सिरियामा अमेरिकी आक्रमण
काठमाडौः संयुक्त राज्य अमेरिकाले शुक्रबार बिहान सिरियाली सैनिक अखडामा मिसाइल आक्रमण गरेपछि ६ वर्षदेखि जारी सिरियाली गृहयुद्धमा नयाँ मोड प्रवेश गरेको छ ।अमेरिकी रक्षा मन्त्रालयले जनाएअनुसार भूमध्यरेखीय सागरमा रहेका दुई नौसैनिक युद्धपोतबाट सिरियाको सेराहत सैनिक अखडामा ६० वटाजति मिसाइल आक्रमण गरिएको छ ।आक्रमणमा परी चार बालबालिकासहित नौ सर्वसाधारणको मृत्यु भएको सिरियाली सेनाले जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको आफ्नो निजी क्लब ‘मार-ए-लागो' मा चिनियाँ राष्ट्रपति सि जिनपिङसँग डिनर गरेको एक घन्टा नबित्दै आक्रमण गरिएको हो । ट्रम्पले मंगलबार सिरियामा भएको रासायनिक आक्रमणविरुद्ध मिसाइल प्रहार गरिएको बताउनुभएको छ । संवाददातासँग उहाँले ‘रासायनिक अस्त्रको विस्तार र प्रयोग अमेरिकी राष्ट्रिय सुरक्षा स्वार्थविपरीत' भएकाले आक्रमण गरिएको धारणा व्यक्त गर्नुभयो ।
मंगलबार सिरियामा भएको विषालु ग्यास आक्रमणमा परी २७ बालबालिकासहित कम्तीमा ८६ जनाको ज्यान गएको थियो । ग्यास आक्रमण सेराहत सैनिक अखडाबाट गरिएको अमेरिकी दाबी छ । यसअघि अमेरिकी अधिकारीले सिरियामा गरिएको रासायनिक आक्रमणको प्रतिक्रियामा सम्भावित सैनिक कदमबारे विचार गरिरहेको बताएका थिए । मंगलबार अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले भविष्यमा सिरियाली नेता बसर अल असदको सत्तामा कुनै भूमिका नहुने बताउनुभएको थियो ।
सिरियाली राष्ट्रपति असादले सत्ता सम्हालेपछिको यो पहिलो सिधा अमेरिकी सैन्य आक्रमण हो । आक्रमणबारे मिश्रित प्रतिक्रिया आएका छन् । सिरियाली राष्ट्रपति बसर अल असदको कार्यालयले अमेरिकी आक्रमण ‘मूर्खता र गैरजिम्मेवार व्यवहार' भएको टिप्पणी गरेको छ । ‘यो अदूरदृष्टि र राजनीकि तथा सैन्य अन्धोपना हो', कार्यालयले प्रतिक्रिया दिएको छ । असदको प्रमुख विपक्षी ‘सिरियाली राष्ट्रिय गठबन्धन' ले भने असद सरकारको अक्षमताविरुद्ध थप हवाई आक्रमण हेर्न इच्छुक रहेको बताएको छ ।
समाचार संस्था एएफपीसँग गठबन्धनका प्रवक्ता अहमद रमादानले भन्नुभयो, ‘हामी अझ धेरै आक्रमणको आशा गर्छौं, यी त केवल सुरुवात हुन् ।' रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले ‘अमेरिकी आक्रमण एक सार्वभौम देशविरुद्धको अतिक्रमण भएको' उल्लेख गर्नुभएको छ । विज्ञप्तिमा आक्रमणले पहिले नै कमजोर रहेको रुस-अमेरिकी सम्बन्ध झन् कमजोर भएको उल्लेख छ ।
बेलायती सरकारले भने आक्रमणको पूर्ण समर्थन गरेको छ । बेलायती सरकारका रक्षामन्त्री माइकल फ्योलनले बिबिसीसँग ‘सीमित र यथोचित आक्रमण भएकोमा पूर्ण समर्थन गर्ने' बताउनुभएको छ । उहाँले ‘अमेरिकीले सम्भव भएसमम्मका कूटनीतिक र शान्तिपूर्ण तरिका अपनाउँदा पनि रासायनिक हतियारको प्रयोग नरोकिएकाले भविष्यमा यस्तो नहोस् भनी यो आक्रमण गरिएको' विश्वास व्यक्त गर्नुभयो । फ्यालोनका अनुसार अमेरिकाले ‘युद्धको घोषणा गरिसकेको छैन ।'
युरोपियन युनियनका विदेश नीति प्रमुख फेडरिका मोघर्नीले रासायनिक हतियारको प्रयोग र प्रसार रोक्न अमेरिकाले कदम चालेको बुझ्न सकिने भए पनि संयुक्त राष्ट्रसंघको दायराभित्र रहेर समाधान खोजिनु न्यायसंगत हुने बताउनुभएको छ । नेटोका महासचिव जेन्स स्टोलटेनबर्गले भने यो विन्दुसम्म पुग्नुमा सिरियाली सरकार नै जिम्मेवार भएको टिप्पणी गर्नुभएको छ ।
