एन्जिलाको पावर
जुन व्यक्तिले परिवारको साथ र सहयोग पाउँछ उसले आफ्नो तरक्की पनि तीव्र गतिमा गर्छ भन्ने एक उदाहरण हुन्, एन्जिला योञ्जन । आफ्नै बुवाबाट तेक्वान्दोको प्रारम्भिक शिक्षा लिएकी उनी पराई भूमिकी सफल खेलाडीमा गनिएकी छन् । १९ वर्षको उमेरमै उनले आफ्नो कौशल भारत, भुटान, हङकङलगायतका देशमा देखाइसकेकी छन् । उनले पाएको सफलतामा उनीमात्र सहभागी छैनन् उनको सिंगो परिवार नै प्रत्यक्ष रूपमा संलग्न रहँदै आएको छ । 'छोरीलाई खेलकुदमा लगाउनु हुँदैन' भन्ने हाम्रो पुरातन मान्यतालाई चुनौती दिँदै योञ्जन परिवारले एन्जिलालाई सफल खेलाडी बनाउन हरहमेशा साथ दिएको छ ।
मकवानपुर मार्खुमा जन्मिएकी एन्जिला सानै उमेरमा राजधानी प्रवेश गरिन् । उनी आफ्ना परिवारसँगै काठमाडौंमा बस्न थालिन् । पर्शुराम योञ्जन आफ्नो समयको राम्रै खेलाडी मानिन्थे । वि.सं २०५१ मा सितेरियो कराँते खेल्न सुरु गरेका पर्शुरामले २०५८ मा तेक्वान्दोतर्फ हानिएका थिए । तेक्वान्दोका सेकेन्ड डान उनले प्रतियोगितामा सहभागिता नजनाए पनि खेलाडी उत्पादनमा भने सक्रिय रहिरहे । आफ्नो सक्रिय खेलजीवनबाट ओझेल परेपछि भने उनले आफ्नो सन्तानलाई खेलाडी बनाउन लागिपरे । एन्जिला कक्षा चारमा पढ्दै गर्दा पहिलो पटक 'दोबक' लगाएर 'किक' हान्न सिकेकी थिइन् ।
प्रारम्भिक ट्रेनिङ बुवाबाट लिएकी एन्जिलाले काठमाडौं तेक्वान्दो डोजाङबाट बाँकी सीप सिक्न थालिन् । उनले डोजाङमा सिकेको कुरा बुवालाई देखाउँथिन्, बुवा त्यसमा निखारता ल्याउने काम गर्थे । डोजाङ र घरमा लगातार ट्रेनिङ लिएकी उनले १० वर्षको उमेरमा पहिलो पटक म्याटमा उत्रिएर ग्योरोगी (फाइट) गरेकी थिइन् । २० केजीमुनिको तौलसमूहमा फाइट गरेकी एन्जिलाले पहिलो सहभागितामै तेस्रो स्थान हासिल गरेकी थिइन् । बागमती अञ्चलस्तरीय त्यस प्रतियोगितापछि भने उनले पछाडि फर्कनु परेन । उनी विभिन्न प्रतियोगितामा लगातार सहभागिता जनाउँदै गइन् । आफूले भाग लिएका हरेक प्रतियोगितामा उनले खाली हात फर्कनु परेन । केही न केही उपाधि जितेरै फर्किन्थिन् ।
जुनसुकै खेलमा लागे पनि सानै उमेरमा लाग्नुपर्दछ । सानै उमेरमा खेलेका खेलले पछिसम्म पनि प्रभाव पार्दछ । यही कुरा एन्जिलामा पनि लागू हुन्छ । एक त पारिवारिक सपोट अर्को सानै उमेरमा सिकेको सीप, एन्जिलालाई खेलमा अगाडि बढ्न यही कुरा मद्दत गर्यो । अर्थात् सानै उमेरदेखि उनको खेलमा निखारता ल्यायो । उनले देशभित्र मात्र होइन, देश बाहिर पनि सफलताको स्वाद चाख्न थालिन् ।
पछिल्लो समय एन्जिला नेपालमा भन्दा पनि विदेशमा सफल सावित भएकी छिन् । तेस्रो डान एन्जिला सन् २०१४ मा भारतको देहरादुनमा आयोजना भएको यू-१७ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेर फर्किइन् । यस्तै गत वर्ष भुटानमा आयोजना भएको दोस्रो भुटान अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जित्न सफल भइन् ।
विदेशी भूमिका सफलता पाउनुको पछाडि डोजाङ र घरमा लगातार गरेको परि श्रमलाई नै श्रेय दिन्छिन् । 'हरेक प्रतियोगिताका लागि डोजाङमा त ट्रेनिङ गर्थें नै घरमा पनि उत्तिकै तयारी गर्थें । मेरा कमजोरीलाई डोजाङमा गुरुले सल्लाह दिनुहुन्थ्यो भने घरमा बुवाले सुधार्ने काम गर्नुहुन्थ्यो' एन्जिलाले भनिन् ।
