जेष्ठ नागरिकले सुरु गरे 'डिप्रेशनबारे कुरा गराैं' अभियान
काठमाडौं: राष्ट्रिय जेष्ठ नागरिक महासंघले विश्व स्वास्थ्य दिवसको अबसर पारेर 'डिप्रेशनबारे कुरा गरौं' अभियान सुरु गरेको छ।
अभियान अन्तर्गत शनिबार काठमाडौमा कार्यशालाको आयोजना गरिएको थियो। कार्यशालामा मनोचिकित्सक रचना शर्माले डिप्रेशनका बिरामीमा पुरुषभन्दा महिलाको संख्या ४ गुणा बढी हुने बताउनुभयो ।
उहाँले कतिपय महिलाहरुले बच्चा जन्माएपछि आफ्नो महत्व घटेको अनुभव गर्नेकारणले पनि डिप्रेशनको अवस्थामा पुग्ने उल्लेख गर्नुभयो। नेपालमा मनोचिकित्सकको संख्या एकदमै कम रहेको प्रसंग उल्लेख गर्दै तीन करोड जनसंख्या भएको देशमा जम्मा एक सय चिकित्सकहरु मात्रै रहेको जानकारी दिनुभयो।
कार्यक्रममा जेष्ठ नागरिक महासंघका पूर्व अध्यक्ष डा. गौरी शंकरलाल दासले जेष्ठ नागरिकहरुमा पनि यसको समस्या रहेको उल्लेख गर्नुभयो। जेष्ठ नागरिकलाई सरकारले नै वेवास्ता गरेको आरोप लगाउनुभएको थियो।
राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आफूहरुको ९ वटा क्षेत्रीय कार्यालयहरु रहेको बताउँदै ती कार्यालयहरुबाट डिप्रेशनको विषयमा जनचेतना जाउने अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो। त्यसकालागि राष्ट्रिय जेष्ठ नागरिक महासंघलाई पहल गर्न आग्रह पनि गर्नुभएकाे महासचिव छत्रबहादुर प्रधानले जानकारी दिनुभयो।