जमर्न चान्सलर एंगेला मर्केल र फ्रान्सेली राष्ट्रपति फ्रान्कोइज हल्यान्डेले संयुक्त विज्ञप्ति जारी गर्दै यो घटनाका लागि सिरियाली राष्ट्रपति असद नै एकल जिम्मेवार रहेको दाबी गर्नुभएको छ । ‘उनले पटकपटक आफ्ना जनताविरुद्ध गरेको रासायनिक आक्रमणको विरोधमा सिरियालाई नाकाबन्दी लगाइनुपर्छ जसको माग फ्रान्स र जर्मनीले २०१३ मै गरेका थिए', विज्ञप्तिमा उल्लेख छ । इरानी विदेश मन्त्रालयका प्रवक्ताले एक समाचार संस्थासँग यस्तो आक्रमणले सिरिया र त्यस क्षेत्रको स्थिति झन् जटिल बन्ने टिप्पणी गरेका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले विज्ञप्ति जारी गर्दै आक्रमणको समर्थन गरेका छन् ।
‘ट्रम्पले कुनै पनि हालतमा रासायनिक हतियारको प्रयोग र प्रसार सह्य नहुने स्पष्ट र कडा सन्देश दिएका छन्', नेतान्याहुको विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी, साउदी, टर्की, जापान, अस्ट्रेलिया, इटाली, पोल्यान्ड र क्यानडाका सरकारहरूले पनि आक्रमणको पूर्ण समर्थन गरेका छन् । चीनले भने मिश्रित प्रतिक्रिया दिएको छ । विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले विज्ञप्ति जारी गर्दै स्थिति बिग्रन नदिन आग्रह गरेका छन् ।
राष्ट्रसंघका महासचिव एन्टेनिया ग्युटरसले सिरियाली द्वन्द्वमा सहभागी सबै पक्षलाई सिरियाली जनतालाई थप पीडामा पार्ने गतिविधि तत्काल रोक्न आग्रह गर्नुभएको छ । वक्तव्य जारी गर्दै उहाँले भन्नुभएको छ्, ‘म सरियाली जनतालाई थप पीडा भोग्न बाध्य पार्ने सबै खालका गतिविधि तत्काल रोक्न अनुरोध गर्दछु ।'
शंकामा अमेरिका
सिरियाली हवाई अखडामाथि आक्रमण गर्ने ट्रम्पको आदेशले ओबामा प्रशासनले सिरियाबारे निर्माण गरेका मान्यता त उल्लंघन गरेको छ नै यसअघि सिरिया सम्बन्धमा व्यक्त गरेका विचारबाट उहाँ स्वयं मोडिएको जनाएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था सिएनएनका पत्रकार क्रिस सिलिजाले यो आदेशले ट्रम्प सिरिया सम्बन्धमा पूरै फेरिएको संकेत गर्ने बताउनुभयो ।
सिएनएनको अनलाइन संस्करणमा प्रकाशित विश्लेषणमा सिलिजाले लेख्नुभएको छ, ‘सन् २०१३ मा ट्रम्प सिरियाविरुद्ध तत्कालीन राष्ट्रपति ओबामाले व्यक्त गरेका चिन्ताको मौखिक आलोचक थिए । त्यतिबेला सिरियाली सरकारले आफ्ना जनताविरुद्ध रासायनिक आक्रमण गरेको भन्दै ओबामाले चेतावनी दिएका थिए । ट्रम्पले ओबामाले कंग्रेसको अनुमति लिएर मात्र निर्णय गर्नुपर्नेमा जोड दिएका थिए । राष्ट्रपति भइसकेपछि उनले सिरियाली शरणार्थीलाई शरण नदिने घोषणा गरेका थिए ।'
जोर्डनका राजा अबदुल्लाहसँग बुधबार संयुक्त प्रेस सम्मेलनमा ट्रम्पले भन्नुभएको थियो, ‘हिजो सिरियामा भएको रासायनिक आक्रमण मानवताविरुद्ध छ । असाद शासनको यो घृणित कार्य सहन सकिन्न । सिरिया र असदप्रति मेरो दृष्टिकोण फेरिएको छ ।'
अर्को समाचार संस्था अल जजिराका प्रमुख राजनीतिक विश्लेषक मार्वन बिसाराले मानवताको पक्षमा र ‘अमेरिकी स्वार्थको' रक्षाका कारण गरिएको भनिएको आक्रमण शंकास्पद भएको टिप्पणी गर्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘यदि राष्ट्रपति ट्रम्प सिरियाली जनताप्रति त्यति सहानुभूति राख्छन् भने किन उनले तिनीहरूलाई अमेरिका प्रवेशमा रोक लगाउनुभयो ? '
(एजेन्सीको सहयोगमा)