नारीवाद: एक चक्की पिल

नारीवाद: एक चक्की पिल

छाउगोठ छलाङ र एउटा ट्वाइलेट, आम नेपाली महिलाको स्वतन्त्रताको आधारभूत आधार हुन् भन्दा फरक नपर्ला । नारीवादले महिलाको स्वतन्त्रता र मुक्तिका लागि वकालत गर्छ भने हाम्रो माटो सुहाउँदो प्रांगारिक नारीवादका आधार हुन् यी सामान्य लाग्ने तीन आधारभूत आवश्यकता।

उदाहरण पेस गर्छु, यसै वर्ष एसईई परीक्षा दिँदै गरेकी एक किशोरी चर्किएको छातीले झस्काएपछि बाहिर निस्किएर बच्चालाई दूध चुसाउँछे। बच्चा र परीक्षाबीच बाँडिएको खण्डित मानसिकताले कति प्रश्नहरू हल गर्न देला उनलाई? यस अवस्थामा उनको स्वतन्त्रता कसले खोजिदिन्छ? (यदि समयमै एक चक्की पिल लिन पाएको भए .... ?)

सुदूरपश्चिममा महिनावारी बार्न छाउगोठ पसेकी किशोरी मृत भेटिन्छे। विद्यालय धाउँदै गरेकी, नानाथरी सपना मनभरि सँगालेकी उनको मृत्युसँगै एउटा उज्यालो भविष्य छाउघरमै सकिन्छ। (छाउगोठको कुसंस्कृतिलाई जरैबाट उखेल्न सकिएको भए...? )

तराईको रापिलो गर्मीमा घुँघटमा लुकिरहेका ती बुहारीहरू सौचको लागि साँझ कुर्नुपर्ने बाध्यताको सिकार छन् । तिर्खाले घाँटी टक्टकी सुक्दासमेत पानी नपिई बस्दाको उकुसमुकुस कस्तो होला ? (ती प्रत्येक घरमा एउटा ट्वाइलेट भएको भए ....? )

यी अति सामान्यजस्ता लाग्ने आवश्यकता नै नेपाली महिलाका लागि अहिलेसम्म पनि कहिल्यै नछिचोलिने समस्याको पहाड बनेका छन् । यिनै स्वतन्त्रताका बाधक भएका छन्।

पश्चिममा नारीवादीहरूले सन् १९६० र ७० कै दशकमा प्रजनन अधिकारलाई नारीवादको मूल एजेन्डाको रूपमा अगाडि सारेका थिए। गर्भनिरोधक सुरक्षित साधनबिना महिलाको स्वतन्त्रता सम्भव नै नभएको घोषणा नै गरेको थियो तत्कालीन नारीवादी आन्दोलनले (बेल हुक्स, फेमिनिज्म इज फर एभ्रिबडी)। तर आधा शताब्दीपछि पनि हाम्रा दिदीबहिनी कि त बच्चा चेपेर वा आजभोलि भएको ज्यान लिएर विद्यालयस्तरको परीक्षामा सामेल हुनु परिरहेछ। अनि कसरी होइन एक चक्की पिल्स स्वतन्त्रताको आधार?

के राष्ट्रिय दैनिकभरि छ्याप्छ्याप्ती छापिने नारीवादी लेखहरू र मञ्च तताउने महिला विषयक बहसले मात्रै छाउगोठ, घुँघट, बालविवाह या दाइजोजस्ता अग्र्यानिक समस्यामा रुमल्लिन बाध्य आम नेपाली महिलाको समस्या समाधान गर्ला? के उनीहरूलाई थाहा होला नारीवाद कुन चराको नाम हो?

