तपाईंलाई लामो यात्रामा जान मन लाग्छ कि किताब पढ्न ?
मलाई यात्रामा जान मन लाग्छ । किनकि यात्रा स्वयंमा एउटा पुस्तक हो जसले विविध विषयमा एकै पटक धेरै अनुभव प्रदान गर्छ । तिनै अनुभवबाट ज्ञान प्राप्त गर्न सकिन्छ । पुस्तकले कुनै सीमित विषयवस्तुमा असीमित ज्ञान प्रदान गर्छ । जबकि यात्राले बिहंगम विषयवस्तुबारे असीमित ज्ञान दिन्छ ।-विनोद कार्की, अधिवक्ता
यात्रा र किताब दुवै ज्ञानवद्र्धक हुन्छन् । दुवै अनुभूतिमा आधारित छन् । तर पनि मलाई लामो यात्रा मन पर्छ । किनकि यात्राले अनन्त सुख, प्रादेशिक ज्ञान अनि सांस्कृतिक वैविध्यको ज्ञान गराउँछ । यात्रा प्रयोगात्मक पनि हुन्छ ।
-कमल सुवेदी, उपप्राध्यापक, नेपाल संस्कृत विश्वविद्यालय
किताब पढ्न मन लाग्छ । किनभने किताबमा रोचक कुराहरू हुन्छन् यसबाट धेरै ज्ञान पाउन सकिन्छ । विद्यार्थी जीवनमा त यसको महत्व अझै धेरै हुन्छ ।
-ऋचा सिंह, विद्यार्थी
मलाई पुस्तक पढ्नभन्दा लामो यात्रा गर्न मन पर्छ । लामो यात्रा गर्नु भनेको धेरै पुस्तक पढे बराबर हो । हुन त पुस्तकको ज्ञान पनि उपयोगी नै हुन्छ । त्यसमा पनि यात्राबाट प्राप्त ज्ञान अझ दिगो हुन सक्छ । त्यसले हाम्रो जीवनमा अझै बढी प्रभाव छाड्न सक्छ ।
-सिर्जना पोखरेल, शिक्षिका
यात्रा गर्दा मनमा रिल्याक्स महसुस हुन्छ त्यसैले मलाई लामो यात्रा गर्न मन लाग्छ । किताब पनि पढ्छु । तर मेरो आफ्नो विषयको धेरै पढ्छु । यात्राले आनन्द दिन्छ । त्यसमा पनि क्रुजको यात्रा असाध्यै मनपर्छ । मैले १५ दिनको टुरमा युरोपको सातवटा देशमा क्रुजमा यात्रा गर्दाको क्षण जीवनमै अविस्मरणीय रह्यो ।
-कमला श्रेष्ठ, सौन्दर्यकर्मी
एकै ठाउँमा बसेर धेरै ठाउँको जानकारी पुस्तकले मात्र दिन सक्छ । त्यसैले मलाई यात्राभन्दा पुस्तक पढ्न धेरै राम्रो लाग्छ । कुनै ठाउँ घुम्दा त्यो ठाउँको बारेमा मात्र जानकारी पाइन्छ । तर पढाइबाट सबै विषयमा ज्ञान हासिल गर्न सकिन्छ । त्यसैले म घुम्नुभन्दा पढ्नुलाई प्राथमिकता दिन्छु ।
-दीपेन्द्र सापकोटा, नेपाल वायुसेवा निगम
मलाई लामो यात्रामा जान मन लाग्छ । लामो यात्रामा जाँदा त्यस ठाउँको रहनसहन, भाषा र संस्कृति सिक्ने अवसर पाइन्छ । त्यसैले धेरै कुरा सिकिने र रमाइलो पनि हुने हुनाले यात्रा गर्न मन पर्छ ।
-ऋतु राना, मेकअप आर्टिस्ट
नयाँ ठाउँमा घुमेर नयाँ कुराहरू पत्ता लगाउन मन लाग्छ । नयाँ ठाउँहरू घुम्दा रमाइलो त हुन्छ नै त्यहाँका धेरै कुराका बारेमा पनि जानकारी हासिल गर्न सकिन्छ ।
-सबु गर्तौला, विद्यार्थी, पद्मकन्या क्याम्पस
म लामो यात्रामा जान रुचाउँछु । किनभने प्राकृतिक सौन्दर्यले मनलाई मोहक बनाउँछ अनि मनलाई शान्ति पनि दिन्छ ।
-आस्मा खनाल, विद्यार्थी
किताब पढ्ने र यात्रा मेरा लागि दुवै रुचिका विषय हुन् । ज्ञानको भण्डार अथाह छ, त्यसको स्रोत प्रकृति हो अनि समाज र त्यहाँको रहनसहन । अध्ययन र यात्राबिनाको लेखन त कोरा हुन्छ, न त त्यसमा भाव हुन्छ न त विचार, त्यहाँ त केवल शब्द हुन्छ, जसमा प्राण हुँदैन । लेखनमा प्राण भर्न अध्ययन र भ्रमण दुवैको आवश्यकता पर्दछ । यी दुईबिनाको जीवन निरस र एकलकाँटे हुन्छ । मान्छेले मानवता र यथार्थबोध गर्न चाहने हो भने यी दुवैलाई आत्मसात् गर्नुपर्छ ।
-देवेन्द्र उप्रेती, शिक्षक, बिजेश्वरी ज्ञानमन्दिर महाविद्यालय
म विद्यार्थी भएकाले कलेजमा धेरै ज्ञान पाइन्छ । तर पनि घुम्न जाने भने पछि रमाइलो लाग्छ । कहिलेकाहीँ जाने भएर पनि होला कतै लामो यात्रामा जाने भनेपछि मन खुसी हुन्छ । मामाघर विराटनगर भएकाले दसैंमा गइन्छ । त्यसैले लामो यात्रा भन्नेबित्तिकै आफूलाई दसैं आएजस्तै लाग्छ ।
-प्रजिता कोइराला, विद्यार्थी