सरकारको घुँडा टेकाएरै भएपनि ‘आँखा’ चुनाव चिन्ह लिन्छौंः बाबुराम
सुर्खेतः नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले सरकारको घुँडा टेकाएरै ‘आँखा’ चुनाव चिन्ह लिने बताउनु भएको छ। आफ्नो पार्टीलाई चुनाव चिन्ह उपलब्ध नगराइएको भन्दै उनले वर्तमान सरकारलाई आफूहरुले घुँडा टेकाउने र चुनाव चिन्ह ‘आँखा’ लिएर निर्वाचनमा भाग लिने बताउनु भएको हो।
लोकतन्त्रको चर्को वकालत गर्नेहरुले आफुहरुलाई जनताबाट अनुमोदन हुन नदिने षड्यन्त्र गरेको उहाँको भनाइ छ। वीरेन्द्रनगरमा शनिवार आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले आफ्नो पार्टीले स्थानीय चुनावमा भाग लिने बताउनुभयो। चुनाव चिन्ह प्राप्तिका लागि आफूहरुले संघर्ष गरिरहेको र केही दिनमा आफ्नो पार्टीले चुनाव चिन्ह आँखा नै पाउने दाबी गर्नु भयो। यसका लागि वर्तमान सरकार बाध्य हुने उहाँको भनाइ छ।
‘वर्तमान सरकार निरकुंश बन्दै गएको छ, ठूला दलहरु तानाशाह बन्ने दाउमा छन्’ उहाँले भन्नुभयो,‘लोकतन्त्रमा सबैले जनताको बीचमा जान पाउनु पर्दछ, हामी पनि जनताबाट अनुमोदित हुन चाहान्छौं। अब हामीलाई निर्वाचनमा जान कसैले पनि रोक्न सक्दैन, प्रचण्ड सरकारलाई आन्दोलनबाट धुलो चटाएरै चुनाव चिन्ह आँखा लिनेछौं ।’ देशमा जारी राजनीतिक संकट समाधानका लागि तोकिएकै मितिमा चुनाव सम्पन्न हुनुपर्ने उहाँको भनाइ छ। उहाँले भन्नुभयो,‘चुनाव चिन्ह नै नदिने, यो निर्दलीयतन्त्र हो। लोकतन्त्रका लागि हामी अन्तिमसम्म लड्नेछौं, आँखा लिएरै चुनावमा जानेछौं।’ नेता भट्टराईले स्थानीय चुनाव एकै चरणमा सम्पन्न गर्नुपर्ने बताउनु भयो।
वर्तमान सरकारले उपप्रधानमन्त्रीको वरियता मिलाउन नसकेको भन्दै उहाँले यो सरकारले चुनाव गराउनेमा आशंका व्यक्त गर्नुभयो। वर्तमान सरकार सत्ताको स्वादमा मात्र अल्झिएको भन्दै उहाँले प्रचण्ड सरकार अहिलेसम्मकै भ्रष्ट भएको आरोप पनि लगाउनुभयो। उहाँले भन्नुभयो,‘हामीलाई चुनावमा जान नदिने, चुनाव नै नगर्ने खेलमा लाग्ने। अब यो सरकारबाट के अपेक्षा गर्ने?’ देशमा तीन वटै तहको निर्वाचन सम्पन्न गर्नका लागि राष्ट्रिय एकता आवश्यक रहेको बताउँदै नेता भट्टराईले मधेसका माग सम्वोधन गरेमा चुनाव सम्पन्न गर्न सहज हुने उल्लेख गर्नुभयो। साथै उहाँले संसदमा प्रतिनिधित्व नगरेका दलहरुले पनि चुनाव चिन्ह पाउनुपर्नेमा जोड दिनुभयो।
वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै नेता भट्टराई । तस्बिरः अन्नपूर्ण