ छ । 'जब मैले नेपालमा छुवाछूत जीवितै रहेको पाएँ त्यसपछि रातो टोपी लगाउन थालेँ यसको मतलव हामी सबैको रगत रातो हुन्छ भेदभाव नगरौं भन्ने हो', कारण उनले भने । सन् २००६ देखि 'एजुकेसन इज द फाउन्डेसन अफ लाइफ' नामक अभियानसमेत चलाइरहेका उनी सामाजिक कार्यमा पनि त्यत्तिकै क्रियाशील छन् । यस अभियानअन्तर्गत विभिन्न स्कुल, कलेजमा गएर शिक्षा, स्वास्थ्य, वातावरण, मुलुकको अवस्थाको बारेमा मनोरञ्जनात्मक जानकारी दिने गरेका छन् । 'शिक्षा सबैभन्दा महत्वपूर्ण कुरा हो', उनी भन्छन् ।