नेल आर्ट आकर्षण
नङलाई हात एवं खुट्टाको आकर्षण मानिन्छ । कतिपयको नङ प्राकृतिक रूपमै कमजोर र नबढ्ने, टुटेर जाने हुन्छ । कुनैकुनै पेसामा नङ पाल्न बन्देज पनि लगाइएको हुन्छ । त्यसैले कुनै विशेष समारोह तथा फेसनका लागि विभिन्न प्रकारका नङ सजाउने प्रविधिको विकास भएको छ । जसलाई नेल एक्सटेन्सन भनिन्छ । यो तीन प्रकारको हुन्छ ।
१. फेक नेल एक्सटेन्सन
२. एक्रेलिक नेल एक्सटेन्सन
३. जेल नेल एक्सटेन्सन
यी सबै प्रकारका नेल एक्सटेन्सनले प्राकृतिक नङको लुक दिए पनि वनावट तथा रसायनअनुसार टिकाउपन भने फरक हुन्छ । फेक नेल बनाउन समय लाग्दैन तर टिकाउन गाह्रो हुन्छ । यस्तो नङ प्राय. सातदेखि १० दिनमात्र रहन्छ । एक्रेलिक तथा जेल नेल बनाउन अलि समय लागे पनि एक महिनाभन्दा बढी टिक्नुका साथै जुनसुकै काम गर्न सकिन्छ । यो नङ घरायसी कामकाजमा व्यस्त गृहिणीका लागि पनि उपयुक्त मानिन्छ ।
माथि उल्लेखित नेल एक्सटेन्सनमध्ये जेल नेल एक्सटेन्सन नेपालमा बढी प्रचलन र लोकप्रिय छ । जेल नेल एक्सटेन्सनमा जेल पलिस पर्मानेन्ट पलिस, पर्मानेन्ट वा टम्पररी नेल आर्ट गर्न सकिन्छ । सिजनअनुसार विभिन्न नेल आर्टहरू गर्न सकिन्छ । नेल आर्ट गर्नभन्दा अगाडि नङलाई स्यानिटाइज गर्नुपर्छ । हातमा धूलो र कीटाणु टाँसिएको हुने हुनाले स्यानिटाइजर वा इथ्यानोल कपासमा राखेर आफ्नो र क्लाइन्टको नङदेखि हत्केलाको भागसम्म सफा गर्नुपर्छ । नङमा पलिस लगाएको छ भने हटाउनुपर्छ । त्यसपछि नङको आकार बनाउन सकिन्छ ।
जेल नेल एक्सटेन्सन प्राकृतिक नङभन्दा लामो बनाउनुपर्छ । सबैभन्दा पहिले नङलाई राउन्ड सेपमा छोटो बनाउनुपर्छ । फेक नेल वा चिप नेलमा ग्लु टाँसेर आफ्नो नङमा टास्नुपर्छ । यसरी टाँस्दा नङको आधी भाग ढाक्ने गरेर ग्लुले टाँसिदिनुपर्छ । यसरी टाँसिसकेपछि अलि ठूलो साइजको नेल कटरले क्लाइन्टको इच्छानुसार नङलाई राउन्ड, स्क्वायर, स्क्वायर अप, ओभल वा प्वाइन्टेड सेप बनाउन सकिन्छ ।
दुईथरी नङलाई जोडेको भागमा देखिने हुनाले यसलाई हल्का फाइलिङ गरी नङकै सतहमा मिलाउनु पर्छ । त्यसको माथि जेल एक्सटेन्सन लिक्विड वा जेल बिल्डर राख्दा नङलाई अझै स्मुथ बनाउन सकिन्छ । यो झोल भएकाले बगिरहन्छ । त्यसैले यसलाई युभी लाइटमा करिब ६० सेकेन्ड जति सुकाउनुपर्छ । जेल बिल्डर सुकेपछि त्यसलाई अझै स्मुथ बनाउन फाइलिङ गरेर बेस कोट लगाउनुपर्छ । यो पनि जेलमै हुने भएकाले यसलाई सुकाउन ६० सेकेन्ड जति युभी लाइटमा राख्नुपर्छ । त्यसपछि आफूलाई मनपर्ने रङ रोज्नुपर्छ । विशेषगरी गर्मीयाममा फूलका कोपिला विस्तारै फक्रन थाल्ने भएकाले मानिसको उमेर र मौसमअनुसार नेल आर्ट गर्ने चलन छ । यो मौसममा विशेषगरी बैजनी, सेतो, रातोलगायतका रङ बढी चल्छ ।
