कामरेड साइँलाको 'डेगागन' सपना
कामरेड साइँला उर्फ पूर्वमन्त्री गोपाल किराती । नेपाली राजनीतिको पेरिफेरीमा भेटिराखिने नाम हो । तर, उनी राजधानीको घुर्मैलो फाँटभन्दा पर ट्याम्के चुलीको बेसक्याम्पमा बढी भेटिन्छन् । हात्तीखर्क भनिन्छ क्यारे त्यसलाई । हात्तीखर्कमा उनलाई पहिलोपटक भेट्ने जोकोहीले उनी पूर्वमन्त्री हुन् भन्ने भेउ नै पाउँदैनन् । भेउ पाए पनि पत्याउन गाह्रो लाग्छ । उनी घरि दाउरा चिर्न बन्चरो उचालिरहेका हुन्छन्, घरी गम्बुट लगाएर गोबर सोहोरिरहेका ।
घरि आगो फुकेर धुवाँसँग जीवनको लय फुकिरहन्छन् त घरि त्यहाँको चिसोसँग मितेरी लाइरहेका हुन्छन् । उनको यो परिचय झट्ट हेर्दा पूर्वमन्त्रीको जस्तो नलाग्नु स्वाभाविकै हो । किनभने हामीकहाँ मन्त्री वा 'विशिष्ट' भइसकेकाहरू बढीजसो राजधानी वा सुविधाकेन्द्रित ठाउँमै भेटिन्छन् । र, तिनले एकपटक विशिष्ट पदमा पुगेकै भरमा फाइँफुइँ लाएर हिँड्छन्, सके सरकारी भत्ता र सुविधाको दुरुपयोग गर्छन् ।
तर, पूर्वमन्त्री किरातीलाई चाहिँ राजधानीभन्दा ट्याम्के चुली निकै प्रिय छ । ट्याम्के उनको सपना हो, जससँग उनको प्रेम छ, लगाव छ । र, छ एउटा उज्यालो आशा पनि । मंसिरको अन्तिम साता ट्याम्के पुग्दा पनि किराँती उही र उस्तै कामको धपेडीमा थिए । उनी अनवरत ट्याम्केकै विकासका कुरा गर्थे ।उनी त्यहाँ 'किरात गणतन्त्र टावर' निर्माणका लागि तम्सिएका छन् । कहिलेकाहीँ उनी निराश अनुहार लाउँदै भन्थे, 'लक्ष्यको चुलीमा टेक्न अनवरत दौडिरहेका यी पाइलालाई नौ-नौ महिनामा फेरिइरहने सरकारको बुटले कुल्चिरह्यो ।' लगत्तै फेरि भन्थे, 'तर म यी सारा बाधा-अवरोधका बाबजुद अघि बढिरहेको छु ।'
उनको राजनीतिक जीवन पनि ट्याम्के वारिपारिका बस्तीसँगै भिजेको छ । किराँत स्वायत्त राज्यको परिकल्पना गरी २०४९ सालतिर सशस्त्र आन्दोलनको तयारीमा लाग्दा उनी त्यही इलाकाका जनतासँग 'क्याफ्लाइज्ड' थिए । टावर निर्माण अहिले उनको सपनाको विषय हो । यसलाई विपना बनाउन उनी खटिरहेका छन् ।
समुद्री सतहबाट तीन हजार १० मिटर उचाइमा पर्छ ट्याम्के चुली । यहाँ क्षितिजतिर बिहानको लाली पोतिँदै गर्दा पुग्न सकियो भने अहोभाग्य नै मान्नुपर्छ । तल कोसी ब्यारेज रात्रिकालीन बत्तीको महकबाट ब्यूँझिसकेको हुँदैन, छिनमै पूर्वी क्षितिजबाट रविकिरण तन्किन पुग्छन् । बिहानका ती कलिला किरणमा के-के तरंगित भएजस्तो रोमाञ्चक अनुभूति हुन्छ । भुक्तभोगीहरू भन्छन्— त्यो कोसीको अथाह जलराशिमा रविकिरणले डुबुल्की मार्दाको तरंगित अनुभूति हो ।
मनोरम चुली ट्याम्के भोजपुर र खोटाङ जिल्लाको सिमानामा अवस्थित छ । त्यहाँबाट किराती बस्तीको दृश्यावलोकन गर्न सकिन्छ । आकाश खुलेका बेला त टाढा भारतको बिहार दरभंगा, पश्चिम बंगालका सिक्किम, दार्जिलिङ, कालिम्पोङ, सिलगुढीको समेत दृश्यावलोकन गर्न सकिन्छ । भुटानका केही सहर पनि यहाँबाट देख्न सकिन्छ ।