प्रांगारिक नारीवाद
नेपालको कुल जनसंख्याको आधाभन्दा बढी भाग ओगटेको महिलाको स्थिति अझ पनि दयनीय रहेको हाम्रो जस्तो देशमा सन् १९६० पछि नै लगभग आफ्नो स्वतन्त्रता उपभोग गर्न पाइरहेका पश्चिमा महिला अधिकारकर्मीहरूको मानसिकता र उनीहरूले प्रतिपादन गरेको सिद्धान्त हुबहु लागू हुँदैन नै। हामीले खोज्न जरुरी छ आफ्नै माटो सुहाँउदो प्रांगारिक नारीवाद।

सिद्धान्तका ठेलीहरू एकातिर छन् तर दैनन्दिनी सिद्धान्त रटेर चल्दैन । केही सहुलियत प्राप्त धनाढ्य महिलालाई छाडी आम नेपाली महिलाको स्थिति के छ, बुझ्न जरुरी छ । एउटा कार्यक्रममा सूचना आयुक्त यशोदा तिम्सिनाले उप्काएको प्रसंग सम्झिन्छु।

उनले भनेकी थिइन्: ‘लोग्नेले कुटपिट गर्‍यो भनेर प्रहरीमा उजुरी गर्न जाने महिलाले बाटो खर्च त्यही लोग्नेको खल्तीबाट झिकेर हिँड्नुपर्छ । उजुरी गरिसकेपछि फर्केर फेरि त्यही लोग्नेको घरमा फर्कनुपर्छ।' यो धरातलीय यथार्थलाई कसरी सम्बोधन गर्ला हाम्रो आजसम्मको नारीवादले ?

महिलामाथिको शोषणको मुख्य स्रोत आर्थिक स्रोतमाथि पुरुषको एकल अधिकार हो भन्छन् समाजवादी नारीवादीले। महिलाहरू पुँजीबाट विमुख छन्। उनीहरूको दैनिक श्रमलाई कुनै मूल्य दिइएको छैन।

महिलाको पुरुषको कमाइमा आश्रित हुन बाध्य बनाइएका छन्। त्यसैले उनीहरू थिचोमिचोमा परेका छन्। हो यही त हो हाम्रो समाजमा विद्यमान समस्या । हामीले आफ्नै खाले समाधान र महिला सशक्तीकरणका बाटाहरू नखोजी धरै छैन।

अकल्पनीय विकास, फरक सामाजिक संरचना र चेतना स्तर भएका पश्चिमाले चर्चा गर्ने नारीवाद हामीले अक्षरशः पालना गर्न सक्दैनौ। उनीहरू त सन् १९८० तिर नै महिलाका आधारभूत आवश्यकता र स्वतन्त्रताभन्दा माथि उठेर सोच्ने भइसकेका थिए। 

तराइको रापिलो गर्मीमा घुँघटमा लुकिरहेका ती बुहारीहरु सौचको लागि साँझ कुर्नुपर्ने बाध्‍यताको सिकार छन्। 

पितृसत्ताले थोपरेको नारी सौन्दर्यको मापदण्डभन्दा पर आफ्नो शरीरलाई प्रेम गर भन्दै ओभरसाइज्ड फेसन वा भित्री वस्त्रहरूदेखि हाइहिल बहिष्कारसम्मको लहर चलिसकेको थियो। तर हामी सौन्दर्यचेतको बहस त परै जाओस् महिला पनि मानिस हुन् है भनेर समाजलाई बुझाउने प्रयत्नमै अड्किरहेका छौं।

त्यसैले निश्चय नै हाम्रा मुद्दा अन्य देशका महिलाको भन्दा फरक छन्, विशिष्ट छन् । हाम्रै छिमेकी देशका महिलाको भन्दा पनि निकै भिन्न छन् हाम्रा समस्या।

मुस्लिम महिलाहरूले बुर्का या हिजाबका विरुद्ध उठाउने आवाज त्यहाँको नारीवादको एक बुलन्द आवाज हो भने युरोपका मुस्लिम महिलाले उनीहरूमाथि लादिएको कानुनको अवज्ञा गरी बुर्का लाउनु या बिकिनीको साटो बुर्किनी लगाएर समुद्रमा पौडिनु ती महिलाको स्वतन्त्रताको वकालत हो।