नेल आर्टको डिजाइन भने क्लाइन्टको इच्छाअनुसार वा उनीहरूलाई कस्तो सुहाउँछ त्यसका बारेमा नेल आर्टिस्टकै परामर्शलाई प्राथमिकता दिनु राम्रो हुन्छ । लगाएको रङलाई लामो समयसम्म टिकाउन राम्रो र चम्किलो बनाउन त्यसको माथि जेल फममा टप कोट लगाइन्छ । जेल क्लिनरले त्यो टप कोट लगाएको माथि हल्का पुछ्नुपर्छ । यसरी पुसेपछि चिपचिप हुने, टाँसिने समस्या हराएर स्मुथनेस आउँछ ।
नङको हेरचाह
. नियमित रूपमा नङको हेरचाह गरे नङ स्वस्थ र सफा हुन्छ ।
. क्युटिकल काट्ने, नङको आकार निकाल्ने, पुसरको प्रयोग गरी फोहोर निकाल्नुपर्छ ।
. क्युटिकल कटरले डेडसेल काटेर नङलाई सफा गर्नुपर्छ ।
. पलिसले पनि कहिलेकाहीँ असर गर्न सक्छ । त्यसैले पलिस लगाउनु अगाडि बेस कोट लगाउनु राम्रो हुन्छ ।
. लगाएको पलिसलाई लामो समयसम्म टिकाउन त्यसमाथि टप कोट लगाउनुपर्छ ।
जापानी प्रविधि अपनाउँदैं
कृशप त्वानाबासु
नेलिस्ट एवं मेकअप आर्टिस्ट
कुपन्डोलस्थित जुम अरबिक मेहेन्दी प्लस स्पा नेल ट्रेनिङ सेन्टरका म्यानेजिङ डाइरेक्टर कृशप त्वानाबासुले पत्नी जुनू चक्रधरबाट मेकअप सिकेका हुन् । सौन्दर्य क्षेत्रमा लाग्नु अगाडि उनी मिडियाकर्मी एवं हार्डवेयर व्यवसायीका रूपमा कार्यरत थिए । नेपालमा फस्टाउँदै गएको सौन्दर्य क्षेत्रको उज्यालो भविष्य देखेर कृशपले यस व्यवसायमा लाग्ने निर्णय गरेका हुन् । नेपालको सौन्दर्य कला अन्तर्राष्ट्रिय स्तरको हुनुपर्छ भन्ने उनको धारणा छ ।
कृशपले नारायणगोपालचोक र कलंकीमा पनि आफ्नो सेन्टरको शाखा विस्तार गरिसकेका छन् । नेपालको मात्रै शिक्षा अपुग ठानेर उनले जापानमा गएर नङसम्बन्धी कोर्स गरे । जापानमा चार वर्ष बसेर टोचिगिकेन ओयामासीस्थित टीबीसी कलेजमा नङसम्बन्धी कोर्स पूरा गरेका हुन् । नेलिस्ट विषय पढेर आफ्नै देशमा सो प्रविधि तथा शिक्षाको प्रवद्र्धन गर्ने योजनाका साथ उनी फर्किए । आफ्नो पार्लरबाट तालिम लिएर गएका विद्यार्थीले नेपाललगायतका विश्वका धेरै देशमा रोजगारी पाएको देख्दा उनलाई गर्व महसुस हुन्छ ।