पवित्राको रंगमञ्च यात्रा
शिल्पी थिएटरको अभिमञ्च । अर्धवृत्ताकारको बेन्चमा बसिरहेकी छिन् उनी । सम्मुखमा छ 'गोठाले नाटकघर'को 'ब्ल्याक बक्स' छिर्ने ढोका । ढोकैअगाडि बोर्डमा टाँगिएको पोस्टरमा उनको नाम छ- पवित्रा खड्का । सरुभक्त लिखित नाटक 'भृकुटी'की निर्देशक ।'ब्ल्याक बक्स' छिर्ने ढोकातिर एकोहोरिएको उनका आँखा देखेर सोध्छु, 'पच्चीस वर्षको उज्यालो उमेरमा ब्ल्याक बक्सभित्र के खोजिरहेकी छौ ? ' 'म आफैंलाई खोजिरहेकी छु,' उत्तरले झंकृत बनाउँछ ।
नाटकको मञ्चन अवधि सकिइसकेको छ । तर, 'ब्ल्याक बक्स'भित्र उनको खोज-यात्रा सकिएको छैन । त्यहाँ चलेका दस नाटकका चरित्रमा आफूलाई खोज्दै निर्देशनको देउरालीमा उक्लेकी हुन् उनी 'भृकुटी'मार्फत । अहिले त्यही देउरालीमा उभिएर आफ्नो यात्रालाई समीक्षा गर्दैछिन् ।
उनको जीवनयात्रा भने २० वर्षको उर्वर उमेरमा श्रीमान् गुमाएकी आमाको दुर्गति जीवनसँगै सुरु भएको हो । बुवाको अनुहार देख्न पाइनन् उनले । 'अनुहारको त के कुरा, मैले उहाँको तस्बिरसमेत देख्न पाएकी छैन,' आमाले सुनाएको जीवनकथालाई 'न्यारेट' गर्दै भन्छिन्, 'म गर्भमा भएकै बेला सिन्धुली जाँदा बाटोमा आँप टिप्न रूख चढ्दा लड्नुभएछ उहाँ । त्यहीँ नै बुवाको जीवनलीला समाप्त भएछ ।'
मर्मान्तक वियोग भोगिरहेकी आमाको गर्भमा हुर्किएर संसार-यात्रा सुरु गरिन् उनले । हृदयमा खाली र चिसो एउटा ठाउँ रहिरह्यो ।
कुनै साथीको बुवा सहरतिरबाट घर पाइपुगेको खबर पाउँदा उनी पनि साथीसँगै हुर्रिंदै पुग्थिन् । एउटा अज्ञात जिज्ञासा र खुसी हुन्थ्यो उनको मनभित्र ।'हाम्रो पो बुवा आएको त, तेरो आएको हो र ? किन आएकी ? ' जब साथीको कटुवचन सुन्थिन्, मनै चुँडिन्थ्यो । चुँडिएको मनलाई सम्हाल्दै जोड्न त्यही परिस्थितिसँगै सिकेकी छिन् उनले ।
जीवनसाथी गुमाएसँगै वियोगको पीडा त छँदैथियो, त्यसमाथि पारिवारिक र सामाजिक अपहेलना खप्नुप¥यो आमाले । त्यस्तो बेला माइतीको सहारा लिनुको विकल्प थिएन । त्यसैले पवित्राको प्रारम्भिक जीवनकाल मावलमै बित्यो ।
त्यही समय आमालाई नयाँ जीवन सुरुवात गर्न पारिवारिक दबाब बढ्यो । सिंगो जीवनयात्रामा सहयात्रीको आवश्यकताबोध स्वाभाविक थियो नै । पवित्रा नौ वर्षको हुँदा आमाले अर्को जीवनसाथी पाइन् ।
उनले जीवनमा पहिलोपटक बुवा सम्बोधन गर्न पाइन्, माया पाइन् । भन्छिन्, 'मेरो जीवनमा बुवाको मायाको परिभाषामा उहाँकै माया पर्छ ।' त्यही मायाको छत्रछायामा उनको किशोरकाल बित्यो । कक्षा आठ उत्तीर्ण गरेपछि उनी सानिमाको छत्रछायामा काठमाडौं आइन् । असनचोक वरिपरिको वातावरणमा उनले एसएलसी गरिन् । प्लस टु पढ्न थालिन् ।
त्यसबेलासम्म अहिलेकी रंगकर्मी पवित्राको कुनै लक्षण थिएन उनमा । प्लस टु पढ्दा कलेजका कार्यक्रममा गरिने नृत्यप्रतिको रुचि नै उनको 'पर्फमेन्स आर्ट'प्रतिको पहिलो आकर्षण थियो, त्यही नै उनको आफैंलाई खोज्ने यात्राको पहिलो खुड्किलो पनि ।
नृत्यमा पवित्राको रहर बढ्दै थियो । 'डान्स सिक्न जाऔं,' संगीहरूको प्रस्तावले त्यो रहरलाई झनै जगायो । तर, नृत्य सिक्ने पैसा जुटाउन समस्या थियो । पढाइ खर्च धान्नै मुस्किलमा रहेका सानिमा र आमासँग पैसा माग्ने साहस उनमा भएन । त्यसैले खाजा-यातायात खर्च कटौतीको लामो अभियान चलाइन् । र, बागबजारको राजधानी कला केन्द्रमा नृत्य कक्षामा भर्ना हुन सफल भइन् ।
उनले नृत्य सिकाइको आफ्नो 'भूमिगत अभियान' त्यतिबेला सार्वजनिक गर्नु उपयुक्त ठानिन्, जतिबेला कला केन्द्रले आयोजना गरेको कार्यक्रममा उनी पनि नृत्य प्रस्तुत गर्ने भइन् । प्रतिभा देखेपछि सकारात्मक प्रभाव पर्छ कि भन्ने आशामा उनले सानिमालाई आफ्नो अभियानबारे मुख खोलिन् । तर, प्रतिक्रिया उल्टो आयो । 'ल, पढ्न पठाएको मान्छे नाचगानमा लागिस् ? ठीकै छ । कार्यक्रम सकिइसकेपछि चाहिँ यो सब बन्द गर्नू !,' यस्तो फसादपूर्ण प्रतिक्रियाले उनी अवसादमा परिन् ।
त्यसपछि उनले आमाको सहारा मागिहेरिन् । आमाको आशा थियो- दु:खले हुर्काएकी छोरीले राम्रो पढोस्, जागिर खाओस् र राम्रो परिवारमा घरजम गरोस् । छोरीको भाषा थियो, 'आमा, म नृत्य सिक्छु ।'
'नाचेर के हुन्छ ? ', पवित्राले आमाको प्रश्नको चित्तबुझ्दो उत्तर दिन सकिनन् ।
त्यही सकसकै बीच साथीसंगतले उनलाई अभिनय सिक्न एम आर्ट थिएटरमा पुर्यायो ।
नृत्यभन्दा फराकिलो संसार अभिनयमा छ भन्ने लागेपछि उनले मनको आवाज सुन्ने निर्णय गरिन् र थिएटरका मूली वीरेन्द्र हमाललाई आफ्नो तीव्र इच्छाका साथ समस्या व्यक्त गरिन् । हमालले भने, 'त्यसै हो भने जति सक्छौ, त्यति देऊ । सिक ।' त्यो वचनले उनको रहरमा पंख पलायो ।
पन्ध्र हजारको कोर्स गरिसक्दा उनले जम्मा तीन हजार बुझाउन सकिन् । त्यो अवसर दिने उदारमना हमालको चित्र उनको मनको आदरस्थानमा सुरक्षित छ ।
धेरै बाटोमध्येबाट छानिएको बाटो होइन पवित्राका लागि थिएटर । उनले हिँडेको एउटै बाटो हो यो । त्यसैले उनको सपनामा अरू बाटो नै देखिँदैनन् । तर, पनि उनी बेला-बेला निराश नभएकी होइनन्।
अभिनय सिक्दा-सिक्दै उनले 'सारंग' सिनेमामा मौका पाइन् । त्यसमा महिला प्रहरी इन्सपेक्टरकोे चरित्रमा उत्रिएपछि उनले आफूभित्रको क्षमता पढ्न सकेको अनुभूति गरिन् । त्यसैताक, रामबाबु रेग्मी निर्देशित प्रायोजित सडक नाटकमा अभिनयको अवसर पाइन् । नाटक प्रदर्शन गर्दैै आठ जिल्ला घुम्ने अवसर पनि पाइन् । त्यसले उनको अभिनयलाई हेर्ने दृष्टि बदलिदियो । नाटकको जीवन्त अभिनय र त्यसमार्फत समाजसँग हुने प्रत्यक्ष अन्तरक्रियाले उनलाई लोभ्यायो ।
त्यसै मेसोमा उनी रेग्मीकै उत्प्रेरणा र सहयोग पाएर शिल्पी थिएटर पुगिन् । शिल्पीको सडक नाटक 'के लग्यो हल्काले'मा अभिनय गरिसकेपछि स्वयंसेवी कलाकारका रूपमा काम गर्ने अवसर पाइन् ।
शिल्पीको पहिलो 'ब्ल्याक बक्स' प्रस्तुति कुमार नगरकोटीकृत नाटक 'कोमा : अ पोलिटिकल सेक्स'मा 'सावर गर्ल'को चरित्रसँगै पवित्राको 'ब्ल्याक बक्स' यात्रा सुरु भयो । जो, अहिलेसम्म जारी छ ।
शिल्पीको 'ब्ल्याक बक्स'मा छिर्दा पवित्राको मनमा जति उत्साहको उज्यालो पोतिएको थियो, त्यो धेरै समयसम्म टिकेन । काम गर्न थालेको भनेर अभिभावकबाट खर्च बन्द भयो । यता, स्वयंसेवी कलाकारले पैसा पाउने कुरा भएन । त्यसपछि त उनीसँग बस-भाडासमेत नहुने स्थिति बन्यो । प्लस टु पास भइन् । तर, कलेज भर्ना हुन सकिनन् । परिस्थितिको दास बनेर उनले शिल्पी छोडिन् र भाटभटेनी सुपरस्टोरमा काम गर्न थालिन् ।
उनको हात भाटभटेनी सुपर स्टोरमा चलिरहेको हुन्थ्यो, मन भने शिल्पी आइपुग्थ्यो । 'त्यतिबेला धेरै रात रोएर बिताएँ । कसरी नाटकमा फर्किन सक्छु भनेर छट्पटिइरहन्थें,' उनले सुनाइन् ।
एक दिन शिल्पीका कला निर्देशक घिमिरे युवराजको फोन आयो । घिमिरेले भने, 'अब हामी थोरै भए पनि पैसा दिन सक्ने अवस्थामा पुगेका छौं । तिमी आउँछ्यौ ? 'त्यतिबेला उनको खुसीको सीमा रहेन । त्यत्ति नै बेला उडी जाऊँझैं लाग्यो । त्यही दिन जागिर छोडेर भोलिपल्ट उनी शिल्पी पुगिन् । त्यहाँ उनले रंगशिल्प सिकिन् । आफ्ना रहरलाई जिम्मेवारीको आकार दिइन् । त्यही आकार बढाउँदै उनी 'भृकुटी'सम्म आइपुगेकी हुन् ।
धेरै बाटोमध्येबाट छानिएको बाटो होइन पवित्राका लागि थिएटर । उनले हिँडेको एउटै बाटो हो यो । त्यसैले उनको सपनामा अरू बाटो नै देखिँदैनन् । तर, पनि उनी बेला-बेला निराश नभएकी होइनन् ।
शिल्पीमा नाटक गर्दाको पहिलो चरणमा उनी जब 'यसरी नि हुन्छ ? ' भन्ने प्रश्नको सामना गर्थिन्, त्यसबेला उनलाई लाग्थ्यो- 'साँच्चै मबाट यो काम नहुने रहेछ क्यार ।' तर उनको मनले अरू विकल्प खोज्न चाहेन । बरुआफैंलाई सम्हालेर सोचिन्, 'सिक्दा नजानिने कुरा त के होला र ? , गरे नहुने कुरा के होला र ? '
सोच्दै जाँदा उनलाई यही प्रश्न अहिले आफ्नो जीवनदर्शन बन्दै गएको महसुस हुन्छ । 'भृकुटी' नाटक त्यसैको पछिल्लो परिणाम हो ।घिमिरे युवराजले सरुभक्तकृत नाटकको निर्देशन प्रस्ताव गर्दा उनको मनमा झड्का लागेको थियो । अनेकौं प्रश्नको छाल छल्किएको थियो, 'के म निर्देशन गर्न सक्छु ? त्यसमा पनि सरुभक्तको लेखन, भृकुटीको कथा !''तर मैले गर्न सक्दिनँ कि भनेर सोच्दै सोचिनँ । कसरी गर्न सक्छु होला भनेरमात्रै सोचेँ । किनकि यो मेरो लागि ठूलो अवसर थियो', उनी भन्छिन् ।
नाटक मञ्चन थालेपछि आएका सकार र नकार सूचक दुवै प्रतिक्रियाले उनलाई उत्साहित तुल्याइरह्यो । नाटककार सरुभक्त पनि नयाँ पुस्ताले आफ्नो नाटकलाई मञ्चमा उतारेकोमा खुसी देखिए ।
त्यसो त, यो यात्रामा उनी एक्ली थिइनन्, शिल्पी थिएटरको पूरै सामूहिक प्रयत्न जोडिएको छ । त्यसले उनलाई ढाढस दिइरह्यो । ढुक्कले उनी आफूभित्र के छ, के छैन भन्ने खोजमा लाग्न पाइन् ।
'रंगकर्म भनेको नाटक खेल्नुमात्रै होइन रहेछ ।' रंगमञ्चमा पसेर पवित्राले बुझेको सार यही हो । 'समाज बुझ्नु र त्यसलाई रूपान्तरण गर्ने अभियानमा सहभागी हुनु पनि रहेछ', उनी थप्छिन् । निर्देशक हुँदा अझ त्यसलाई नजिकबाट बुझ्न सकिएको अनुभूति उनले सुनाइन् । भन्छिन्, 'कलाकार हुँदा आफ्नो चरित्रलाई मात्रै ध्यान दिइन्छ । तर, निर्देशन गर्दा पूरै नाटकको दर्शनसँग खेल्नुपर्छ । त्यसैले निर्देशक हुनुको चुनौती कलाकार हुनुभन्दा धेरै गुणा बढी भएको होला ।'
भृकुटी नाटक निर्देशन गर्दा समाजको बनिबनाउ दृष्टिकोणसँग आफ्नो मत बाझिएको महसुस गरिन् उनले । भृकुटीलाई राजकुमारीको परम्परागत मान्यताको दृष्टिबाट नाटकमा देख्न चाहनेहरू निराश भए । प्रतिक्रिया आयो, 'राजकुमारीको रूपरंग, उचाइ र भाषा आदि मिलेन ।''मैले यसमा नागरिकको अनुहार, रूपरंग र भाषामा नै राजकुमारीको विम्ब खोजेँ । त्यसैले यस्तो प्रतिक्रिया स्वाभाविक थियो,' उनी भन्छिन्।
तर यो तर्कलाई आत्मप्रशंसाको खातामा नहालिदिन अनुरोध गर्छिन् । भन्छिन्, 'मैले यो काम सिक्नकै लागि गरेको हुँ । यसमा केही आफ्ना सोचहरू प्रयोग गर्न पाएँ । तर बीचमा म निर्देशनको लागि तयार भइसकेकी रहेनछु भन्ने महसुस पनि भयो । तर लाग्यो- यसले मभित्रका कमजोरी पनि चिन्ने अवसर पाएँ । अबका दिनमा तिनलाई हटाउन सक्छु ।'
अब दुई वर्षपछिमात्रै नाटक निर्देशनको योजनामा छिन् उनी । त्यसअघि आफूलाई विभिन्न चरित्रहरूमा ढाल्न तयार हुँदैछिन् । उनलाई थाहा छ- रंगमञ्चको शिखर-यात्रामा उनी उक्लिएको यो देउराली आधार शिविरमात्रै हो । निकै कठिन र जोखिमपूर्ण बाटो छ अगाडि । त्यसका लागि अग्रज पुस्ताले हासिल गरेको अनुभवको दोहन र नयाँ अध्ययनको आवश्यकता छ । उनी त्यसका लागि तयार हुँदैछिन् ।
'मलाई यत्ति चाहिँ थाहा भयो कि आफैंमाथि विश्वास हुनुपर्ने रहेछ । हिँड्ने बाटो बन्दै जाँदो रहेछ । बाधा-व्यवधान सामान्य लाग्दै जाँदो रहेछ,' अहिलेसम्मको यात्राबाट निकालेको निष्कर्ष चाहिँ यही हो उनले।