तर हाम्रो समाजमा हिजाबभन्दा फरक विषय छन् आवाज उठाउनका लागि। महिनावारीजस्तो प्राकृतिक प्रक्रियालाई पनि धर्म र परम्परासँग जोडेर छाउगोठमा कष्टपूर्ण र असुरक्षित समय बिताउन बाध्य हाम्रा दिदीबहिनीलाई रुढिग्रस्त मानसिकता र जञ्जालबाट बाहिर निकाल्नु नै एक खाले स्वतन्त्रता हो।

नारीवादको मूल मर्म महिलाको अधिकार, स्वतन्त्रता र समानताको पक्षधरता लिनु भए पनि उठाउनुपर्ने विषय समाज र परिवेशअनुसार फरक हुन्छन्। डेबोरा विलियम्सले ‘टाइम'को एक लेखमा फरक नारीवादको विषयमा लेखेकी छिन्: 'आबुधावीका मुस्लिम महिला विद्यार्थीको लागि न्युयोर्क युनिभर्सिटी आबुधावीमा पढ्न जानु नै ठूलो साहस हो। वास्तवमा त्यो उनीहरूको परम्पराविरुद्ध एक दह्रो निर्णय हो।'

पक्कै पनि त्यो निर्णय उनीहरूको स्वतन्त्रताको संवाहक हो। त्यसलाई उनीहरूको नारीवादमा मिलान गर्न सक्लान् । हामी बालविवाह, दाइजोविरुद्ध आवाज उठाइरहेका छौं भने अफ्रिकी महिलाको यौनेक्षामा बन्देज लगाउन गरिने सर्कमसाइजको विरुद्ध नवाल एल साद्वीहरू आवाज उठाइरहेछन्।

फरक अवस्था, परिवेशमा भिन्न समस्याको सामना गरिरहेका महिलाको स्वतन्त्रताको कसीहरू पनि भिन्दै हुन्छन्। स्वतन्त्रता मात्र भनेर हुँदैन। केलाई स्वतन्त्रता भन्ने प्रश्न तेर्सिन्छ। स्वतन्त्रताको मानक पनि समाज, संस्कृतिअनुसार फरक हुन्छन्।

एकातिर, अमेरिकन पप स्टार माइली साइरस आफ्ना म्युजिक भिडियोमा नांगै प्रस्तुत हुनुलाई आफ्नो अधिकार र स्वतन्त्रताको उपभोग ठान्छिन्। अर्कोतिर, आफूलाई मन लागेको पेसा अपनाउँदा पाकिस्तानी मोडल कन्दिल बलोच आफ्नै दाजुबाट मारिएको घटना ताजै छ।

यति हुँदाहुँदै पनि फेरि संसारको जुनसुकै कुनाको नारीवादीले उठाउने आवाज महिला स्वतन्त्रता र समानताकै हो।
नारीवाद भ्रम र यथार्थ
‘नारीवादीहरू पुरुष विरोधी हुन्।'
‘नारीवाद विकासे संस्थाको डलर खेती हो।'
‘नारीवादी भइयो भने घर भाँडिन्छ।'

यी र यस्तै अनेकन भ्रम व्याप्त छन् नारीवाद र नारीवादीबारे। यस्ता गलत बुझाइ हाम्रोजस्तो अल्पविकसित देशमा मात्र हैन विकसित मानिने पश्चिमा देशमा पनि छ। यसै सन्दर्भमा बेल हुक्स भन्छिन्, ‘नारीवाद पुरुषविरोधी हो भन्ने गलत बुझाइ छ । यो वास्तवमा पितृसत्तात्मक मिडियाबाट नारीवाद पढिनुको परिणाम हो।'

राज्यको चौथो अंगको रूपमा रहेको सञ्चारले महिलाको विषयलाई प्रस्तुत गरेकै आधारमा आमधारणा बन्ने गरेको पाइएको छ।एक कोणबाट बुझिएजस्तो नारीवाद न पुरुषको विरोध हो, न घर भाँड्ने खेल, न त डलरको खेती नै। यो त साहै सीधा सरल विचार हो तसलीमा नसरिनले भने जस्तै -'नारीवाद एक मान्यता हो जसले महिला पनि मानिस हुन् भन्ने स्वीकार्छ।'

