'नेपाल-भारतबीचको सम्बन्धलाई अन्य मुलुकसँग दाँज्न मिल्दैन'
काठमाडौ: भारतका लागि नेपाली राजदूत दीप कुमार उपाध्यायले नेपाल-भारत सम्बन्धलाई नेपालको अन्य कुनै पनि मुलुकसँगको सम्बन्धसंग दाँज्न नसकिने बताउनुभएको छ।
विवेकानन्द फाउन्डेसनले शुक्रबार नयाँ दिल्लीमा आयोजना गरेको 'नेपाल-भारत सम्बन्ध : आगामी बाटो' बिषयक अन्तरक्रियामा राजदूत उपाध्यायले भन्नुभयो ‘यी दुई देशबीच भौगालिक तथा आर्थिक-सांस्कृतिक रुपमा निकटता छ र सम्बन्ध आफ्नै बिशेषतामा अडिएको छ। यो सम्बन्धलाई हाम्रो अन्य कुनै पनि देशसँगको सम्बन्धसँग तुलना गर्न हुंदैन।'
राजदूत उपाध्यायले नेपाल र भारत दुवै पक्षले आर्थिक, ब्यापारिक र लगानीका क्षेत्रमा सहकार्य बढाएर सम्बन्धलाई अझै प्रगाढ बनाउनुपर्ने बताउनुभयो।
नेपाल—भारत द्विपक्षिय चालू परियोजनाहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिंदै राजदूत उपाध्यायले जनताको जीवनस्तरम प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने परियोजना अघि बढ्नुपर्ने धारणा राख्नुभयो।
जलस्रोत विकासमा सहकार्यका क्षेत्रबारे चर्चा गर्दै उपाध्यायले पंचेश्वर परियोजनालाई चाँडै पूर्णता दिन सकिएको खण्डमा त्यसबाट दुइै देशबीच मिलेर काम गर्न नयाँ गति प्रदान गर्न मद्दत पुग्ने बताउनुभयो।
नेपालको भारतसँग चरम ब्यापार घाटा रहेकाले भारततर्फ निर्यात बढाउन सहजिकरणका उपाय अबलम्बन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो।उहाँले नेपालको शान्ति प्रक्रियालाई शान्तिपूर्ण राजनीतिक रुपान्तरणको मोडलका रुपमा प्रस्तुत गर्दै उपाध्यायले आसन्न स्थानीय निर्वाचनले जनस्तरमा लोकतन्त्र र लोकतान्त्रिक संस्थाको सुदृढीकरण महत्वपूर्ण कदम हुने बताउनुभयो।
विवेकानन्द फाउन्डेसनका निर्देशक एन सि भिजले अध्यक्ष्ता गरेको कार्यक्रममा भारतका कुटनीतिज्ञहरु र सुरक्षा विद्हरु लगायत सहभागी थिए।