प्रारम्भिक ट्रेनिङ बुवाबाट लिएकी एन्जिलाले काठमाडौं तेक्वान्दो डोजाङबाट बाँकी सीप सिक्न थालिन् । उनले डोजाङमा सिकेको कुरा बुवालाई देखाउँथिन्, बुवा त्यसमा निखारता ल्याउने काम गर्थे ।
'मैले घरपरिवारबाट सदैव सपोट पाएको छु । बुवाआमाले पढाइ नबिगारी खेल्नका लागि छुट दिनु भएको छ । अझ कुनै प्रतियोगिताका बारेमा थाहा पाउनासाथ सहभागी हुन प्रोत्साहन गर्नुहुन्छ' एन्जिलाले परिवारको साथ र सहयोगका विषयमा गरेको प्रश्नमा भनिन् । 'मेरो परिवारले खेलकुदलाई नजिकबाट बुझ्नु भएको छ । बुवा आफ्नो समयको तेक्वान्दोको राष्ट्रिय खेलाडी हुनुहुन्छ भने भाइ पनि बास्केटबल खेलाडी छ' उनले परिवारको बखान गर्दै भनिन् ।
'मलगायत परिवारका सबै सदस्यले एन्जिलालाई खेलकुदमा लाग्न पूर्ण रूपमा सहयोग गर्दै आएको छ । पारिवारिक सहयोगकै कारण छोटो समयमै स्वदेश तथा विदेशमा सफलता हासिल गर्न सकेको छ' एन्जिलाका बुवा पर्शुराम योञ्जनले भने । उनले आफ्ना दुवै सन्तानलाई पछिसम्म पनि खेलकुदमै संलग्न गराउने बताए । 'खेलकुद प्रतियोगिता र पदकसँग मात्र जोडिएको हुँदैन । यो सबैको स्वास्थ्यसँग पनि जोडिएको हुन्छ । स्वास्थ्यका लागि खेलकुद भन्ने नारालाई साकार र सफल बनाउन पनि मैले आफ्ना सन्तानलाई खेलकुदमा लाग्न प्रेरित गर्ने गरेको छु' उनले अन्नपूर्ण पोस्ट्सँग भने ।
झट्ट हेर्दा सानो कदकी देखिने एन्जिला उचाइले कुनै समस्या नपारेको बताउँछिन् । पाँच फिट एक इन्च अग्ली उनी ४५ केजीमुनिको 'फिन' तौल समूहमा प्रतिस्पर्धा गर्दै आएकी छिन् । तेक्वान्दो खेलमा नेपाली खेलाडीले पराजय भोग्ने मुख्य कारण खेलाडीको हाइट हो । सानो कदको विपक्षी खेलाडीले सदैव लाभ उठाउने गरेका छन् । तेक्वान्दो 'किक' खेल हो । छातीमा किक लाग्दा एक अंक पाइन्छ भने त्यही किक शिरमा लाग्यो भने खेलाडीले तीन अंक प्राप्त गर्दछन् । जुन खेलाडीको पावर, स्ट्रेन्थ राम्रो हुनुका साथै हाइटको एड्भान्टेज हुन्छ, त्यस्ता खेलाडीबाट पदकको पनि धेरै आशा गर्न सकिन्छ । तर यो कुरा एन्जिलामा भने लागू हुँदैन । कदमा सानो भए पनि उनले 'पावर' र 'टेक्निक' ले सफलता हात पार्दै आएकी छिन् ।'मेरो उचाइ र तौल एकैनासको छ । तौलका कारण उचाइले पनि साथ दिएकाले अहिलेसम्म खेलमा कुनै समस्या भोग्नु परेको छैन' उनले भनिन् 'तर तेक्वान्दोमा हाइटको महत्व आफ्नै ठाउँमा छ ।'
मकवानपुरको मार्खुमा जन्मिए पनि बाफलकी स्थायी बासिन्दा एन्जिला खेलकुदमा जति जमेकी छिन्, पढाइमा पनि उत्तिकै तेज छिन् । सीतापाइलामा अवस्थित ग्रिनफिल्ड कलेजमा बीएसडब्लू दोस्रो वर्षमा अध्ययनरत उनी अहिले उच्च शिक्षाका लागि विदेश जानका लागि तयारी गर्दैछिन् । 'अहिले आईएलटीएसको तयारी गर्दैछु, यसमा सफल भएमा उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया जाने योजना बनाएको छु' उनले योजना सुनाइन् ।
सानै उमेरमा खेलकुदमा लागेकी एन्जिला खेलकुद क्षेत्रलाई कहिल्यै पनि छोड्न नसकिने बताउँछिन् । 'मलाई आफ्नो पहिचान दिएको खेलकुद विशेषगरी तेक्वान्दोले हो । त्यसैले स्वदेश वा विदेश जहाँ रहे पनि जीवनभर खेलकुद क्षेत्रबाट टाढा हुन सक्तिनँ' उनले भनिन् । 'स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद' म यही नारालाई साकार पार्नका लागि पनि सदैव खेलकुदमै सक्रिय रहन्छु एन्जिलाले भनिन् ।