समालोचक अर्चना थापाको धारणा पनि नसरिनकै जस्तो छ। उनी भन्छिन्, 'नारीवादको नारा भन्नु नै नारीलाई मानवको कोटीमा राखी मानवीय व्यवहार गर भन्नु हो।'

अहिले महिलाले आफ्नो अधिकार र स्वतन्त्रताको पक्षमा आवाज उठाउँदा चर्को लाग्न सक्छ। तर बुझ्नैपर्छ, पितृसत्तात्मक सामन्ती समाजले लामो समयसम्म महिलालाई सहयात्रीभन्दा तल्लो दर्जामा राखेकैले अहिले यसरी आवाज उठेको हो।

पितृसत्तात्मक समाजमा महिला सधैं दासी बनाइए। समाजशास्त्री चैतन्य मिश्रको भनाइमा 'सामन्ती युगमा पारिवारिक दायराभित्र कुलीन स्त्रीहरू शृंगार, भोग र सन्तान उत्पादनका निम्तिमात्र रहे' (बदलिँदो नेपाली समाज, पृष्ठ ३९)।

रोजमेरी टङले पनि महिलालाई भोगविलास र आनन्दको साधनको रूपमा मात्र पुरुषहरूले प्रयोग गरेको व्याख्या गर्छिन् आफ्नो बहुचर्चित पुस्तक ‘फेमिनिस्ट थट'मा । त्यो अमानवको अवस्थाबाट मानवको कोटीमा उक्लने प्रयत्न हो नारीवाद।

मानवको कोटीमा नै नपरेका महिलाहरू एकाएक जुर्मुराएर आफ्नो हक, अधिकार र स्वतन्त्रताको वकालत गर्दै हिँड्दा परम्पराको सिक्रीले बाँधिएको समाजले सहजै स्वीकार्न नसक्नु स्वाभाविक हो। त्यसैले अनेकन नाम दिएर महिलाका मुद्दालाई ओझेलमा पारिने षड्यन्त्र भइरहेकै छ।

नारीवादका विषयमा व्याप्त भ्रम पुरुषमा मात्र हैन महिलामा पनि छ। लेखपढ नभएकामा मात्र नभई पढालेखा महिला-पुरुषमा पनि अनेकन् भ्रम भेटिन्छ। बौद्धिक जमात भरथेगको पूरै जिम्मा पाएका कतिपय पुरुष नारीवादलाई फेज आउट भएको नारा भनी खिसिट्युरी गर्छन् भने कतिपय महिलाबन्धुसमेत यी त बातै मार्न नहुने घरभडुवा जिनिस हुन् भनी परपरै तर्किन्छन्। अझ कतिले त म यो पनि हो त्यो पनि हो को ढुलमुले अभिव्यक्ति दिन पछि पर्दैनन् । सबैभन्दा खतरनाक चिन्तन यो पनि र त्यो पनिको चेपुवामा पेन्डुलम हुनु हो।

आत्मालोचना
अचेल विभिन्न साहित्यिक महोत्सवहरू साथै अनेकन् अवसरमा हुने छलफल र अन्तरक्रियामा महिला विषय केन्द्रित बहसले ठूलै ठाउँ पाउन थालेका छन्। तर बिना कुनै निष्कर्ष टुंगिने यस्ता छलफलहरू बौद्धिक विलास र वक्ता र सहभागीलाई एकैछिन रन्काउने बहसमात्र भए जस्तो देखिन्छन्। केही बौद्धिक प्रिभिलेज्ड महिला पुरुषले चलाउने यस्ता बहसले महिला सशक्तीकरणका निम्ति कति सहयोग गर्ला?

