वर्तमान सरकारले नै बजेट ल्याउँछः पुन
बुटवलः नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अन्नतले वर्तमान सरकारले नै नयाँ आर्थिक वर्षको बजेट ल्याउने बताउनु भएकाे छ। नेता पुनले स्थानीय तहको निर्वाचन सकिएपछि वर्तमान सरकारले नै बजेट पनि ल्याउने बताउनु भएकाे हाे।
प्रेस सेन्टर प्रदेश कमिटिले शुक्रबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयाे,‘बजेट निर्माणको काम चलिररहेको छ। वर्तमान सरकारले नै बजेट ल्याउँछ, यसमा ढुक्क हुनुस्।’ उनले वर्तमान सरकारले उत्कृष्ट काम गरेको दाबीसमेत गर्नुभयाे। संविधान कार्यान्वयनका विषयमा धेरै कामहरु भइरहेको भन्दै उहाँले स्थानीय तहको चुनाव तोकिएकै समयमा हुने बताउनु भयाे।
‘६० जिल्लाको मतपत्र छापिसकेको छ,’उहाँले भन्नुभयाे,‘अब चुनाव रोकेर रोकिने कुरा होइन।’ प्रमुख प्रतिपक्षमा एमाले र चुनावको विपक्षमा रहेको मधेशी मोर्चालाई नै सहमतिमा ल्याएर चुनाव गर्न सरकार लागि परेको उहाँले बताउनुभयाे। नेता पुनले मधेशी मोर्चासंग संविधानको मस्यौदाको विषयमा पाँच बुँदे सहमति भएको भन्दै त्यसैको आधारमा सरकार अघि बढेको बताउनु भयाे। केही दिनभित्रै यसअघि दर्ता गरेको संविधान संसोधनको प्रस्ताव फिर्ता गरेर नयाँ सहमतिसहितको प्रस्ताव संसदमा पेश हुने उहाँले बताउनुभयाे।
एमालेले पनि संविधान संशोधनको विपक्षमा नरहेको र सीमांकनबाहेकका छलफल गर्न तयार रहेको बताएकाले अब राजनीतिक निकास तत्काल निस्किने उहाँको जिकिर थियो। चीन र भारतलाई समान सम्बन्ध राखेर सरकार अघि बढ्न सफल भएको भन्दै उहाँले वर्तमान सरकार सफल भएको दाबी गर्नुभयाे।