बिस्केट जात्रामा ढुंगामुढा र झगडाको त्रास
भक्तपुर : प्रसिद्ध बिस्केट जात्रा भक्तपुरमा सोमबारदेखि सुरु हुँदै छ । प्यागोडा शैलीको तीनतले भैरवनाथको रथ तान्नु र ५५ हात लामो काठको लिंगो ठड्याउनु यस जात्राको प्रमुख आकर्षण हुन् । तर, पछिल्लो समय आठ दिन नौ रातसम्म चल्ने बिस्केट जात्राको क्रममा हुने ढुंगामुढा र झैझगडा जात्राको पर्यायका रूपमा रहँदै आएको छ । जात्राको क्रममा हुने ढुंगामुढा र झैझगडा भक्तपुरको प्रहरी प्रशासन र स्थानीय बासिन्दाको टाउको दुःखाइको विषय बन्दै आएको छ । प्रहरी प्रशासनले सुरक्षित र व्यवस्थित रूपमा जात्रा सम्पन्न गर्न हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरे पनि अहिलेसम्म सफलता हात लागेको छैन ।
त्यसैले भक्तपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख भएर आउने सरकारी उच्चपदस्थ कर्मचारी बिस्केट जात्रा शान्तिपूर्ण र विनाझैंझगडा सभ्य र भव्य रूपमा सम्पन्न गर्ने चुनौती रहँदै आएको छ ।यही चुनौतीबाट पार पाउन प्रहरी प्रशासनले जात्रा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न विभिन्न बैठक, अन्तरक्रिया गर्दै आएका छन् । यसरी हुने बैठक र अन्तरक्रियामा सबैले बिस्केट जात्रामा ढुंगामुढा हुने र त्यसलाई रोक्नुपर्नेमा जोड दिन्छन् । सबैले जात्रालाई नियन्त्रित गर्नुपर्ने सुझाव दिन्छन् ।
हरेक बैठक र अन्तरक्रियामा बिस्केट जात्रामा ढुंगामुढा हुने एकोहोरो रटान गरिन्छ । सबैले बिस्केट जात्रामा ढुंगामुढा रोक्नुपर्यो भन्छन् । तर, कथं जात्रामा ढुंगामुढा भयो भने रोक्न कोही अघि नसर्ने अहिलेसम्मको तीतो अनुभव छ ।ढुंगामुढा भयो कि सबैको भागाभाग हुन्छ । कोही पनि एउटा ढुंगा खाएर बाँकी ढुंगामुढा रोक्न अघि सर्दैन । त्यसैले बिस्केटमा ढुंगामुढा हुन्छ भन्ने कुरालाई धेरै हाउगुजी नबनाउन शुक्रबार भक्तपुरमा आयोजित एक कार्यक्रमका सहभागीले जोड दिए ।
भक्तपुर उद्योग वाणिज्य संघ, भक्तपुर पर्यटन विकास समिति, लायन्स क्लब अफ भक्तपुर रियलटेकले संयुक्त रूपमा आयोजना गरेको बिस्केट जात्रा व्यवस्थापनसम्बन्धी अन्तरक्रियाका सहभागीले बिस्केट जात्रासँग ढुंगामुढा र झैझगडालाई नजोड्न आग्रह गरेका हुन् ।‘जबसम्म बिस्केट जात्रामा ढुंगामुढा र झैझगडाको उच्चारण गरिन छाडिँदैन तबसम्म जात्रा शान्तिपूर्वक सम्पन्न हुन्न’, उनीहरूको भनाइ थियो, ‘त्यसैले बिस्केट जात्रामा हुने ढुंगामुढा र झैझगडालाई हाउगुजी बनाउन छाडौं । जात्रालाई कसरी आकर्षक र व्यवस्थित गर्ने त्यसबारे कुरा गरौं ।’
अन्तरक्रियाका अधिकांश सहभागीले बिस्केट जात्रामा ढुंगामुढा र झैझगडा नगरौं भन्दाभन्दै अब त ढुंगामुढा र झैझगडा गरौं भन्ने हुन थालेको सुनाए ।उनीहरूले सुरक्षाकर्मी परिचालन गरेर भन्दा स्थानीय क्लब, टिमका युवा परिचालन गरी निर्धारित तालिकाअनुसार बिस्केट जात्रा सञ्चालन गर्न सुझाव दिए ।कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले विगतमा गुठी संस्थानको लापरबाहीले जात्रामा ढुंगामुढा हुने भन्ने सुनिएअनुसार यसपालि विगतका गल्ती र कमजोरी सबै सच्याइएको जानकारी दिनुभयो ।
यस वर्ष एक पुजारीसँगै ६ भैरव नाइकेलाई वार्षिक ९० हजार र पाखाबारीलाई जात्रा अवधिभर प्रतिदिन एक÷एक हजार पारि श्रमिकको व्यवस्था गरिएको उहाँको भनाइ थियो ।‘यस वर्ष रथ पनि बलियो बनाउन लगाएका छौं’, प्रजिअ पोखरेलले भन्नुभयो, ‘रथ तथा लिंगो तान्ने डोरी पनि बलियो व्यवस्था गरिएको छ । रथ भत्के–बिग्रे तत्काल मर्मत गर्न सिकर्मी तयारी अवस्थामा राखिने भएको छ ।’
त्यस्तै, महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख प्रहरी उपरीक्षक किरण राणाले बिस्केट जात्रा शान्तिपूर्ण र व्यवस्थित रुपमा सञ्चालन गर्न एक हजारभन्दा बढी सुरक्षाकर्मी खटिने जानकारी दिनुभयो ।तर, यस वर्ष सुरक्षाकर्मी जात्रास्थलमा पोसाकमा नदेखिने सुनाउनुभयो ।कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद अवाल, भक्तपुर पर्यटन विकास समितिका उपाध्यक्ष रामसुन्दर भेले, लायन्स क्लब अफ भक्तपुर रियलटेकका अध्यक्ष रोशन भोयद्यो, स्थानीय व्यवसायी तुलसीराम धुख्वा, राजन जती, विजय धौभडेललगायतले विस्केट जात्रा भक्तपुरको पहिचान र गौरव भएकाले सोहीअनुसार जात्रा सम्पन्न गर्न सम्पूर्ण भक्तपुरवासी सचेत हुनुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।