महिलाका मुद्दामा पब्लिक स्पेसमा एग्रेसिभ्ली बोल्ने सीमा आभाष, प्रणिका कोयू, सावित्री गौतमहरूले यी र यस्तै प्रश्नहरूको सामना गरिरहेका छन्। बोल्दा बिझाउने नबोल्दा आफ्ना मुद्दा ओझेलमा पर्ने या पारिने खतराबाट गुज्रिरहेका छन् महिला अधिकारकर्मीहरू। तर स्वीकार्नु पर्ने एउटा सत्य के पनि हो भने एकअर्कालाई तल देखाउन र आफ्नो विचार नै सर्वोच्च भनी अर्काको कुरा सुन्दै नसुनी बौद्धिकताभन्दा शाब्दिक बलले थिचेर गरिने बहसहरूको खासै अर्थ रहँदैन।

महिलाका विषय महत्वपूर्ण हुन् भनी सर्वस्वीकार्य गराउनका लागि पितृसत्तात्मक आम मानसिकतामा रहेको महिलाप्रतिको दृष्टिकोणमा नै परिवर्तन ल्याउन जरुरी छ । नारीवाद समानताको लडाइँ हो न कि पुरुषविरुद्ध महिलाले छेडेको युद्धको शंखघोष। दंगल मनोविज्ञानबाट मुक्त नभएकाले नै हामीमा आलोचनात्मक चेतको विकास हुन सकेको छैन।

यसै भन्छन् प्राध्यापक सञ्जीव उप्रेती ‘दंगल मनोविज्ञानको मार' शीर्षकीय लेखमा-'संसारका धेरैजसो पितृसत्तात्मक समाजहरूझैं नेपालमा पनि आलोचनात्मक चेतको राम्रो विकास नहुनुको मुख्य कारण के छ भने हामी अझै दंगल मनोविज्ञानबाट उन्मुक्त हुन सकेका छैनौं।'

उप्रेतीले औंल्याएझैं के साँच्चै हामी आफ्नो अधिकारका लागि बोल्दै गर्दा अर्कालाई ढलाउने प्रयत्नमा त अग्रसर भइरहेका छैनौं ? आत्मालोचना किन नगर्ने ?

बहसको पारो बढेर निकै गरमागरमको स्थितिमा पुग्ने महिला विषयक बहस र प्रत्येक वर्ष नारीदिवसको संघार पारेर राजधानीका नाकटघरमा मञ्चन हुने नाटकले न्यूनतम स्वास्थ्य सुविधा र परामर्शसमेत नपाएर खसेको आङ बेहोरिरहेकी महिलाको बेहाल वा बोक्सी करार गरी मलमूत्र खुवाइने निरीह महिलाको जीवनमा परिवर्तन ल्याउन कत्तिको भूमिका खेल्ला?

आफ्नो विचार लेख्न÷बोल्न सक्ने हामीहरू एक प्रकारले स्वतन्त्र छौं नै। अब जरुरी त ती आम नेपाली महिलाको स्वतन्त्रताको हो जो विभिन्न समस्या र संस्कारले जकडिएकै छन् । हो, त्यसैले उनीहरूको स्वतन्त्रताको सुरुवातको निम्ति सबैभन्दा पहिला आवश्यक छ पिल्स, ट्वाइलेट र छाउगोठ छलाङ।

सँगै हिँडौं
गत हप्ता एउटा पुस्तक माथि बोल्ने क्रममा महिला पात्रको चित्रण र उनको सन्दर्भमा प्रयोग भएको भाषामाथि मैले आपत्ति जनाइरहँदा अर्का वक्ताले मञ्चबाटै प्रतिक्रिया जनाए। भने, 'क्रिएटिभ राइटिङ पोलिटिकल्ली करेक्ट हुँदैन।'

पोलिटिकल्ली करेक्ट र इनकरेक्टबारे बेग्लै बहस हुन सक्छ। सधैं मनमा प्रश्न भने उठिरहन्छ, ‘के बौद्धिक मानिने साहित्यकार स्वयं महिलाका विषयमा चाहिने जति संवेदनशील हुन सकेका छन् ? ' यी छलफलका विषय हुन् नै। तर बुझ्नैपर्छ, आवश्यकता महिला पुरुष सहकार्यकै हो। एक्लै हिँडेर कहीँ पुगिन्न।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.