यो डाँडा पर्यकटीय महत्वका साथै धार्मिक दृष्टिले पनि उत्तिकै चर्चामा छ । डाँडामाथि सिद्घेश्वर महादेव, महांकाल देवीको मन्दिर रहेका छन् । जहाँ बालाचतुर्दशी तथा रामनवमीमा मेला लाग्छ । मेला भर्न राजधानीलगायत भारतबाट समेत तीर्थालु-व्रतालुहरू ट्याम्के पुग्छन् । विशेषतः यहाँ हिन्दू, किरात र बौद्घमार्गीको ओइरो लाग्छ । बाला चतुर्दशीको मेलामा सतबीज छरिन्छ । 'त्यति बेला झाँक्रीको प्रदर्शन कम्ता रोचक हुँदैन', यहाँको जनजीवन र संस्कृतिसँग भिजेका किराँती भन्छन्, 'मंसिरे पूर्णिमाका दिन यहाँबाट चन्द्रोदय र सूर्यास्त एकै समयमा भएको देख्न सकिन्छ, यो पनि विशेष अनुभूति हो ।'
ट्याम्केबाट ललितपुरको फूलचोकीसमेत देख्न सकिने स्थानीयवासी बताउँछन् । विश्वका आठ हजार मिटरभन्दा उच्च १४ हिमालमध्ये नेपालमा पर्ने आठवटा चुचुरा-सगरमाथा, मकालु, कञ्चनजंघा, कुम्भकर्ण, गौरीशंकर लगायतको दृश्यपान पनि यहीँबाट गर्न सकिन्छ ।
ट्याम्केको आफ्नै ऐतिहासिक विशिष्टता पनि छ । सोह्रौं शताब्दीतिर किरातीहरूले काठमाडौं उपत्यकाबाट धुलिखेल हुँदै सुनकोसी, दूधकोसी, तमोर, अरुणपूर्वका सबै भूभागमा क्याम्प खडा गर्दै लगेको र ट्याम्के आसपासमा शासन गरेको इतिहासकार एवं अनुसन्धादाताहरू बताउँछन् । त्यस समय ट्याम्केमा भने खोटे नामका किरातीले राज्य गर्थे । राजाले ट्याम्केलाई महत्वपूर्ण किल्ला बनाएका थिए । त्यस बेला खोटे राजा यसलाई टेम्मा (किराती भाषामा यसको अर्थ- अग्लो र समथर भूभाग अर्थात् तेर्पाचुंग) भन्थे । यही तेर्पाचुंग नै अपभ्रंश भएर ट्याम्के नाम रहन गएको पौराणिक कथन सुनाउँछन् किराती ।
ट्याम्के चुलीको पश्चिमतिर करिब २५ किलोमिटर दूरीमा छ, अर्को प्रसिद्ध पर्यटकीय स्थल हलेसी गुफा । किराती, हिन्दू र बौद्ध धर्मावलम्बीको आस्थाको संगमस्थल हो हलेसी । यहाँको मुख्य आकर्षण हो- हलेसी महादेवको गुफा । धार्मिक पर्यटनका रूपमा यसलाई अझै विकास र प्रचारप्रसारको आवश्यकता किरातीले महसुस गरेका छन् । हलेसीलाई धार्मिक र ट्याम्केलाई सांस्कृतिक पर्यटकीय क्षेत्र बनाउने सपना छ उनको ।
ट्याम्केको उत्तरपट्टि अर्को मनमोहक लेक छ, 'मैयु' । यहाँ चौंरीगाई पालन गर्न सकिने प्रशस्त सम्भावना छ । डाँडामाथि हिउँ परिरहने हँदा सेतो टोपी पहिरेर बसेजस्तो मनमोहक देखिन्छ यो लेक । माघतिरको समयमा ट्याम्के चुलीले पनि वर्षमा एकपटक हिउँको टोपी लगाएर उन्मुक्त हाँसो छरिदिन्छ, वरिपरिका किराँत बस्तीहरूमा ।
जैविक विविधताका कारण पनि ट्याम्के वरिपरिको जंगल निकै महत्वपूर्ण छ । मृग, घोरल, बाघ, भालु, चित्तल, लुइँचे, कालिज, डाँफेलगायतका पशुपक्षीको महत्वपूर्ण बासस्थान हो यहाँको जंगल । ऋतुराज वसन्तमा त ट्याम्केको सौन्दर्य बयान गरिसाध्य हुन्न । १८ प्रजातिका गुराँस र चिमाल यही डाँडावरिपरि फुलेको देख्न सकिन्छ । त्यति बेला लाग्छ- ट्याम्केले पनि फूलबुट्टे चोली पहिरेर जिस्क्याइरहेछ नौला यात्रीहरूलाई ।
'यति प्रकृति र संस्कृतिले सुसज्जित ट्याम्केको संरक्षण गर्नु अहिले आवश्यकता र चुनौती दुवै हो', किराती भन्छन्, 'यसको अझसम्म प्रभावकारी प्रचारप्रसार हुनै सकेको छैन, सधैं संरक्षणको अभाव पनि खड्किरह्यो । ट्याम्केको विकासमा राज्यले बेवास्ता गरेकैले मैले यसलाई सिँगार्ने सपना देखेको हुँ ।' प्राकृतिक, धार्मिक, सांस्कृतिक महत्व र प्रचुर पर्यटकीय सम्भावना हुँदाहुँदै पनि भौगोलिक विकटताका कारण ट्याम्केको उचित विकास हुन नसकेकोमा उनी खिन्न छन् ।
गणतान्त्रिक नेपालको पहिलो मन्त्रिमण्डलमा संस्कृतिमन्त्री बनेका गोपाल किराती ट्याम्के चुलीको बेसक्याम्पमा भेटिन्छन् । उनी घरि दाउरा चिर्न बन्चरो उचालिरहेका हुन्छन्, घरि गम्बुट लगाएर गोबर सोहोरिरहेका । घरि आगो फुकेर धुवाँसँग जीवनको लय फुकिरहन्छन् त घरि त्यहाँको चिसोसँग मितेरी लाइरहेका हुन्छन् ।
ट्याम्के चुलीको पहिलो दर्शन ०४७ सालको उथलपुथलका बेला गरेका रहेछन्, किरातीले । राजनीतिक संगठनकै क्रममा पान्धारेको बाटो हुँदै जाँदा ट्याम्के चुलीको पहिलो दर्शनमै उनको मन लोभिएको थियो । 'त्यहाँ केही गर्नुपर्छ' भन्ने सोच पनि त्यति बेलै देखिको रहेछ उनको ।
०४६ सालमा बहुदल आएपछि एमएस थापा, गोरेबहादुर खपांगीलगायत मिलेर उनीहरूले जनमुक्ति पार्टी स्थापना गरेका थिए । तर, वर्ष दिन नपुग्दै एमएस र गोरेबहादुरहरूलाई किरातीले राजावादी ठहर गरे र पार्टी त्यागेर निस्किए । त्यसपछि उनले सशस्त्र आन्दोलनका लागि अर्को राजनीतिक संगठनको जरुरत देखेर यसको पृष्ठभूमि निर्माणमा होमिए ।
त्यही समय पश्चिम नेपालमा माओवादीले 'जनयुद्ध'को तयारी गर्दै थियो । तर, किरातीले त्यो चाल पाएका थिएनन् । उति बेलै काठमाडौं आउँदा माओवादीको भित्तेलेखन त देख्थे तर त्यसलाई उतिसारो महत्वका ठानेका थिएनन् उनले । त्यसताका पूर्वमा उनी 'गोपाल खम्बु' नामले चर्चामा थिए । 'किराँत स्वायत्त राज्य' प्राप्तिका लागि चुनाव लडेरमात्र सम्भव देखेनन् उनले । र त सशस्त्र आन्दोलनको थालनी गर्नैपर्ने निर्णयमा उनी पुगेका थिए ।
सशस्त्र आन्दोलनको आधार इलाका खोटाङको रतन्छा र भोजपुरको दिल्पा छिनाम्खुलाई बनाउने उनको योजना थियो । ट्याम्के वरिपरिका यी बस्तीसँग उनी उति बेलैदेखि राम्ररी परिचित छन् । २०६० मा आएर उनले आफ्नो पार्टी 'किराँत वर्कर्स पार्टी' तत्कालीन नेकपा (माओवादी)सँग गाभे ।उनी त्यस बेलाको ठूलो माओवादीमा आबद्ध भएपछि २०६४ सालको संविधानसभा निर्वाचनबाट सभासद् बने ।
त्यसपछि उनी गणतान्त्रिक नेपालको पहिलो मन्त्रिमण्डलमा संस्कृतिमन्त्री बन्न पुगे । त्यस बेला माओवादी युद्धका सुप्रिम कमान्डर पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री थिए । ०४७ सालदेखि मनमा पालिराखेको सपना पूरा गर्ने अठोटले उनी सरकारमा गएका थिए । त्यही बेला उनले ट्याम्केमा टावर निर्माणका लागि इन्जिनियर तेम्बा शेर्पासँग सल्लाह गरे । इन्जिनियर शेर्पाले अत्याधुनिक प्रकारको टावरको डिजाइनिङ गरिदिएपछि उनको सपनाले मूर्त रूप लिने निश्चित भएको थियो । लगत्तै ०६६ सालमा समाजसेवी पुष्पा राईमार्फत टावरको शिलान्याससमेत गराए ।
टावर निर्माणका लागि खट्न थालेपछि उनले आफ्नै पार्टीपंक्तिबाट आलोचनासमेत खेपे । उनको कामको प्रशंसा त के कसैले पत्याउनसम्म पत्याएनन् । त्यसपछि एक दिन उनले तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराईलाई लिएर गए । दिक्तेलमा डा. भट्टराईले भाषण गरे, 'अमेरिकाको लिबर्टी अफ स्टाच्यु, चाइनाको ग्रेट वाल, फ्रान्सको आइफिल टावर, भारतको ताज महलजस्तै यो क्षेत्रमा किरात गणतन्त्र टावरले महत्व राख्छ । यसले पर्यटकीय क्षेत्रको निर्धारण र आर्थिक क्रान्ति गर्छ ।' भट्टराईको भाषणपश्चात किरातीका आलोचकहरूको मुख बन्द भयो ।
चिण्डो आकारको टावर 'डेगागन' संरचनाको हुने किराती बताउँछन् । उनका अनुसार १० भूजा भएको डेगागन टावरले १० वर्षे 'जनयुद्ध' र किरातीहरूमा प्रचलित '१० किरात एक भान्सा' भन्ने कहावतलाई प्रतिविम्बित गर्नेछ । तीन सय ६५ फिट उचाइको टावरमा तेत्तीस तला रहनेछन्, जसमा रिवल्भिङ भ्यु, रेस्टुरेन्ट, कफी सप, बिजनेस हल, बैठककक्ष हुनेछन् । टावरको निर्माणमा धातुको प्रयोग हुनेछ तर सिमेन्ट वा कंक्रिट प्रयोग हुनेछैन । यो भूकम्प प्रतिरोधात्मक र चेन्जेबल हुनेछ । टावरको प्रक्षेपित आयु कम्तीमा पनि एक हजार वर्ष हुनेछ । र, टावरको अठारौं तलामा 'मुन्दुम कम्युनिकेसन' रहनेछ ।
टावरसम्म पुग्न चार दिशाबाट चारवटा 'मिनी ग्रेट वाल' पनि निर्माण हुनेछन् । ती पर्खाल चखेवा, खावा-रमिते, पन्धारे र खिदिमाको डाँडाबाट ट्याम्केमा जोडिई एकाकार हुनेछन् । टावरको फेदीमा सहरीकरण र अन्तर्राष्ट्रिय स्तरको 'मूर्ति-पार्क' बन्नेछ । जहाँ किराँती राजा यलम्बरलगायत व्यक्तिका मूर्ति राखिनेछन् ।
'ट्याम्केसँग राजनीतिक नाता गाँसिएकैले पनि म यो भूमिप्रति पूर्ण समर्पित छु । मेरो काम भनेको ट्याम्केको पहिचान राष्ट्रिय-अन्तर्राष्ट्रियस्तरमा फैलाउनु नै हो', किराती आफ्नो सपनाको विवरण यसरी पेस गर्छन् ।
माझकिराँत हरेक हिसाबले पिछडिएको क्षेत्रमै पर्छ । बीच भागको भूगोल पर्नुका कारण शासकका लागि चुनौतीपूर्ण नहुनाले सडक विस्तार लगायतका विकास नभएको उनको विश्लेषण छ । 'किरात गणतन्त्र टावर' अब माझ किरातका लागि 'टर्निङ पोइन्ट' हुने किरातीको आशा छ । उनी भन्छन्, 'ट्याम्केप्रति सद्भाव राख्नेहरूले पनि मलाई प्रोत्साहन गरिराखेका छन् । दीर्घकालीन कार्ययोजनासहित काम गरिँदैछ । यसले भोजपुर, मैयु, साल्पा, सिलिचुङ हुँदै खोटाङ र उदयपुरसम्मका जनताको आकांक्षालाई पनि बोकेको छ । तसर्थ एक दिन ट्याम्केले आफ्नो रूप पक्कै फेर्नेछ र मेरो सपनाको पनि साकार हुनेछ ।'
यो टावरलाई आधुनिक 'लिम्चिङबुङ'को संज्ञा दिएका छन् उनले । उनको यो बृहत् लक्ष्यले क्रमशः पूर्णता पाउँदै जाओस् ! माझ किरातको सर्वोच्च थुम्कीमा 'लिम्चिङबुङ' रोपिरहेका कमरेड साइँलालाई लाख शुभकामना !