‘संविधान संशोधन नेपालको आन्तरिक मामिला हो, भारतलाई चासो छैन’
काठमाडौंः भारतीय जनता पार्टीका नेता भगतसिंह कोशियारीले संविधान संशोधनको विषय नेपालको आन्तरिक मामिला भएकाले यसमा भारतको कुनै चासो नरहेको बताएका छन्। उनले भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने समेत बताए। उनले नेपाल सार्वभौम राष्ट्र भएकाले संविधान संशोधनका लागि वा अरु कुनै काममा भारतले कहिल्यै पनि निर्देशन नदिएको दाबी गरे।
अन्नपूर्णसँग कुराकानी गर्दै नेता कोशियारीले स्थानीय तहको निर्वाचन र संविधान संशोधन प्रस्ताव एकैसाथ अघि बढाउँदा उत्तम हुने बताए। कोशियारीले राजनीतिक लाभका लागि नेपालका राजनीतिक दलहरु नै एकअर्कालाई भारतको निर्देशनमा चलेको आरोप लगाउने गरेको र नेपाली नागरिकहरु भारतको विरोधमा लाग्ने गरेको गुनासो पोखे।
‘भारतको चाहनाअनुसार नेपालको संविधान बन्ने वा संशोधन गर्ने भन्ने होइन। यो नेपालको आन्तरिक मामिला हो। तर, केही नेपाली नेताहरु एकअर्काे पार्टीलाई बिना गल्ती भारतीय अनुसार चलेको आरोप लगाउँछन्,’ उनले भने। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएपछि द्विपक्षीय आपसी सम्बन्ध, आर्थिक तथा व्यापारिक सम्बन्ध थप मजबुद बनेको बताए।
फरक प्रसंगमा नेता कोशियारीले केही समयअघि कञ्चनपुरको पुर्नबासमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली प्रहारबाट नेपाली नागरिक गोबिन्द गौतम मारिएको घटनाप्रति दुःख व्यक्त गर्दै सो घटना जानाजानी नभएको जिकिर गरे। उनले दुई दिनसम्म चलेको नेपाल–भारत प्रबुद्ध समुहको बैठक सकारात्मक भएको बताए।
नेपाल र भारतबीच सन् १९५० मा भएको ‘शान्ति तथा मैत्री सन्धि’का असमान धारा खारेज गर्नु पर्ने नेपालको प्रस्तावमाथि अर्काे बैठकमा पुनः छलफल हुने उनले बताए। उनले भने,‘यो दुवै पक्षबीच समझदारी भएर गरिएको सम्झौता हो, यसमा पुनरावलोक गर्ने विषय एकै दिनमा टुंगोमा पुग्न सकिँदैन, थप अध्ययन गरेर अर्काे बैठकमा छलफल गर्छाैं।’
अन्तर्वार्ता सुन्नुस्: