फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा रसियाली प्रभाव
काठमाडौ: अमेरिकी अधिकारीले सन् २०१६ मा भएको राष्ट्रपतीय निर्वाचन अभियानमा वर्तमान् राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा रसियाली हस्तक्षेप भएको भन्ने विषयमा अमेरिकी अधिकारीले अनुसन्धानलाई अघि बढाउन दवाव सिर्जना गरिरहेका वेला एटलान्टिक क्षेत्रका दुई शक्तिशाली मुलुकका अधिकारीले रसियाले फ्रान्सको मतदान प्रक्रियालाई पनि प्रभावित तुल्याउने प्रयास गर्नसक्ने चेतावनी दिएका छन्।
फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा अति वामपन्थी , दक्षिणपन्थी र अति दक्षिणपन्थी सवैखालका उम्मेदवारहरू क्रेमलिनसँगको सम्बन्धमा सुधार ल्याउने प्रतिबद्धता सहित चुनावी अभियानमा आफ्नो पक्षमा निर्वाचन परिणाम ल्याउन सक्ने देखेर नै होला कसरत गर्न थालेका छन् वा रसिया फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा हावी भएको छ।
यस साताको शुरुमा अमेरिकी गुप्तचर सिनेट चयन समितिका प्रमुखले रसियामाथि फ्रान्सको मे ७ मा सम्पन्न हुने मतदान प्रक्रियालाई प्रभावित पार्न खोजेको आरोप लगाए।सिनेटर रिचार्ड वरले सञ्चारकर्मीसँग भन्नुभयो , “सवैजनाको निर्णयका आधारमा म के भन्न सक्छु भने रसियालीहरू फ्रान्सको निर्वाचनमा मस्कोको अनुकूल प्रभाव सिर्जना गर्ने वातावरण मिलाउन तल्लिन छन्।”
त्यसैगरी युरोपियन कमिसनका उप-प्रमुख फ्रान्स टिमरम्यानले पनि रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले अति दक्षिणपन्थी उम्मेदवार म्यारिन ले पेनलाई सघाएर पछिल्लो समय कमजोर बनेको इयुलाई थप कमजोर पार्ने खेलमा लागेको आरोप लगाउनुहुन्छ।
टिमरम्यानले स्पेनमा यसै साता भएको एक कार्यक्रमको सिलसिलामा पुटिनले किन युरोपका अति दक्षिणपन्थी समूहलाई सहयोग गर्दैछन् यसमा चनाखो रहनु आवश्यक छ भन्नुभएको थियो।पुटिनलाई युरोपमा अति दक्षिणपन्थी शक्तिलाई हात लिन सके युरोप कमजोर वन्न सक्छ र यसले युरोपलाई विभाजित वनाउछ भन्ने विश्वास पनि भएको हुनसक्छ।यो रसियाका लागि केही सहज कसरत पनि हुनसक्छ।युरोप विभाजित बन्नु भनेको पुटिनको यस क्षेत्रमा प्रभाव बढ्नु हो अर्थात् यूरोपको विवादले पुटिनलाई शक्तिशाली बनाउन सक्छ।
हुन त इयूले दावी गरेजस्तो फ्रान्सको मामिलामा कुनै हस्तक्षेप नभएको मस्कोको भनाइ छ।तर इयुका मध्यपन्थी पक्षधर इमान्युयल माक्रोनसँग ले पेनले निर्वाचन प्रक्रियामा मिलेर जान सक्ने वताइरहँदा फ्रान्सेली राष्ट्रपतीय निर्वाचनको अभियानमा रसियालाई निर्वाचन प्रक्रियामा हस्तक्षेपकारी भूमिकामा देख्नु स्वभाविक पनि देखिन्छ।फ्रान्सेली पूर्व कुटनीतिज्ञ तथा युरोप फाउण्डेसनका अनुसन्धानकर्ता पियरे भिमनले फ्रान्सको अन्तर्राष्ट्रिय तथा राष्ट्रिय नीति दुवैमा रसियाको संलग्नताका सङ्केत (लक्षण) बढिरहेको विषयलाई पछिल्ला बर्षमा अस्वीकार गर्न नसकिने बताउनुभएको छ।
फ्रान्सेली राष्ट्रपतिको निर्वाचन अभियानमा रहेका प्रमुख पाँच अग्रणी उम्मेदवारमध्ये लेपेन कन्जरभेटिभ पार्टीका उम्मेदवार फ्रास्वाँ फिलन र कम्युनिष्ट पार्टीको समर्थन प्राप्त जाँ लुक मेलन्चनले रसियासँगकोे चीसो सम्बन्धलाई अन्त्य गर्दै अघि वढ्नुपर्ने वताउन थालिसकेका चर्चा ब्यापक छ।उनीहरूले सन् २०१४ मा क्रिमियालाई रसियासँग जोडेपछि युक्रेनद्वारा लगाइएको नाकावन्दी फुकुवा लगायतका अन्य सम्बन्ध सुधारका लागि रसियासँग सहकार्य गर्न चाहन्छन्।
यी तीनै जनाले सिरियाली गृहयुद्धमा त्यहाँको सरकार विरोधि विद्रोहि विरुद्ध रसियाको हस्तक्षेपलाई फरक फरक तवरले समर्थन गरिसकेका छन्।तर म्याक्रोन र समाजवादी उम्मेदवार वोनोइट ह्यामनले भने पुटिन विरुद्ध अविश्वास व्यक्त गर्दै रसियामाथि लगाइदै आएको आर्थिक नाकाबन्दीलाई थप लम्व्याउनु पर्ने मत व्यक्त गर्दै आएका छन्।
उनीहरूले रसियालीहरूको समर्थनमा सिरियाली राष्ट्रपति बसर अल असद थप निर्दयी बन्दै आफ्नो बिरोधमा आउने सिरियाली विद्रोहीलाई सिध्याउने अभियानमा लागेको जनाउँदै असदलाई सत्ताबाट हटाउनुपर्ने बताउँदै आएका छन्।
यसमा पनि मङ्गलबार सिरियामा भएको भनिएको रसायनिक हतियार पछि विश्वले सिरियाको निन्दा गरेका छन्।भलै सिरियाले यस हमलामा आफ्ना सेनाले रसायनिक हतियार प्रयोग नगरेको जनाएको छ।
रसायनिक हतियारको प्रयोग र सिरियामाथि अमेरिकी हवाई आक्रमण र यसको समर्थनमा विश्व समुदायबाट व्यक्त भएका विचारहरूले सिरियाप्रतिको रसियाको वलियो समर्थनलाई पनि व्यक्त रूपमा नभएपनि केही कमजोर बनाउने देखिएको छ।रसियाले पनि अप्रत्यक्ष रूपमा असदको पक्षमा विचार व्यक्त गरिसकेको छ।रसिया सिरियामा कमजोर बन्नु उसको विश्व समुदायमा पनि साख गिर्नु हो।
यसको असर फ्रान्समा पनि देखिन सक्छ।कुटनीतिक कुशलता भएका रसियाली नेता पुटिनले सिरिया घटनालाई यो वा त्यो गर्दै सेलाउने र अमेरिकालाई सिरियाबाट फर्काउने विषय त्यति असम्भव पनि छैन।पछिल्लो समय पुटिनको अमेरिकी राष्ट्रपति ट्रम्पसँगको निकटताले सिरियामा अमेरिकी उपस्थितिलाई कमजोर तुल्याउन सक्छ।
केही समय पहिले म्याक्रोनका सहयोगीले रसियाली राज्य सञ्चालित सञ्चारमाध्यमलाई खुला सिमा तथा आप्रवासीको पक्षपाती ३९ वर्षीया म्याक्रोनलाई हराउने ‘कलङ्कित अभियान' चलाएको आरोप लगाएका थिए।एक मत सर्वेक्षणले ले पेनले नै म्याक्रोनलाई पछि पार्ने देखाएको छ।
म्याक्रोनको समूहले म्याक्रोनको निर्वाचन अभियानका लागि निर्माण गरिएको वेवसाइटमा रसियाले साइवर हमला गरेको जनाएको छ।ले पेनको दलले सन् २०१४ मा रसियाली वैंकसँग ऋण लिएको भनी समाचारहरू आएका थिए।ले पेनले यो दावीको खण्डन गर्दै यसलाई आधारहीन दावी भएको जनाउनुभयो।
अप्रिल २ मा गते फ्रान्सको समाचार एजेन्सी एएफपीमा आएको एक समाचारमा रसिया फिलनलाई पुटिनको ‘साथी' भनेर प्रमाणित गर्न इच्छुक भएको बताइएको थियो।उक्त समाचारमा रसियाली नेता पुटिनको सन् २०१५ मा एक लेवनानी अर्वपतिसँग भेट गराइदिएको प्रसङ्ग पनि छापिएको थियो।
रिपब्लिकन पार्टीका उम्मेदवार फिलनलाई सन् २०१६ को नोभेम्वरमा रसियाली राष्ट्रपति पुटिनले ‘धेरै सिद्धान्तवादी' र ‘असाध्यै व्यवसायिक' व्यक्तित्व भनी प्रशंसा गरेको चर्चाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचारमा निकै स्थान पाएको थियो।तर नयाँ बर्षको शुरुवातसँगै ६३ वर्षीय फिलनलाई पत्नीसँगको आर्थिक अनियमितता सम्वन्धी प्रकरणमा मुछेर फ्रान्सेली पत्र पत्रिकामा समाचार आए त्यसपछि भने रसियाली नेता पुटिनको समर्थन विस्तारै ४८ बर्षीय ले पेन प्रति देखियो।
रसियाको लेपेनप्रतिको समर्थनले वर्तमान समाजवादी सरकारलाई पीडावोध भएको छ।गत शुक्रवार फ्रन्सका विदेशमन्त्री जाँ मार्क आयरुल्टेले अहिलेसम्म फ्रान्सको राष्ट्रपति वन्ने वा कसले जित्छ भनेर निर्णय लिने हैसियत रसियालाई छैन भनी आक्रोश व्यक्त गर्नुभयो जुन स्वभाविक पनि थियो।आयरुल्टले ‘कल्पनाको संसार'मा रसियाले फिलनलाई अल्मलाएको बताउनुभयो।उहाँले ले पेनलाई ‘खतरनाक' रसियामाथि भरोसा नगर्न सल्लाह दिनुभयो।
जे होस् , फ्रान्सको राष्ट्रपतिका उम्मेदवारीको तारतम्य हेर्दा ‘कुटिल' एवं शक्तिशाली नेता पुटिनलाई जसले रिझाउन सक्छ परिणाम उसैको पोल्टामा जाने प्रवल सम्भावना देखिएको छ।यद्यपि निर्वाचनमा स्थानीय जनताको मतदानको निर्णय नै महत्वपूर्ण रहने हुन्छ।
बाहिरी वातावरणले ठूलै असर पार्न नसक्न पनि सक्छ।विषेशगरी पश्चिमा मुलुक (युरोप) ले पूर्वी युरोपमा उत्तर एटलान्टिक सैनिक संगठन (नेटो) लाई ल्याएर रसियालाई उत्तेजित पारेको भन्ने फिलनको विश्वास छ।
नेटोको पूर्वी युरोपमा भएको विस्तारसँगै इस्लामिक स्टेट (आइएस) विरूद्धको लडाइमा पुटिन र असद सरकार सँगको सहकार्यले गर्दा फ्रान्समा समेत सन् २०१५ पछिका दिनमा कैयौं आतंकवादी हमला भएको फिलनको निश्कर्ष छ।
ले पेनले आफू राष्ट्रपति वनेमा युरोपियन युनियन नै ‘अस्तित्वमा नरहने' भन्ने विचार बारम्बार सुनिने गरेको छ।यसको अर्थ ले पेन पुटिनको ‘नेशनलिस्ट वल्र्ड भ्यू' बाट प्रभावित हुनुहुन्छ।पछिल्ला केहि वर्षयता पुटिन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेताहरुको विश्व राजनीतिमा देखिएको प्रभावले छिमेकी राष्ट्रहरूमा उनीहरूको प्रभाव बढ्दो देखिदै आएको र फ्रान्समा पनि यसको असर परेको निश्कर्ष निकाल्दा टाढाबाट त्यहाँको राजनीति नियालिरहेका सवैलाई यथार्थ जस्तो लाग्नु स्वभाविक हो। रासस/विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा।